त्रिशूली। नुवाकोटको ककनी गाउँपालिका–१ औखरापौवास्थित ठूलोखोला क्षेत्रमा देखापरेको बर्डफ्लू (एभियन इन्फ्लुएन्जा) भाइरस नियन्त्रणमा आएको छ ।

माघ अन्तिम सातादेखि फागुन पहिलो साताको अवधिमा देखापरेको बर्डफ्लू भाइरस सङ्क्रमित र शङ्कास्पद फार्मको पन्छी, पन्छीजन्य पदार्थ र पन्छीजन्य उत्पादनका सामग्रीहरू नष्ट गरेर थप फैलनबाट रोकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका प्रमुख भरत पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार रोगको पहिचान भएकोे फार्मका पन्छीजन्य सामग्री सबै नष्ट गरिएको र आसपासको क्षेत्रमा लगातार गरिएको निगरानीबाट रोग नियन्त्रणमा आएको हो ।

“ककनी गाउँपालिका र विज्ञ केन्द्रको प्राविधिक टोलीले रोगको पहिचान भएका तथा शङ्कास्पद फार्मलाई नियन्त्रणमा लिएर थप फैलनबाट रोक्न गरिएको प्रयास सफल भएको छ”, केन्द्र प्रमुख पाण्डेले भन्नुभयो, “रोग नियन्त्रणमा आएको छ भने आसपासको फार्म तथा घरमा पालन गरिएका पन्छीहरू पनि सुरक्षित देखिएको छ ।”

रोग फैलिएको क्षेत्रमा सघन निगरानी र आवश्यकताअनुसार नियन्त्रणको विधि अपनाएको, बाहिरबाट पन्छीजन्य सामग्रीको आवतजावतमा गरिएको कडाइ सहज बनाइएको छ । ठूलोखोला क्षेत्रसहित जिल्लाको अन्य स्थानमा बर्डफ्लू रोगको सङ्क्रमणको जोखिम तत्कालका लागि पूर्ण रुपमा सुरक्षित बनेको केन्द्रले जनाएको छ । रासस