कोरोना महामारीबाट विश्व आक्रान्त छ। यसको असर सबै देशहरूका सबै क्षेत्रहरूमा देखिन थालेको छ। नेपाल पनि यसबाट अछुतो छैन। कोरोना महामारीले धेरै कोणबाट नेपालको आर्थिक, सामाजिक राजनीतिक गतिविधिलाई अलग ढंगले असर गरेको छ। धेरैले हेला गरेको कृषि क्षेत्रको महत्व महामारीसँगै उजागर भएको छ र यसलाई समग्र कृषि क्षेत्रको उचाइ बढेको सहजै अनुमान लगाउन सकिन्छ । जुन कुरा कृषिप्रेमीहरूका लागि गर्वका साथै अवसर पनि हो । सर्वसुलभ सस्तो ,गुणस्तरीय र पर्याप्त मात्रामा भोजनको उपलब्धता नहुनु नेपालको प्रमुख समस्यामध्ये एक रहिआएको अवस्थामा दिगो कृषि त्यसको समाधान हो।

पर्माकल्चर शब्द अंगे्रजी शब्दको Perma र culture को स्थायी र कृषि शब्द जोडेर निकालिएको शब्द हो । साधारणतयाः यसको अर्थ स्थायी कृषि भए तापनि कृषि हामी नेपालीहरुका लागि हाम्रो लवाई खवाई, चाडपर्व र सँस्कृतिसँग मुख्य रुपमै जोडिएको विषय भएको हुनाले पर्माकल्चरलाई दिगो सँस्कृति पनि भनिन्छ । मुल रुपमा प्राकृतिक प्रणालीको ढाँचा, स्थायीत्व, विविधता आदि चरित्रहरुको अध्ययन र निरिक्षणका आधारमा मानव तथा पृथ्वीका सम्पूर्ण जीवहरुको दिगोपन र सुरक्षा गर्ने उपयुक्त तथा पूर्ण ढाँचायुक्त पद्धति नै पर्माकल्चर हो ।

पर्माकल्चर शब्दको चयन र प्रयोग सर्वप्रथम ई.सं. १९७० तदनुसार वि.सं. २०२६ सालमा अष्टे्लीयाका प्राध्यापक विल मोलिसन र उनका चेला डेभिड होल्मगे्रनले गरेका हुन् । यसैले पर्माकल्चर भनेको आफ्नो स्रोत र साधनको विवेकशील प्रयोग गरेर आफु र आफ्नो समाज र भावी सन्ततीलाई आत्मनिर्भर बन्न सहयोग गर्ने पद्धति हो ।

साधारण रुपमा हेर्दा पर्माकल्चरमा कुनै नोलोपन छैन । यो प्राकृतिक पद्धति, पौराणिक ज्ञान, सीप, अनुभव तथा सामाजिक र भौतिक विज्ञानले ल्याएका प्रविधिमा आधारित छ । यसले हरेक पक्षको राम्रा कुराको संग्रह गर्दै विवेकशील जीवनयापन गर्ने गराउने प्रयास गर्दछ । नेपालमा पर्माकल्चर प्रणालीको शुरुवात ई.सं. १८८६ तदनुसार वि.सं.२०४३ सालमा चितवन जिल्लाबाट शुरु भएको हो ।

हाल नेपालका धेरै जिल्लाहरुमा यो पर्माकल्चर ढाँचा अर्थात् दिगो कृषि, दिगो कृषि, दिगो खेती, दिगो सँस्कृतिको विकास र विस्तारका लागि ३ दर्जन संस्थाहरु लागि परेका छन् । हालसम्म करीब एक हजार सक्रिय किसानहरु पर्माकल्चर ढाँचाका ज्ञाता छन् । ९६० जनाले पर्माकल्चर ढाँचा कोर्सको तालिम लिइसकेका छन् । २ दर्जन पर्माकल्तर ढाँचामा डिप्लोमा गर्ने तयारीमा रहेका छन् । माथि उल्लेखित व्यक्ति र संस्था सदस्य रहेको पर्माकल्चरको राष्ट्यिस्तरको सञ्जालको रुपमा ई.सं. १९९२ मा नेपाल पर्माकल्चर समुह गठन भएको छ । यसले संस्थागत सदस्य तथा हरेक विकास क्षेत्रमा क्षेत्रीय संयोजन संथा मार्फत समय समयमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसले पर्माकल्चर सम्बन्धी नीतिगत वकालत, दवाव तथा प्रचार प्रसारका माध्यमबाट आफ्ना विविध गतिविधिहरु प्रवाह गर्दछ । यसको लक्ष्य, उद्देश्य, कार्य प्रणाली र कार्य क्षेत्रहरुका माध्यमबाट सबल जीवन पद्धतिका लागि सजीकरण गर्ने काम गर्छ ।

यस पद्धितिमा कृषि प्रणालीलाई बन पारिस्थितिकीय प्रणालीको जस्तो स्वतः रूपमा परिचालित प्रणालीमा रूपान्तरण गर्ने प्रक्रियाहरू, पद्धतिहरू र प्रविधिहरूको समायोजन गरिएको हुन्छ । पर्माकल्चर पद्धतिबाट गरिने फार्मको ढाँचामा निम्न कुराहरूलाई ध्यान दिइएको हुन्छ ।
१. फार्मको विभिन्न अंशहरूमा के राख्ने (जस्तैः कुन बाली लगाउने, कुन संरचना बनाउने आदी) भन्ने कुराहरूको निर्धारण गर्दा उर्जाको कम खपत र प्रयोग हुने सिद्धान्त अपनाईको हुन्छ ।
२. यस पद्धतिमा बाह्य कृषि सामग्रीहरूको प्रयोग प्रोत्साहन गरिदैन । सम्भव भए सम्म यस पद्धतिले स्थानीय ज्ञान, सीप र स्रोतको परिचालनमा ध्यान दिन्छ ।
३. यस पद्धतिमा बनको नक्कल गरिन्छ किनकी बन एक स्वचालित पारिस्थितिकीय प्रणाली हो जसमा विविधता छ, हरेक अंशहरू आफैमा काम गरिरहेका हुन्छन्, जहाँ बाहिरी सामाग्रीहरूको जरुरी हुँदैन । त्यसैले पर्माकल्चर पद्धतिमा पर्यावरणीय सिद्धान्तका आधारमा माटोको व्यवस्थापन, रोगकीराहरूको व्यवस्थापन र पानीको व्यवस्थापन गरिएको हुन्छ ।
४. यस पद्धतिमा सके सम्म एउटा प्रविधि वा सामाग्रीबाट बढी प्रयोग गर्न सकिने अवसरहरूको खोजी गरिन्छ । प्रांगारिक खेती प्रविधिहरू यस पद्धतिका लागि अपरिहार्य हुन्छन् ।
५. बालीको विविधता र बहुबर्षीय बाली तथा रुखहरू पनि यस पद्धतिका अभिन्न भागहरू हुन् ।