ललितपुर। नेपालको ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री वितरण गर्दै आएको ‘पैचो पसल’ प्रालिद्वारा उत्पादित खाद्यवस्तु अमेरिकी बजारमा उपलब्ध गराइने भएको छ ।

नेपाली उत्पादनलाई विश्वभर छरिएर बसेका नेपाली डायस्पोरामाझ पु¥याउने उद्देश्यले अमेरिका निर्यात सुरु गरेको कम्पनीले त्यहाँका विभिन्न राज्यमा नेपाली उत्पादन उपलब्ध गराउने भएको हो । पैचो पसलले उत्पादन गरेका खाद्य सामग्रीलाई अमेरिकी बजारमा पु¥याउन न्यूयोर्कको फेन्सी हाउस इन्कले नेपालको अग्नि एक्जिम प्रालिमार्फत सहकार्य गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘बसे पनि सहर, गाउँकै खाने रहर’ भन्ने मूल ध्येयका साथ सुरु भएको पैचो पसलका उत्पादन नेपाली उपभोक्तामाझ लोकप्रिय भएको र यसलाई अन्तर्राष्ट्रिय बजारमा पनि उपभोक्तामाझ पु¥याउन पहल गरिएको पैचो पसलका बजार व्यवस्थापक लक्ष्मण गैरेले बताए । उनले विशुद्ध पहाडी र उच्च पहाडी भूभागका कृषकले उत्पादन गरेको कृषिजन्य पदार्थलाई प्रशोधन गरी निर्यात गरिने बताए ।

पैचोका उत्पादनलाई अग्नि एक्जिममार्फत फ्रेन्सी हाउस इन्कले अमेरिका आयात गरी एक्सपोट फर्म नेपाल आइएनसीमार्फत सबै राज्यमा बिक्री सुरु गरेको छ । यसका लागि पैचो पसल र फेन्सी हाउस कइन्कबीच सहकार्यका लागि सम्झौता भएको छ ।

फ्रेन्सी हाउस इन्कका निर्देशक अनिल रौनियारले सम्झौताले नेपालका ग्रामीण भेगका उत्पादनलाई अमेरिकी बजारमा पु¥याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले अर्गानिक र इन्ट्रिग्रेटेड पेस्ट म्यमानेजमेन्ट पद्धतिबाट उत्पादित ग्रामीण खाद्यवस्तुको रैथाने स्वादलाई विदेशमा लैजान सुरु गरिएको उल्लेख गरे ।

विसं २०७१ मा स्थापना भएको कम्पनीले किसानले उत्पादन गरेका कृषिजन्य सामग्री सिधै खरिद गरेर उपभोक्तबाझ लैजाने गरिएको पैचो पसलका निर्देशक राजन पौडेलले जानकारी दिए । कम्पनीले ४० भन्दा बढी प्रकारका कृषिजन्य उत्पादन प्रशोधन र बजारीकरण गर्दै आएको छ । अचारका १२ प्रकारका भेराइटी, मकैको च्याख्ला, गुन्द्रक, सिन्कीलगायत खाद्य सामग्री स्वदेश तथा विदेशमा बजारीकरण गरिएको छ । यी उत्पादन नेपालका साथै जापान, युरोप र अमेरिकी बजारमा पु¥याएर उपभोक्ताको विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ । पैचो पसलले वार्षिक रु ४२ करोडको कारोबार हुनेगरेको जनाएको छ ।

पैचो पसलले गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान, रोल्पा, रुकुम, सल्यान, जुम्ला, कालीकोटलगायत जिल्लाका किसानले उत्पादन गरेको कृषिजन्य पदार्थलाई खरिद गर्दै आएको । ग्रामीण अर्थतन्त्रलाई सबल बनाउँदै विदेशी आयातलाई प्रतिस्थापन गर्न स्वदेशकै ठूला औद्योगिक प्रतिष्ठानलाई पैचो पसलले औद्योगिक कच्चा पदार्थ उपलब्ध गराइरहेको जनाएको छ ।

पैचो पसलले औद्योगिक प्रशोधन गरी विभिन्न स्वादका अचार, जाम, सस, टोमेटो प्यूरी, भेनगर उत्पादन गरिरहेको छ । त्यस्तैगरी परम्परागत खाद्यवस्तु फापरको पीठो, कोदोको पीठो, सिन्की मस्यौरा तथा जुम्लाको सिमी र मकैको आटो (च्याख्ला) लगायतका खाद्यवस्तु उत्पादन गर्दै आएको छ । रासस