
वालिङ। स्याङ्जामा आवश्यक पर्ने धान र मकैको उन्नत बीउ जिल्लाभित्रै उत्पादन हुने गरेको छ । जिल्लास्थित सूचीकृत विभिन्न समूह, सहकारी तथा निजी व्यवसायीहरूले उत्पादन गरी प्रमाणित गरिएको बीउका लागि अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको हो । तरकारी बाली तथा खाद्यान्न बाली उत्पादनका लागि गण्डकी प्रदेशमा सूचीकृत भएका कुल ६१ बीउ उत्पादक समूह, सहकारी तथा निजी उत्पादकहरूमध्ये स्याङ्जामा मात्रै २१ वटा छन् ।
जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा धान तथा मकैको मूल बीउको मागभन्दा उत्पादन बढी भएकाले अन्य जिल्लामा विक्री गरिएको कृषि स्रोत विकास केन्द्रका बाली विकास अधिकृत सुदीप रेग्मीले जानकारी दिए । जिल्लामा गत आवमा विभिन्न प्रजातिका करिब १ हजार १०० केजी बीउको माग थियो । ‘सावित्री’ ७८० केजी, ‘सुनौलो सुगन्ध’ २५० केजी, ‘रामधान’ ८०० केजी माग भएकामा ‘साबित्री’ ११ हजार केजी उत्पादन भएको उनले जानकारी दिए ।
त्यस्तै मकैको ‘मनकामना ३’ र ‘अरुण २’ गरी १ हजार १०० केजी बीउ माग भएको थियो । जिल्लाभित्रका व्यवसायिक मकैको बीउ उत्पादकहरूले गत आवमा मात्रै ‘मनकामना ३’ जातको मकैको बीउ १९ हजार ५०० केजी र ‘अरुण २’ जातको बीउ १० हजार ४३६ केजी उत्पादन गरेका थिए ।
‘जिल्लामा धान र मकैको बीउ यहाँको मागभन्दा पनि निकै धेरै उत्पादन हुने गरेको छ,’ अधिकृत रेग्मीले भने, ‘जिल्लाभित्रका किसानले खपत गरेर रहेको धान तथा मकैको बीउ अन्य जिल्लाबाट माग भई आएका ठाउँमा पठाउने गरेका छौं ।’
स्याङ्जामा आव २०७८/७९ मा गहुँतर्फ ‘गौतम’ १ हजार १६० केजी, ‘एनएल ९७१’ ६४० केजी‘एनएल ९७१’ ६४० केजी, ‘डब्ल्यु के १२०४’ ८० केजी माग भएको थियो । त्यस्तै तरकारीतर्फ केराउ २०० केजी, बोडी १०० केजी र सिमी १५० केजी माग भएको कृषि विकास स्रोत केन्द्रले जनाएको छ ।
गण्डकी प्रदेशका ११ जिल्ला कार्यक्षेत्र रहने गरी स्याङ्जाको वालिङमा स्थापना भएको कृषि विकास स्रोत केन्द्रले स्रोत बीउ उत्पादन, उन्नत बीउबिजन उत्पादन र त्यसको व्यवस्थापन गर्दै आएको छ । उक्त कार्यालयले बीउ उत्पादकहरूको क्षमता अभिवृद्धि एवं प्राविधिक सेवा उपलब्ध गराउने, बीउबिजनको गुणस्तर निरीक्षण गर्ने, बीउबिजनको माग तथा आपूर्तिसम्बन्धी तथ्यांक संकलन गर्ने, डेसिसमा नियमित सूचना प्रविष्ट गर्ने, अन्तरजिल्ला समन्वय गर्ने, नियमित अनुगमन तथा निरीक्षण कार्यमा सहयोग, सहजीकरण एवं समन्वय गर्ने उनले बताए ।
बीउ उत्पादनका क्रममा विदेशी हाइब्रिड बीउको अनियन्त्रित आयात एवं बढ्दो प्रयोग हुनु, निजी क्षेत्र प्रविधिमा कमजोर हुनु, जनशक्तिको अभाव हुनु, आयातित बीउको मूल्य अस्वाभाविक महँगो भएर कृषकलाई आर्थिक भार पर्नु चुनौतीका रूपमा देखापरेका छन् ।
त्यस्तै स्वेदशमै विकास भएका कतिपय बालीका जात उत्कृष्ट हुँदाहुँदै पनि कृषकमाझ नपुग्नु, विदेशी बीउको कारण बीउमा समस्या देखिएमा सरकारसँग क्षतिपूर्ति माग गर्ने परिपाटी बढ्दै जानु, विगतमा सफलतापूर्वक सञ्चालन भएका बीउ उत्पादन कार्यक्रमले अपेक्षाकृतरूपमा निरन्तरता नपाउनु, स्रोत बीउदेखि उन्नत बीउसम्मको बीउ चक्र पूर्णरूपले कायम नहुनु, माग र आपूर्तिको तालमेल नमिल्नुजस्ता चुनौती रहेका छन् । रासस