
ललितपुर। शहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिसंगैं नेपालमा उत्पादीत कफीको माग स्वदेश तथा विदेशमा उच्च बन्दै गएको छ । “कफी किसानलाई संरक्षण र प्रोत्साहन, व्यवसायीक कफी उत्पादनमा युवाको योगदान” भन्ने मूल नाराका संचालन हुन गैरहेको १७ औं राष्ट्रिय कफी दिवसको अवशरमा उक्त जानकारी गराईएको हो ।
नेपालमा बढ्दो कफी आयात गर्त वर्ष कम भई निर्यातमा समेत उल्लेख्य सुधार आयको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । आर्थिक वर्ष ७६/७७ मा नेपालभर २९६.५ मेट्रिक टन कफी उत्पादन भएको थियो । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष ७६/७७ मा ११ करोड ८८ लाख बराबरको २६६ मेट्रिक टन कफी आयात हुँदा ५ करोड ७७ लाख बराबरको ४६.८९ मेट्रिक टनक कफी निर्यात भएको थियो । आर्थिक वर्ष ७७/७८ मा १० करोड ६७ लाख बराबरको १९८.७६ मेट्रिक टन कफी आयात हुँदा निर्यात बढेर ९ करोड ६० लाख बराबरको ७२.४८ मेट्रिक टन कफी निर्यात भएको छ ।
हाल नेपालमा उत्पादीत कफीको २५ प्रतिशत विदेश निर्यात हुँदैं आएको छ भने बाँकी स्वदेशमै खपत हुने गरेको छ ।
कफीको न्यूनतम मूल्य तोकियो :
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले किसानको लागत मूल्य र सरोकारवालाहरुको सुझावलाई आधार बनाएर यस वर्ष पनि कफीको मूल्य निर्धारण गरेको छ । जस अनुसार फ्रेस चेरी ग्रेड ए कच्चा कफीको मूल्य प्रतिकेजी ९० रुपैयाँ तोकिएको बोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले बताए ।
त्यसैगरी ग्रेड बि को सो कफीको प्रतिकेजी ८० रुपैयाँ मूल्य तोकिएको छ । पार्चमेन्ट ग्रेड ए कच्चा कफीको मूल्य प्रतिकेजी ४५० रुपैयाँ र ग्रेड बि सो सोही कफीको मूल्य ३९७ निर्धारण गरिएको छ । बोर्डले ड्राईचेरी ग्रेड ए कच्चा कफीको प्रतिकेजी मूल्य १४८ रुपैयाँ मूल्य तोकेको छ भने बी ग्रेडको सोही कफीको प्रतिकेजी मूल्य ९५ रुपैयाँ निर्धारण गरेको छ ।