डुम्रीबेसी। पटक पटक रोज रोटीको लागि विदेशको ढोका ढक ढकाउन जानु भन्दा स्वदेशमै परिवारको साथमा केही इलम गर्नु उचित ठानेर तनहुँ भिमाद नगरपालिका- १ डुम्रीबेसीका २ युवा दीपेन्द्र लामिछाने र जनक भण्डारीले व्यक्तिगत तवरले आफ्नै गाउँमा डुम्रीबेसी पशु फर्म संचालन गरेका छन। बाहिरबाट १० रुपैया कमाएर ल्याउनु भन्दा स्वदेश मै केहि इलम गरि २ रुपैया कमाउनु राम्रो ठानी यो इलम गरेको छु जनक भण्डारी बताउछन् । अर्का संचालक दिपेन्द्र लामिछाने भन्छन् बाहिरको कमाइ भनेको बर्खे भेल जस्तै हो। कृषिको लागि कति ऋण लिएको भन्दा पनि खासै चासो नदिएको उहाँहरुको दाबी छ।

कृषिको लागि अनुदान पाउने जानकारी पाए पनि हातेमालो गर्न झन्झटीले भएको उनीहरू बताउँछन् । धेरै चोटि नधाएको पनि कहाँ हो र सधैको सदरमुकाम अनि सबै प्रक्रिया पुर्याएर अनुदानको लागि पहल गर्न समय पनि त हुनु पर्यो। सरकारी या गैरसरकारी संघ संस्थाको सहयोग बिना नै आफ्नै लगानीमा आफ्नै जमिनमा २ बर्ष देखि बाख्रापालन गरिरहेका छौू। जनक भन्नुहुन्छ हाम्रो ध्यान बाख्रालाइ कसरी प्रस्टाउने भन्ने मै केन्द्रित छ। अहिले फार्ममा करिब ६०-७० वटा बोएर जातीका बाख्राहरु छन।हामी दुई मिलेर आलो पालो गरेर फर्म संचालन गरेका छौ।

घरपरिवार का अन्य सदस्यहरु पनि काममा सघाएका छन् । बाख्राचरनको लागि पर्याप्त ठाउँ भएको हुदा २ जना पालो गरेर चरन लाने गरेको उनीहरू बताउँछन्। बाख्रा चरनमा लैजादा पानीमा भिज्यो भने समस्या हुनेगरेको उनिहरु बताउछन् । पानी पर्ने र घाम लाग्ने हुदा तातो र चिसोको कारणले बाख्रालाइ छिट्टै निमोनियाले भेट्छ र बिरामी हुन जान्छ, त्यसैले यस्तो समस्या नआओस् भनेर ब्यवस्थित खोर (स्टल फिडिङ्ग गरेर सबै बाख्रालाइ गोठ भित्रै बाधी दाना, घाँस ,पानीको ब्यवस्था) बनाउने तरखरमा लागि परेको उनिहरु बताउँछन् ।

फर्ममा सबै खर्च कटाएर बचेको पैसाले छोराछोरीलाई राम्रो शिक्षा दिक्षा दिन सहयोग पुगेको छ । पैसा कमाउनको लागि बिदेशनै जानु पर्छ भन्ने धारणा हाम्रो समाजमा रहि आएको छ तर विदेशमा बगाउने पसिना र मेहनत आफ्नै गाउँ ठाउँमा गर्न र खट्न सकियो भने नेपालमै बसि विदेशको भन्दा दोब्बर आम्दानी गर्न सकिने उदाहरण उनिहरुबाट लिन सकिन्छ।

स्थानीय उपभोक्ताको माग अनुसार पुर्ती गर्न नसकिएको र खसीबोका खरिद को लागि पोखरा देखि लिन आउने गरेका कुरा गाउलेहरु बताउँछन् ।

५० डिग्रीको तातो राप अनि अर्काको अधिनमा रहेर काम गर्नु भन्दा जति दुख भएपनी आफ्नै परिवारसङ्ग रहेर काम गर्दा यसमै खुसी छौ। बाख्रापालनबाट उत्पादित मल आफ्नै खेत बारीमा प्रयोग गरेर मौसमी अर्गानिक तरकारी खेती पनि गरिरहेका छन उनिहरुले। देश निर्माणको लागि पहिला टोल, समाज अनि परिवारमा इलम आवश्यक रहेको र आफुले बाख्रा पालेर अरुलाइ पनि ब्यावसायिक बन्न उत्प्रेरणा थपेको र गाउँमा अहिले धेरैले बाख्रापालन शुरु गरेका छन।

मुलुकमा अझै पनि कोरोनाको भयावह छ। लाखौ युवाहरु स्वदेश फर्कने तरखरमा छन् । कृषि अनि पशुपालन तर्फ सरकारले अझै बढी ध्यान दिन सके स्वरोजगारमै उनिहरुलाइ आत्मनिर्भर बनाउन सकिन्छ। पशुपालनलाइ सरकारले गोठालोको रुपमा नहेरी उत्साहित बनाउनु पर्छ। स्थानीय सरकारबाट पनि कृषिलाई जति हुनु पर्ने सहज भैरहेको छैन र नारामा मात्र सिमित छ। सरोकारवाला निकायबाट सहयोग पाए नमुना ब्यावसायिक रुपमा विकास गर्ने सोच रहेको उनिहरु बताउँछन्।