
ललितपुर। काठमाडौँको भृकुटीमण्डपमा शुक्रबारदेखि जारी २६ औँ फ्लोरा एक्स्पो (सोमबार) सम्पन्न भएको छ । चौथो दिनसम्म एक करोड १० लाख ७० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का बरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक राम बहादुर तामाङ (सुनिल) ले जानकारी दिए ।
सोमबारसम्म चलेको पुष्प मेला अवधिभर ५९ हजार बढीले अवलोकन गरेका थिए । मेलामा व्यावसायिक ६७, ल्याण्डस्केपिङ एक, अफिसियल दश, प्रतियोगितात्मक प्रदर्शनी दुइ र फूडस्टल ३ वटा सहित जम्मा ८३ वटा स्टल रहेको थियो ।
मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय पचास र विद्यार्थीका लागि एक सय रुपैयाँ प्रवेश शुल्क तोकिएको थियो भने जेष्ठ नागरिकहरूलाई निशुल्क प्रवेशको ब्यबस्था गरिएको थियो ।
एक्स्पोमा आलंकारिक बोटबिरुवा, सिजनल फूल बिरुवाहरू, सुनखरीका फूल बिरुवाहरू, फलफूलका बोटबिरुवाहरूको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष राजेश भक्त श्रेष्ठले जानकारी दिए । मेलामा फूलप्रेमी तथा अबलोकनकर्ताको भीड बाक्लो भएका कारण सोचेअनुरुपनै कारोबार भएकोमा आफू उत्साहित बनेको र अर्को बर्ष गरिने मेला अन्तराट्रिय स्तरको गरिने योजना रहेको जानकारी दिए ।
जब २०४९ सालमा संस्थागत रुपमा फ्लोरिकल्चर एसोसिएसन नेपाल को स्थापना भयो तत पश्चात मात्र पुष्पको व्यवसायीक बिकास, बिस्तार र प्रबद्र्धनले गति लिएको हो । हाल बढ्दो शहरीकरणको विकास तथा विस्तारसंगै सातै प्रदेशका मुख्य शहरहरु लगायतका अन्य क्षेत्रमा पुष्प व्यवसाय फैलदो अवस्थामा रहेको छ ।
हाल नेपालमा ५२ जिल्लामा २६० हेक्टर भन्दाबढी क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको, ११७४ भन्दा बढि पुष्प व्यवसायीहरू संलग्न रहि व्यवसाय गरिरहेको, अनुमानित लगानी रु।८ अर्ब ८३ करोड भन्दाबढी रहेको, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरि ५१ हजार ५०० भन्दाबढी जनशक्तिहरू रोजगार रहेका र पुष्प तथा पुष्पजन्य वस्तुको बार्षिक कारोबार ३ अर्ब ६८ करोड भन्दाबढी रहेको छ ।