बैतडी। बैतडीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । मुख्य खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएको हो ।

यहाँका अधिकांश क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् । किराले मकैको बोट सखाप पार्ने गरेको छ । लामो समयसम्मको खडेरीका कारण फौजी किरा बढी सक्रिय भएको हो । कृषि ज्ञान केन्द्रका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दका अनुसार जिल्लाका सबै क्षेत्रमा फौजी किराको प्रकोप देखापरेको छ ।

दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा बाली नष्ट गर्ने गरेको छ ।

मकैको पकेट क्षेत्रमै किराले नोक्सान गरेको छ । तीन वर्षयता हरेक वर्ष फौजी किराको प्रकोप देखिने गरेको छ । दोगडाकेदार गाउँपालिका–२ का अधिकांश किसानले लगाएको मकै फौजी किराले सखाप पारेको स्थानीय दीपिका कार्कीले बताउनुभयो । मकैबाली लगाएदेखि नै फौजी किराले क्षति पुर्याउन थालेको छ ।

किराले मकै बाली नष्ट गर्न थालेपछि समस्यामा छौँ । किरा मार्न विषादी उपलब्ध गराइदिन गाउँपालिकाको कृषि शाखालाई अनुरोध गरेका छौँ, उनले भने । दोगडाकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख रामबहादुर विष्टले किराको प्रकोपबारे जानकारी आएको र वडास्तरबाटै कृषि प्राविधिक पठाउन पहल भइरहेको बताए ।

मकै बालीमा किराको प्रकोप देखिएको गुनासो आएको र विषादी वितरण गर्न थालिएको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रचार अधिकृत चन्दले जानकारी दिए। केन्द्रले इमामेक्टिन वेन्जोएट नामक विषादी वितरण गरिरहेको छ । सबै बारीमा विषादी छर्केपछि मात्रै किराको प्रकोप नियन्त्रण हुने उनको भनाइ छ । बैतडीमा १३ हजार हेक्टर जमिनमा मकैखेती गरिँदै आएको छ । रासस