जलवायु परिवर्तनका कारणले धेरै जसो ठाउँहरुमा पानीको अभाव सिर्जना भएको छ । यसले गर्दा पहाडी तथा तराई क्षेत्रका कृषक समुदायको खेती प्रणालीमा ह्रास ल्याई उत्पादन घट्दो क्रममा छ । बिरूवाको वृद्धि विकासका लागि सिंचाइको ठूलो भूमिका रहेको हुन्छ । त्यसैले पानीको सदुपयोग गर्नु आजको आवश्यकता हो । खडेरी मौसमसँग जुध्न र सीमित पानीको उचित रूपमा प्रयोग गर्नका निम्ति थोपा सिंचाइ एक महत्त्वपूर्ण प्रविधि हो । पानीको अभाव भएका ठाउँमा वा पानीको अभाव हुने मौसममा निरन्तर प्रभावकारी रुपमा बिरूवालाई थोपा-थोपा गरी पानी दिइरहने प्रविधिलाई थोपा सिंचाइ प्रविधि भनिन्छ । यस प्रविधिबाट प्रत्येक बिरूवाका जरामा पर्ने गरी सानो व्यास भएको प्लाष्टिक पाइपबाट सिँचाइ गर्न सकिन्छ ।

थोपा सिँचाइका फाइदाहरू धेरै छन जमध्ये प्रमुख फाइदाहरू निम्न प्रकारका छन् :-

१. थोपा सिँचाइ प्रविधिलाई कम श्रम र पानीको प्रयोग गरी धेरै क्षेत्रफलमा सिंचाइ गर्न सकिन्छ ।
२. यस प्रविधिमार्फत बिरूवालाई निरन्तर रु्यमा सिंचाइ उपलब्ध हुनाले सुक्खा याममा अनुकूल हुनमद्दत गर्दछ । साथेै पानीको अधिकतम उपयोग गर्ने हुँदा उत्पादन वृद्धिमा टेवा पुग्दछ ।
३. यस प्रविधिबाट झोलमल पनि प्रयोग गर्न सकिने हुँदा मलको सदुपयोग हुन्छ ।
४. बिरूवाका जरा नजिक मात्र पानी उपलब्ध हुने हुँदा झारहरुको विकास कम भई गोड्न सहज हुन्छ ।
५. टाढाबाट पानी ल्याएर बोटबिरूवामा हाल्ने समयको पनि बचत हन्छ । यसले गर्दा महिलाको कार्य बोझ कम गर्दछ ।

थोपा सिंचाइ प्रविधि गर्ने विधि यस प्रकार छ :-

थोपा सिंचाइ प्रविधि विशेषत गरी पहाडी क्षेत्रमा बढ़ी उपयुक्त हन्छ यद्यपि तराई क्षेत्रमा पनि बोटबिरूवालाई वर्षाबाट जोगाउनका लागि यसको प्रयोग भएको पाइन्छ । यो प्रविधि खुल्ला स्थान तथा प्लास्टिक टनेल भित्र जडान गर्न सकिन्छ । यो प्रविधि आवश्यकतानुसार घरबरगैचा तथा व्यवसायिक रूपमा तरकारी खेती गर्नका निम्ति अवलम्बन गर्न सकिन्छ । यस प्रविधिलाई प्लास्टिक घरसँग प्याकेजका रूपमा जडान गरी विभिन्न बालीहर जस्तै, टमाटर, खुर्सानी, लहरे बाली, काउली आदि लगाउन सकिन्छ ।
थोपा सिँचाइ प्रविधि जडान गर्नका निम्ति विभिन्न किसिमका सामग्रीहरुको आवश्यकता पर्दछ जस्तै : ट्याङ्की, पम्प युनिट, कन्ट्रोल हेड, मेन लाइन, सबमेन लाइन, लेटरल, ड्रिपर आदि । यसमा एउटा प्रमुख पाइपका साथै अन्य सहायक पाइपहरू जोडिएका हुन्छन् । मेन, सबमेन लाइन, लेटरलपाइपहरूलाई माटोमुनि राख्नु पर्दछ किनभने यिनीहरु घामका प्रकाशबाट छिट्टै बिग्रने सम्भावना बढी हुन्छ । अन्त्यमा ती सबै लाइनहरू ट्याड्कीसँग जोडिन्छन् र पानीको आवश्यकता अनुसार प्रयोग गरिन्छ ।

थोपा सिँचाइ जडान गर्दा लाग्ने लागत यस प्रकार छ :-

थोपा सिँचाइ प्रणालीको लागत सिँचाइ गर्ने क्षेत्रफलका आधारमा निर्धारण गर्न सकिन्छ । त्यसै गरी यसमा प्रयोग गर्ने ट्याङ्की तथा अन्य सामाग्रीहरूको गुणस्तमा पनि भर पर्दछ । थोपा सिंचाइ प्रणालीका लागि सानामा रू पैँतालीस हजार देखि ठूलामा नब्बे हजारदेखि एक लाखसम्म खर्च हुन्छ ।

थोपा सिँचाइको जलवायुमैत्री कुषिमा भूमिका यस प्रकार छ:-

जलवायु परिवर्तनका नकारात्मक असरले गर्दा खडेरी बढ्न गई सुक्खा याममा पानीको कमी भइरहेको यसले गर्दा खेतीयोग्य जमिनहरू बाझो रहन थालेका छन् । थोपा सिँचाइ प्रणालीका माध्यमबाट पानी कम हुने ठाउँहरुमा थोरै पानीबाट धेरै क्षेत्रफलमा सिँचाइ गर्न सकिन्छ । यस पद्धतिको अवलम्बन गर्दा खडेरी तथा सुक्खासँग अनुकूल हुन मद्दत गर्दछ । यस प्रणालीमा पानीको समुचित प्रयोग भई सिँचाइ गरेको बाहेक आन्य स्थानमा सुक्खा हुने हुँदा झारपात कम आउने र रोगको सङ्क्रमणमा पनि कमी हुन्छ । यसले गर्दा विषादीको प्रयोग कम प्रयोग हुनुका साथे हरितगृह ग्यास उत्सर्जनमा पनि कमी आउदँछ । त्यसै गरी बोटबिरूवामा सिँचाइको सुविधा एकैनासले पुग्दछ। यसका कारणले माटोमा चिस्यान रहन्छ र बालीको वृद्धि राम्रो हन्छ । यस प्रविधिको प्रयोगबाट उच्च मूल्यका बालीहस्को खेती गरी उत्पादन बढाई धेरै आम्दानी लिन सकिन्छ ।