ललितपुर।  बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दूध र पशु स्रोत केन्द्रलाई विनियोजन गरेको अनुदान रकम आगामी असारभित्र नै उपलब्ध गराउने गरी काम अघि बढाएको छ ।

पशुपक्षी तथा मत्स्यविकास निर्देशनालयमार्फत दिइने सो अनुदानबाट प्रदेशभित्रका एक लाखभन्दा बढी कृषक प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार दूधको अनुदानका लागि रु. १६ करोड र पशु स्रोत केन्द्रका लागि रु. एक करोड ६० लाख अनुदान रकम विनियोजन गरिएको छ ।

आज यहाँ पत्रकारसँग कुरा गर्दै पाण्डेले भने, “असारभित्रै हामी अनुदान रकम बाँड्ने गरी काम गर्दैछौँ ।” निर्देशनालयमा रहेका केही कर्मचारीले प्रक्रिया अघि नबढाएपछि कृषकको चौतर्फी दबाब परेको थियो ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका सचिव किशोर बगालेका अनुसार निर्देशनालयका कर्मचारीले काम नगरेका कारण प्रक्रिया अघि बढ्न ढिला भएको थियो । काम नगर्ने कर्मचारीलाई सरुवा गरेर अन्य कर्मचारी पठाउन दबाब दिएकै कारण निर्देशनालयले काम अघि बढाएको उनले बताए ।

दूध अनुदानमा गत वर्ष चितवनका किसानले रु आठ करोड पाएका थिए । चितवनमा यस वर्ष १०४ सहकारी संस्थाले अनुदानका लागि आवेदन दिएका छन् । बगालेले भन्नुभयो, “आधाभन्दा बढी अनुदान रकम चितवनका किसानले पाउँछन् ।” निर्देशनालयले दूधमा गत वर्ष प्रतिलिटर रु दुई अनुदान दिएको थियो । त्यसका लागि कम्तीमा रु. २२ करोड आवश्यकपर्ने उनी बताउछन् ।

गत वर्षको जति नपाएपछि केही कम रकम पाउनेमा अब ढुक्क भएको उनको भनाइ छ । आफूहरुले दबाब नदिएको भए कृषक अनुदान पाउनबाट बञ्चित हुने अवस्थामा पुगिसकेको उनी बताउछन् । सचिव पाण्डेले काम नगर्ने कर्मचारी सरुवा गरेपछि निर्देशनालयका कर्मचारीले अनुगमन थालेकाले असार लागेसँगै अनुदान रकम भुक्तानी गर्न सकिने बताए ।

कृषकको चौतर्फी दबाबपछि मन्त्रालयले कर्मचारी सरुवा गरेर काम अघि बढाएको जनाएको छ । निर्देशनालयका सरुवा भएका कर्मचारीले आचरणविपरीत गोपनियता भङ्ग गरेको भन्दै मन्त्रालयले कारबाही प्रक्रियासमेत अघि बढाएको छ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र केरा व्यवसायी सङ्घले यहाँ पत्रकार सम्मेलनको आयोजना गरी मन्त्रालयले काम अघि बढाएकामा खुसी प्रकट गर्दै सबैलाई सहयोगका लागि अनुरोध गरेका थिए । रासस