स्याङ्जा। जब वर्षालाग्छ खहरेहरुमा भलपानी बग्छ, अनि हिउँद लाग्दैजाँदा सुक्दैजान्छ । यस्तै विदेश गयो केहि पैसा कमायो, एकछिन रमायो सकिन्छ फेरि उतैगयो, यसरी कतिदिन चल्छ र ? निरन्तरको आमदानी भएन भने जीवन चलाउन मुश्किल पर्छ । त्यसैले विदेशको कमाई एकछिनको भलपानी जस्तै हुने र आफ्नै ठाउँमा निरन्तरको कमाई र स्वरोजगारीका लागि अवसर खोज्नेक्रममा स्याङ्जाका युवाहरुले कृषि पेशालाई मुख्य आधार बनाएका छन् । वषौं विदेशमा परिश्रम गरेर पनि भविष्यको कुनै ठेगान नभएपछि यवाहरु फर्केर व्यवसायमा जुटेका हुन् । थोरै लगानीबाट पनि गर्न सकिने र छिटो आमदानी हुनेभएपछि विदेशबाट फर्केका अधिकांश युवाहरु बाख्रापालनलाई प्राथमिकता दिएका छन् । यसैक्रममा दुवइ, कतार र अफगानिस्थान गरी ११ वर्ष मेहनत गरेर फर्केका वालिङ नगरपालिका १ धरमपानीका राजेन्द्र रेग्मीले गत वर्षदेखि बाख्रापालन गरेका छन् ।

राजेन्द्रको दभुङकालिका पशुपालन तथा कृषि फर्ममा अहिले ३५ वटा माउ सहित साना ठुला गरेर ७५ वटा बाख्रा रहर लाग्दा देखिन्छन् । स्थानीय खरीजातका बाख्रा पालेका राजेन्द्र विस्तारै उन्नतजातको नश्ल सुधार गर्दैजाने योजनामा छन् । करिव १८ लाख लगानी गरिसकेका राजेन्द्रले तीनसयसम्म बाख्रा पाल्न सकिने सुविधायुक्त आधुनिक खोर बनाएर व्यवसाय अगाडि बढाएका छन् ।

विदेशबाट फर्केपछि कास्कीको पोखरालाई कर्मथलो बनाएर ६ वर्ष भैंसीपालन गरेका राजेन्द्रले आप्mनै पाखोबारीको सदुपयोग हुनेभएपछि धरमपानीमा फर्म सञ्चालनमा लागेका हुन् । उनले पाखोमा भएको घाँसले मात्र पौष्टिकता नपुग्ने भएकाले प्रोटिन सहितका नेपिएर, भटमासे, इपिल इपिल बडहर लगायतका घाँस समेत लगाएका छन् । अरुको हेरेर र सामाजिक सञ्जालको सहायतामा खोर निर्माणगरी व्यवसायको थालनी गरेका राजेन्द्रले नगरपालिकाबाट भने प्राविधिक सहयोग नभएको गुनासो गरे । नगरपालिकाबाट हेर्न नआए पनि अहिले विभिन्न ठाउँबाट अवलोकन गर्न आउने गरेका छन् र प्राविधिक सल्लाह दिन नसके पनि नमूनाकोरुपमा लिइदिएकोमा राजेन्द्र खुशी छन् ।

विदेशमा अर्काको काम गर्दा भन्दा यहाँ धेरै फरक र आनन्द छ । विदेशमा ६ बजे विहान उठेर हिँड्यो एकैचोटी साँझ आयो, कोहि इष्टमित्र छैन, घर परिवार हुँदैनन्, कि विस्तरा छ, कि डिउटी हुन्छ । यहाँ त सबै छ, आँफुलाई केहि भैहाल्यो भनेपनि सहयोग गर्ने अर्को छ, उहाँ अर्को पनि आँफुजस्तै हुन्छ, दुःखमा सहयोग गर्ने कोहि हुँदैन, यो हिसावले पनि यहाँ धेरै आनन्द छ ।

उनी भन्छन्—मपनि यो ठाउँ छोडेर हिँडिसकेको थिएँ, अहिले आएर जग्गाको महत्व बुझें र गर्दैछु । अब गाउँ गाउँमा बाटो घाटो खुलेको छ, स्थानीय निकायहरु छन् पहिला कर्जा पाउन पनि मुश्किल हुन्थ्यो, तर अहिले त्यस्तो छैन, धेरै सहज छ । बैंकले लगानी गर्छ, स्थानीय निकायले हेर्छ भने कामका लागि बाहिर जानै पर्दैन । स्थानीय निकायले ठाउँ अनुसार खेति गर्न, घाँस लगाउन तथा किसानहरुका लागि प्रोत्साहन दिने तथा उपकरणहरु उपलव्ध गराउने र आवस्यकता अनुसार प्राविधिकहरु पठाइदिने ग¥यो भने कोहि पनि युवा बाहिर जानु पर्दैन यहिँ अवसर छ ।

उनी भन्छन्—भविष्य आफूमा निर्भर हुन्छ, कुनैपनि काम ध्यान दिएर गर्नुप¥यो, सुरु गरेर छोड्दै हिंड्दै गरेर हुँदैन, यसबाट नै मेरो दुइपैसा आउँछ,यो नै सबैथोक हो भनेर मनैदेखि लागेर गर्नुपर्छ भविष्य यहिँ छ । सबैभन्दा पहिला चेतना आउनुपर्छ र मैले गर्नुपर्छ भन्ने चेतना भयो भने अवस्य उन्नति हुन्छ ।

जनताले आँफुले मात्र गर्न खोजेर पनि हुँदैन, सरकारले उचित सहयोग गर्नुपर्छ, सरकारले कृषिमा दुनियाँ पैसा खन्याएको छ , तर सहि सदुपयोग भएको छैन । ठुलाबडाले मात्र पाउने, दुःख गरिरहेका र अझै पनि साना किसानले पाएका छैनन् । यो प्रवृत्तिलाई छोडेर जसले गरेको छ, उसको काम हेरेर, उसको दायित्व बुझेर सरकारले सहयोग गर्ने हो भने बल्ल राम्रो हुने राजेन्द्रको भनाइ छ ।

मैले आफ्नो तरिकाले गरेको हुँ, सरकारले देला नदेला, यसैबाट म जिउन सक्छु है भनेर सुरु गरेको हो, कुनै त्यस्तो निकाय आएछ र यसले राम्रो गरेको रहेछ भनेर दिन्छ भने नाईं भन्ने कुरा हुँदैन नत्र अनुदानको पछि लाग्दिन राजेन्द्रले थपे ।

राजेन्द्र भन्छन्—कहिँ जानुपर्दैन व्यवसाय गर्न आफ्नै ठाउँमा ठिक छ, आफनो जग्गा खाली नराखौं, वनमासा उमारेर काम छैन, आफनो जग्गाको आफैंले सदुपयोग गरौं, अर्काको भरमा नपरौं, अर्काले देला र खाउँला नभनौं, बीस पचीस हजारको जागिर खाएर नहिडौं, आफनै जग्गामा उत्पादन गरौं र खाऔं, त्यो जत्तिको राम्रो अरु केहि छैन । सकिन्छ दुइचारजना अरुलाई पालौं ।