
कृषि आनुवंशिक स्रोत मानव जीवनको अस्तित्वको आधार हो । समयको साथ विभिन्न आनुवंशिक स्रोतको विकास गरिएको छ र अधिकांश अवस्थामा यी आनुवंशिक स्रोतहरु स्थानीय क्षेत्रहरु भित्र नै केन्द्रित रहेका छन्। यद्यपि आधुनिक प्रजातिका बीउप्रति बढ्दै गएको कृषकको मोहले जैविक विविधता कम हुने प्रक्रिया जारी नै छ। उच्च उत्पादन दिने आधुनिक बीउले बहु-महत्त्व भएका स्थानीय प्रजातिहरूलाई छायाङ्कन गरेको छ।त्यसैले प्राकृतिक प्रकोप, मौसम परिवर्तन, गुणस्तरीय बिउका लागि पहुँचको कमी र स्थानीय रुपमा सञ्चालित जैविक विविधता व्यवस्थापनमा भाग लिनका लागि कृषकको माग बढेसँगै जैविक विविधता लोपलाई न्युनिकरण गर्न संसारका विभिन्न भु-भागमा सामुदायिक बीउ बैंक (सीएसबी) को उदय भएको हो। विश्वमा सामुदायिक जीन र बीउ बैंकहरूको करीब ३० बर्ष लामो ईतिहास भए पनि नेपालमा भने सन् १९९४ मा यसको उदय भयो। तर सरकारले सन् २००८/९ देखि मात्र सामुदायिक बीज बैंकहरू स्थापना कार्यक्रम ल्याएको थियो। । यस कार्यक्रमले ९ जिल्लालाई समेटेर प्रत्येक जिल्लामा एक सीएसबीको स्थापना गरेको थियो। नेपालमा सामुदायिक बीज बैंकहरूूमा पहिलो राष्ट्रिय कार्यशाला सन् २०१२जून १४-१५मा पोखरामा भएको थियो जसमा धेरै किसानहरू, सरोकारवालाहरू र प्रासंगिक संगठनहरूले सामुदायिक बीज बैंकहरूप्रति गहिरो चासो देखाएका थिए।
आधुनिक कृषि प्रणालीले निजी बीउ कम्पनीहरूमा कृषकको परनिर्भरता बढाइरहेको हालको अवस्थामा स्थानीय जैविक विविधता बढाउन र उच्च स्तरिय बीउमा किसानको पहुँच पुर्याउन सामुदायिक बीज बैंक भरपर्दो विकल्प हुन सक्छ। आधुनिक प्रजातिका बीउको कम अनुकूलन दर र अन्न बालिका कम बीज प्रतिस्थापन दर (लगभग ६% ) लाई मध्यय नजर गर्दै कृषि उत्पादन बढाउने उद्देश्यले नेपाल सरकारले आर्थिक वर्ष २०६५/६६ मा सामुदायिक बीज बैंक स्थापना गर्ने घोषणा गरेको थियो। नेपालमा ११५ वटा सीएसबी अवस्थित रहेपनि हाल भने ४६वटा मात्र सञ्चालनमा छन्। नेपालमा सामुदायिक बीज बैंकहरु स्थापना, संरक्षण र प्रवर्द्धनमा अनुसन्धान र विकासका अवधारणा बोकेका संस्थाहरुले सहयोग गरिरहेका छन्। लाईबर्डले १४ वटा सामुदायिक बीज बैंकहरु स्थापना सँगै सामुदायिक बीज बैंक सम्बन्धि पुस्तक प्रकाशन गरेर कृषकहरुमा जागरुकता बढाइ रहेको छ।किसानहरुको स्तरोन्नति गराउने हेतुले अक्सफ्याम नेपालले ९० वटा सामुदायिक बीज बैंक निर्माण गर्न सघाएको छ। नेपाल कृषि आनुवंशिक संसाधन केन्द्र (जीन बैंक, नार्क)ले सामुदायिक बीज बैंकका सदस्यहरुलाई सामुदायिक बीज बैंक व्यवस्थापन सम्बन्धि प्रशिक्षण दिँदै आइरहेको छ।
वर्तमान वर्षहरूमा, सामुदायिक बीज बैंकहरू महत्वपूर्ण स्थानीय संस्थाको रुपमा विकास भएका छन्। यसले स्थानीय बीउ प्रणालीलाई सुदृढ गर्न, संरक्षण गर्न र सानाधारक किसानहरूको जीविकाको उत्थान गर्न मद्दत गर्छ । सामुदायिक बीज बैंकहरूको कार्यहरू स्थानीय प्रजातिका बीज सुरक्षित गर्नु, गुणस्तरिय बीउ र विविध प्रजातिहरूको रोपण सामग्रीमा कृषकको पहुँच बढाउनु हो। यसै सँगै किसानहरूको अधिकार र खाद्य संप्रभुता बढाउन पनि सामुदायिक बीज बैंकले टेवा पुर्याउने देखिन्छ। सामुदायिक बीज बैंकहरूले परम्परागत र वैज्ञानिक ज्ञान र अभ्यासहरूलाई एकीकृत गर्छन् जसले गर्दा कृषि र जैविक विविधताको दिगो संरक्षण हुन्छ। प्रायः समुदायिक बीज बैंकहरूले स्थानीय बीजको संरक्षण, पुनर्परिचय, विनिमय र सुधारलाई प्राथमिकता दिन्छन् तर केहीले भने अनुसन्धान र विकास एजेन्सीहरूद्वारा उत्पादित उन्नत प्रजातिहरूका बीउ पनि उत्पादन र वितरण गर्छन् ।धेरै जस्ता सामुदायिक बीज बैंकहरू प्रमुख बालीको बीउ उत्पादन, सुधार र स्थानीय बीउ संरक्षण गर्नमा कार्यशील देखिन्छन् । कुनै पनि सामुदायिक बीज बैंकको मुख्य उद्देश्य भनेको स्थानीय स्तरमा खाद्य सुरक्षा सुनिश्चित गर्ने हो। दिगो मार्ग अङ्गालेको कुनै पनि सामुदायिक बीज बैंकले संरक्षणलाई मात्र प्राथमिकता नदिई उपभोगको माध्यमबाट संरक्षण गर्ने पद्धतिलाई अङ्गालेका हुन्छन्।
सामुदायिक बीज बैंक स्थानीय आनुवंशिक स्रोतहरू सहज तवरले संरक्षण र उपभोग गर्न स्थानीय स्तरमा स्थापना गरिएको र स्थानीयबाट नै सञ्चालन गरिएको आनुवंशिक स्रोत संरक्षण प्रणालि हो। सानाधारका कृषकको उत्पादन बढाउन र दिगो विकासको सिद्धान्तलाई कार्यान्वयन गर्न सामुदायिक बीज बैंकले ठूलो भुमिका खेल्छ। सामुदायिक बीज बैंकले दुर्लभ र लोपोन्मुख प्रजातिका बीउ संरक्षण र संवर्द्धन गरि जैविक विविधता कायम गर्छ। स्थानीय रुपमा गरिएकाले आवश्यक समयमा किसानहरुले सामुदायिक बीज बैंकमा रहेका रोपण सामाग्रीमा सहजै पहुँच पाउँछन् । सीएसबीले गतिशील संरक्षणको माध्यमबाट स्थानीय बीउको अनुकूलन क्षमता बढाउँछ। किसानहरुसँग स्थानीय र उन्नत जातका बीउको बारेमा जानकारी हुन्छ जसले गर्दा अनुकूलता अनुरुप बीउ छनोट गर्ने विकल्प कृषकहरुले पाउँछन्। सीएसबीले किसानहरुलाई स्थानीय स्तरमा उपलब्ध रोपण सामग्रीहरुको बारेमा जानकारी गराउँछ। उच्चस्तरिय प्रविधिको प्रयोग गरेर निर्माण गरिएको सीएसबीमा बीउको गुणस्तर कायम नै रहन्छ र स्थानीय कृषकहरुले बीउ सञ्चित गर्नु पर्दैन। सीएसबीलाई बीउ कम्पनीहरू र सहकारीलाई व्यावसायिक उत्पादनको लागि स्थानीय बीउ प्रदान गर्ने स्रोत केन्द्रको रुपमा विकास गर्न सकिन्छ। सीएसबीहरूको अनुगमन र मूल्याङ्कनले उचित बीज सूची विकास गर्ने जस्ता बीउका गतिविधिहरु सुधार गर्न मद्दत गर्दछ ।
सीएसबीले कृषि क्षेत्रको उत्थान र राष्ट्रको आर्थिक उन्नतिमा मद्दत पुर्याउने भएता पनि यसले उचित व्यवस्थापन प्राप्त गरेको छैन। सीएसबीले असक्षम नेतृत्व र दीर्घकालीन रणनीतिक योजना अभावले गर्दा हरेक वर्ष समस्याहरु खेप्नु परेको छ। सीएसबीले संरक्षण गरेका बीउ दर्ताका लागि उचित कानुनी प्रावधान नभएकाले किसानहरुले सास्ती भोग्नु परेको छ। सीएसबीको उत्थानका लागि सरकारले चासो नदेखाएकाले बजेटको कमी सामुदायिक बीज बैंकका लागि सधैं तगारो बन्दै आइरहेको छ। सामुदायिक बीज बैंक सञ्चालन प्रक्रिया र पद्धतिको जानकारी नभएकाले पनि कृषकहरू यस तर्फ आकर्षित हुन सकेका छैनन् ।स्थानीय किसानहरूले एउटै प्रजातिलाई विभिन्न नामहरू दिने र कहिलेकाँही दुई वा अधिक भिन्न प्रजातिलाई उस्तै नाम प्रयोग गर्ने गरेकाले सामुदायिक बीज बैंकमा नमुना सङ्कलनमा समस्या देखापर्ने गर्दछ। सामान्यतया, प्रोत्साहनको अभावका कारण सानाधारक किसानहरू स्थानीय प्रजातिलाई प्रयोग र संरक्षण गर्न उत्साहित देखिँदैनन् ।
सामुदायिक बीज बैंकहरूलाई यी चुनौतिहरु सम्बोधन गर्नका लागि एक दिगो र स्थिर योजनाको आवश्यकता छ। यसका लागि सीएसबीले क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय जीन बैंकसँग सहकार्य गर्नुपर्छ । सीएसबी स्थानीय संस्था हो तसर्थ यसको स्थापना र संवर्द्धनका लागि स्थानिय सरकारले नेतृत्व लिने र नीति कार्यान्वयन गर्ने हो भने सीएसबी सञ्चालनमा मद्दत पुग्छ। स्थानीय सरकारले यस क्षेत्रमा कार्यरत विभित्र राष्ट्रिय र अन्तराष्ट्रिय संस्थाहरुसँग समन्वय गरेर सीएसबी सञ्चालन प्रक्रिया र कृषि क्षेत्रमा यसका उपलब्धिहरु ग्रामीण कृषक समक्ष पुर्याउन सक्छ। सीएसबीको दिगो विकासका लागि , साना र उपेक्षित बालीहरूको पंजीकरण र तिनीहरूको बीज उत्पादन, अन्वेषण र समर्थन गर्न सकिन्छ। सीएसबीद्वारा उत्पादित बीज राष्ट्रिय बीज ब्यालेन्स शीटमा समावेश गर्ने हो भने अवश्य पनि सीएसबी मार्फत स्थानीय स्तरका किसानहरु लाभान्वित हुने थिए। सरकारले सीएसबीको स्थापना, संरक्षण र संवर्द्धनका लागि बजेट विनियोजन गर्ने हो भने जैविक विविधताले भरिपूर्ण हाम्रो देशको विविधता कायम नै रहनेछ। सरकार र जैविक विविधता संरक्षणमा खटिएका संस्थाहरुले सहकार्य गरेर जैविक विविधता प्रबन्धन गर्ने किसानलाई सम्मान गर्ने हो भने कृषकहरुलाई सीएसबी तर्फ आकर्षित गर्न सकिन्छ । सरकारले कृषि जैविक विविधता संरक्षणका लागि क्षेत्रहरूको पहिचान गर्ने र सामुदायिक बीज बैंक स्थापना गर्ने हो भने देशव्यापी रुपमा सामुदायिक बीज बैंकको सङ्ख्या बडाउन सकिन्छ । राष्ट्रिय स्तरमा नै समुदायिक बीज बैंकको न्यूनतम मापदण्ड परिभाषित र वर्गीकरण गर्ने हो भने सामुदायिक बीज बैंकहरूको दर्ता, नवीकरण र अनुगमनमा सहजता देखिन सक्छ । कृषि मन्त्रालयले स्थानीय बीउ दर्ता प्रक्रिया र दिशानिर्देशनलाई सरल बनाउनुपर्छ जसले गर्दा स्थानीय बीउ दर्ता गर्न कृषकहरु प्रोत्साहित हुन्छन् ।
सामुदायिक बीज बैंकहरूले बीज संरक्षणको क्षेत्रमा मात्र नभई समान रूपमा खाद्य सुरक्षा सुनिश्चितता, कृषकको जीवनस्तरोन्नति र स्थानीय स्तरमा रोजगार प्रदानमा गर्न पनि योगदान पुर्याउँछ। यो गुणस्तरीय कृषि आनुवंशिक स्रोतहरूको संरक्षण र दिगो उपयोगको लागि उपयुक्त प्रणाली हो। प्राकृतिक प्रकोप वा महामारीको समयमा स्थानीय स्तरमा खाद्य संकट निवारणमा सामुदायिक बीज बैंकको ठूलो भूमिका रहन्छ ।सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था, कृषक र सरोकारवालाहरु समन्वय गरेर सीएसबीको उत्थानमा लाग्ने हो भने दिगो कृषि विकास, किसानको स्तरोन्नति र राष्ट्रको आर्थिक उन्नति सम्भव छ।