जुम्ला। खरायो पालनबाट जुम्लाका बासिन्दाले राम्रो आम्दानी लिन थालेका छन् । खरायोको ऊनबाट बनेको टोपीले जुम्लामा स्वरोजार हुनेको संख्या बढ्दै गएको छ । खरायोको ऊनबाट गुणस्तर टोपीहरु बन्ने र बजार राम्रो भएकाले धैरैका लागि खरायोको व्यवसाय उत्तम देखिएको हो । यसरी खरायो पालन गरेर राम्रो आम्दानी लिन सफलमध्ये एक हुनुहुन्छ, चन्दननाथ नगरपालिका–१० का रतनबहादुर बुढा । बुढाले ५ वर्षदेखि खरायोको ऊन संकलन गरेर टोपी बनाउने र त्यसको व्यापार गर्दै आउनुभएको छ । उहाँले वार्षिक रुपमा झण्डै एक लाखको हाराहारीमा आफै बनेका टोपीहरु बिक्री गर्ने गरेको बताउनुभयो । पहिले पहिले नमुनाको रुपमा टोपीहरु बन्ने गरेपनि अहिले निकै राम्रो बजार भएपछि यसलाई व्यवसाय रुपमा लिँदै आएको उहाँले बताउनुभयो । उहाँले खरायोको टोपी बेचेर नयाँ घर समेत बनाउनुभएको छ ।
उहाँले अहिले झण्डै तीन दर्जन खरायो पाल्नुभएको छ । चन्दननाथ–११ रोकायावाडाका जयबहादुर रोकायाले घरमै ४५ वटा खरायो पाल्नुभएको छ । उहाँको मासिक १२ हजार आम्दानी छ । आम्दानीबाट एक छोरा दुई छोरीलाई पढाउनुका साथै घर व्यवहार चलाइरहनुभएको छ । यसैगरी चन्दननाथ–११ रोकायाबाडाकै विष्णु रोकायाले ३५ वटा खरायो पाल्नुभएको छ । उहाँले पनि मासिक झण्डै १२ हजार रुपैयाँको आम्दानी गर्दै आउनुभएको छ ।
चन्दननाथ नगरपालिका तलिउम क्षेत्रमा धेरैले खरायोको ऊनको टोपी व्यवसायको प्रमुख माध्याम बनाइरहेका छन् । उनीहरुले पनि वर्षेनी बिसौं हजारदेखि लाखाैं रुपैयाँ खरायोको टोपीबाटै आम्दानी गर्दै आएका छन् । खरायोको टोपीको आकर्षण बढ्दै गएपछि बिक्री पनि त्यसैगरी बढेको हो । जिल्लाका सरकारी कार्यालयका प्रमुखदेखि स्थानीयबासिन्दा तथा घुम्न आउनेले समेत मायाको चिनो स्वरुप खरायोको टोपी किन्ने गरेका छन् । एउटा टोपी दुईहजार पाँच सयदेखि चारहजार रुपैयाँसम्ममा बिक्री हुने व्यापारी बताउँछन् ।
हेर्दा चिटिक्क देखिने, नरम र बलियो तथा टिकाउको रुपमा खरायोको टोपी स्थापित हुँदै आएको छ । यसमा राम्रो लगानी गर्ने हो भने निकै राम्रो व्यवसायको रुपमा अगाडि बढाउन सकिने व्यवसायी बताउँछन् ।