आलु नेपालको चौथो प्रमुख खाद्यान्न बाली हो। पहाडी क्षेत्रका कैयौं स्थानहरु तथा उच्च पहाडी क्षेत्रहरुमा मुख्य बालीको रुपमा र तराई क्षेत्रमा एक प्रमुख तरकारी बालीका रुपमा यसको खेती गरिन्छ । मौसम अनुसार तराईका समथर फाँट देखि उच्च पहाडी भेगको ४,४०০ मी. को उचाईसम्म यसको खेती गरिएको पाइन्छ । अन्य बालीनालीमा भन्दा आलु खेतीमा उन्नत बीउ र उन्नत प्रविधिले बढि महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ। त्यसो हुनाले कमसल वा निम्न गुणस्तरको बीउ रोप्ने र परम्परागत खेती प्रविधिलाई नै अवलम्वन गर्ने गरिदा यसको खेतीबाट बढि उत्पादनको आशा गर्न सकिदैन ।

आलुको उत्पादन लागत विश्लेषण गर्दा कूल लागतको ४० देखि ५० प्रतिशत खर्च बिउ आलुमा लाग्ने गरेको छ। अधिकांश नेपाली कृषकहरुले राम्रा र ठुला आलु बिक्री गर्ने वा खाद्यान्नको लागि प्रयोग गर्ने र बाँकी रहेको स-साना आलुलाई अर्को बर्ष बिउको रुपमा प्रयोग गरेको देखिन्छ, जसले गर्दा वर्षेनी रोग कीराको प्रकोप बढदै जाने र उत्पादकत्वमा समेत कमी आउने गरेको छ । नियमित रुपमा एकै जातको आलु पुस्तौ सम्म प्रयोग गर्दै जाँदा भाईरसजन्य रोगको कारण जातको गुणस्तर खस्कनुले उत्पादन तथा उत्पादकत्व घट्दै गएको छ।
साधरणतया २५ देखि ४० ग्राम तौल भएको र हरियो, दरो, मोटो, स्वस्थ टुसा भएको बिउ आलु रोप्नको लागि उपयुक्त हुन्छ। नटुसाएको बिउ आलु रोप्दा बाली एकनासको नभइ ठाउँठाउँमा खाली पनि हुन सक्छ। तसर्थ एकनासको बाली पार्न र बढी उत्पादन लिन आलु लगाउनु अगाडि बिउ आलुको टुसा उमार्ने काम गर्नुपर्छ । आलु रोप्नु भन्दा ३,४ हप्ता अगाडि नै कोल्ड स्टोरबाट झिकी न्यानो (१५-२० डिग्री सेल्सियस तापक्रममा) हावा लाग्ने ठाउँमा फिजाएर राख्नु पर्छ । यसरी राख्दा उज्यालो ठाउँमा तर सीधै घाम नपर्ने गरी राख्नु पर्दछ। अँध्यारोमा राखेमा सेता कमजोर टुसाहरु देखिन्छ। यदि आलुको दानाको टुप्पामा एउटा मात्र दुसाहरु आएको छ भने त्यो भाचिदिनाले अरु टुसाहरु आउँछन्। यसरी दानामा ५,६ वटा टुसाहरु हुनु राम्रो मानिन्छ। धैरे टुसाहरु भएकोमा धैरै डाँठहरु बन्दछन् र धैरै आलु फल्दछ।
सकेसम्म आलु काटेर लगाउनु हुदैन । बिउ आलु ठिक्क आकारको (२५ देखि ४० ग्राम) भन्दा ठुलो छ भने दुई फयाक हुने गरी ठाडो काटनु पर्छ तर बिउ आलु काटेर रोप्नाले कम उमारशक्ति हुने, माटोमा चिस्यान कम भयो भने टुसाहरु चाँडे मर्ने , माटोमा चिस्यान बढी भएमा बिउ चाँडै कुहिने, उम्रेका टुसाहरु मर्ने अनि फेरी पलाउन नसक्ने जस्ता नोक्सानीहरु हुन सक्छन।
यदि बिउ ठूलो छ र काटेर नै लगाउन पर्ने हो भने बिउ काट्ने चक्कुलाई प्रत्येक कटाइ पछि मट्टीतेलमा डुबाउनु पर्छ जसले गर्दा रोगका जीवाणू स्वस्थ बिउमा सर्न सक्दैन, प्रत्येक टुक्रामा कम्तिमा पनि २, ३ वटा आंख्लाहरु हुनुपर्दछ, बिउ काट्दा सधै ठाडो हुने गरी काट्नु पर्छ, मसिने र लामो टुसा भएको र चाउरी परेको बिउ आलु ठुलो भएपनि नकाटी रोप्ने गर्नुपर्छ, काटेको बिउको सतहमा बोक्रा जम्न दिनको लागि रोप्नु भन्दा ५-६ दिन पहिले नै काट्ने, प्रत्येक टुक्रा २० ग्रामभन्दा सानो नराख्ने जस्ता कुराहरूमा ध्यान दिनुपर्छ।
राम्रो उत्पादन लिनलाई तराईका लागि कुफ्रि सिन्दुरी, डेजिरे, खुमल रातो – २, आई. पी. वाई. – ८, खुमल उपहार , टी. पी. एस. – १ , टी. पि. एस. – २, कार्डिनल जस्ता जातहरू छनाैट गर्न सकिन्छ भने पहाडको लागि कुफ्रि ज्योती, जनक देव, खुमल सेतो – १, खुमल लक्ष्मी, खुमल उज्ज्वल , खुमल विकास, रोजिता जस्ता जातहरू छनाैट गर्नु पर्दछ ।