चितवन । नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघको अध्यक्षमा जयकृष्ण सापकोटा निर्वाचित भएका छन् । नारायणगढमा भएको तेस्रो अधिवेशन तथा छैठौँ वार्षिक साधारण सभाले सापकोटाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति निर्बाचित गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा हरिशरण लोहनी, प्रथम उपाध्यक्षमा रामकृष्ण अर्याल, द्वितीय उपाध्यक्षमा मनोज रानाभाट, महासचिवमा सुमन जोशी, सह–महासचिवमा रामशरण सिंखडा, सचिवमा विष्णु ढकाल, सहसचिवमा लीला कुँवर र कोषाध्यक्षमा महेश्वर पोखरेल निर्वाचित भएका छन् ।यस्तै सदस्यहरुमा जनार्दन अधिकारी, सुदर्शन जोशी, शिव लोहनी, सुदनलाल जोशी, राजन कँडेल, सुवर्ण घिमिरे, हरि न्यौपाने, उद्धव थापा र भुवन श्रेष्ठ निर्वाचित भएका छन् ।

यसअघि उद्घाटन सत्रमा संघका महासचिव रामकृष्ण अर्यालले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चितवन र नवलपरासीको नवलपुरलाई कार्यक्षेत्र बनाएर कार्य गरेको जानकारी दिए ।

संघले हाल देशभरिका व्यवसायीलाई आवद्ध गराउने व्यवस्था गरेकोसमेत उनले बताए । पोल्ट्रीको राजधानी मानिने चितवनमा कुखुराको कारोबार गर्ने सप्लायर्स तथा व्यवसायीहरु उल्लेख्य रहेको बताउँदै उनले कुखुरा व्यवसाय संवेदनशील व्यवसाय भएकाले गत वर्षको भूकम्पको सामना गर्नुपरेको बताए ।

संघले कुखुरा तथा चल्लाको ढुवानीमा हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै विभिन्न शीर्षकमा ६ बुँदे प्रस्ताव पेश गरेको छ । संघले गरेको प्रस्तावमा चल्लाको ट्रिप शुल्क सानो गाडीको ५ सय र ठूलो गाडीको एक हजार रुपैयाँ रहेको व्यवस्थालाई यथावत कायम गर्न प्रस्ताव गरेको छ ।

कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष शंकरप्रसाद कँडेलले सबै व्यवसायीहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मञ्चका अध्यक्ष कँडेलले व्यवसायीहरुबीच अस्वस्थ प्रतिस्पर्धाको भावना हुन नहुने बताए ।कार्यक्रममा कोषाध्यक्ष सुमन जोशीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

संघका अध्यक्ष तेजनारायण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा अण्डा व्यवसायी संघ चितवनका अध्यक्ष शिवराम केसीलगायत विभिन्न पोल्ट्री व्यवसायीहरुको सहभागिता रहेको थियो ।