राजविराज। कृषि ज्ञान केन्द्र सप्तरीले कृषि उपकरण तथा साना सिँचाइका लागि स्यालो बोरिङसहितका सामग्री वितरण गरेको छ । जिल्लामा वैकल्पिक सिँचाइको व्यवस्थासहित कृषिमा यन्त्रीकरण र आधुनिकीकरण गर्ने उद्देश्यले पावर टिलर, धान तथा गहुँ काट्ने रिपर मेशिन, स्यालो बोरिङ र कमर्शियल मोटरलगायत कृषियन्त्र किसानलाई अनुदानमा वितरण गरिएको केन्द्रले बताएको छ ।

वितरण गरिएका सामानमा १८ एचपीको पावर टिलर ४० थान, ९ एचपीको पावर टिलर ११ थान, स्यालो ट्युवबेल १७० थान, कमर्शियल मोटर ३२ थान, धान तथा गहुँ काट्ने रिपर मेशिन ६ थान र पावर टिलरमा प्रयोग हुने रिपर ३ थान रहेको केन्द्रले जानकारी दिएको छ । केन्द्रका प्रमुख राजेन्द्रप्रसाद यादवले आव २०७८/७९ को स्वीकृत कार्यक्रमअन्तर्गत एक हजार ५७३ स्यालो बोरिङ वितरण गर्दा ६ हजार २९२ बिघा खेतीयोग्य जग्गामा २४ घण्टा सिँचाइ पुगेको बताए । साथै स्यालो बोरिङ वितरणले किसानले घरायसी उपयोग तथा कृषिबालीमा पानीको सुविधा पाएको भनाइ थियो । लागत घटाइ उत्पादन वृद्धि र किसानलाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको थियो ।

सबै स्थानीय तहका किसानलाई निवेदनका लागि आह्वान गरी छनोटमा परेका किसानलाई ५० प्रतिशत अनुदानमा उक्त उपकरण उपलब्ध गराइएको केन्द्रको भनाइ छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले युवा विदेशिने गरेको र खेतमा काम गर्ने मान्छेको अभावमा किसानले समस्या भोगिरहेको अवस्थामा यस्तो सहयोगले धेरै राहत प्रदान गर्ने बताए । रासस