
नेपाल एक कृषि प्रधान देश हो । नेपालमा धेरै जसो खेती निर्वाहमुखी हुन्छ । यो परम्परागत हिसाबले नै चली आएको हो । यसै कारण नेपालका करिब ६५% मानिसहरु कृषि पेसामा आबद्ध भएपनि कृषिजन्य वस्तुको उत्पादन भने सिमित मात्रामा भइरहेको पाइन्छ । कृषि विकास मन्त्रालयबाट प्रकाशित वार्षिक प्रतिवेदनमा पनि प्रष्ट देखिन्छ कि कुल क्षेत्रफलको करिब ३०९१ हजार हेक्टर जमिनमा गरिएको परम्परागत उत्पादन प्रणालीबाट उत्पादित कृषिको उत्पादन दिनप्रतिदिन घट्दै गएको छ । अर्कोतिर केन्द्रीय तथ्याङ्क विभागले भने जनसंख्या बृदिदर कायमै रहेको देखाएको छ । कृषिजन्य वस्तुमा हाम्रो देश परनिर्भर हुँदै आएको छ ।
कृषि उत्पादन बढाएर देशलाई आत्मनिर्भर बनाउनु नै कृषि क्षेत्रको मुख्य लक्ष्य रहेको छ । कृषि उत्पादन बढाउनका लागि विभिन्न उपायहरु अपनाउन सकिन्छ । जस्तै : खेतीयोग्य जमिनको वृद्धि गर्ने , सिमान्त जमिनमा मात्र पशुपालन गर्ने , आधुनिक प्रबिधि र उपकरणहरुको प्रयोग गर्ने, किसानहरुलाई आवश्यक बीउ, मल, किटनाशक र अन्य सामाग्रीहरु समयमा उपलब्ध गराउने आदि । बढ्दो सहरीकरण र उध्योगीकरणका कारण खेतीयोग्य जमिन घट्दै गइरहेको छ । त्यसैले उत्पादन बढाउनको लागि उत्पादकत्व बढाउनु आवश्यक छ । उत्पादकत्व बढाउने एउटा मुख्य उपाय भनेको उन्नत बीउको प्रयोग गर्नु हो ।
उन्नत बीउको प्रयोगले थोरै जमिनमा नै धेरै उत्पादन गर्न सकिन्छ । व्यवसायीक रुपमा खेती गर्ने कृषकले स्थानीय जातको तुलनामा उन्नत जातको बीउबाट राम्रो उत्पादन लिन सक्छन् । स्थानीय जातको बीउ प्रयोग गर्दा वर्षमा एक पटक मात्र उत्पादन लिन सकिन्छ भने उन्नत जातको बीउ प्रयोग गर्दा एक वर्षमा धेरै पटक र लामो समयसम्म उत्पादन लिन सकिन्छ । उन्नत गुणस्तरयुक्त बिउको प्रयोगबाट उत्पादनमा ३०-४० प्रतिशत वृद्धि ल्याउन सकिन्छ । उन्नत जातका बीउहरु प्राय जसो विभिन्न रोग , खडेरी र अन्य किटहरु प्रतिरोधी पनि हुन्छन् । प्रायः उन्नत बीउमा बेजात , अन्य बाली तथा झारपात आदिको मात्रा पनि न्युनतम हुने हुनाले झारपात र अन्य बाली उखेल्न लाग्ने श्रम तथा खर्च कम हुन जान्छ ।
कृषि अनुसन्धान र आवश्यक परीक्षणका आधारमा नयां उन्नत जातको बीउको विकास तथा प्रादुर्भाव हुन्छ । विभिन्न तरिकाहरुबाट प्रजनन्कर्ताले प्रजनन् बीउ उत्पादन गर्दछन् । प्रजनन्कर्ताहरुले प्रजनन् गरेका बीउका जातीय गुणहरु तथा अन्य मुलभुत कुराहरुको जानकारी उपलब्ध गराउन्छन् । हाम्रो नेपालको सन्दर्भमा प्रजनन् गरेको बीउलाई समन्वयात्मक बाली बिकास कार्यक्रमहरुले विभिन्न वतावरणमा जातीय परीक्षण गरी उत्पादन क्षमता, रोग, कीरा नलाग्ने क्षमता, मलखादको प्रयोग गर्ने क्षमता, स्थानिय वातावरण सुहाउंदो, कृषकहरुले रुचाउने आदि सबै तथ्यहरुको नतीजा प्राप्त गर्दछन् । उक्त प्राप्त परीक्षण नतीजा सहित जातिय सिफारिस कमिटीमा सिफारिसका लागि सम्बन्धीत प्रजनन्कर्ता वा संस्थाले पेश गर्ने गर्दछ । जातिय सिफारिस कमिटीले उक्त जातको बीउ सिफारिस योग्य भए सिफारिस गर्दछ । तत् पश्चात कृषकहरुबाट उक्त जातको बीउको माग भएमा श्रोत बीउ उपलब्ध गरी बीउ बृद्धि कार्यक्रमको क्रम शुरु गर्दछ ।
नेपाली किसानहरु पनि बिस्तारै स्थानीय बीउ भन्दा उन्नत बिउको प्रयोग गर्दै छन् । तर विभिन्न समस्याहरुका कारण उन्नत बीउको प्रयोग राम्रोसँग सबै कृषकहरुले गर्न सकेका छैनन् । आफ्नो देशमा नै उत्पादन भइरहँदा पनि उन्नत बीउको माग भने पुरा हुनसकेको छैन । यसकारण छिमेकी देशहरूबाट बीउ भित्र्याउने गरिन्छ । नाकामा विदेशबाट आएको बीउहरुको गुणस्तर राम्रो संग चेक हुँदैन । यस्तो बीउको प्रयोगले किसानले धेरै धोका खानु परिरहेको छ । उन्नतको नाममा गुणस्तरहिन बीउले गर्दा उत्पादन धोस्त हुने कुरा हामीमा अवगत नै छ । अर्को ठुलो समस्या भनेको समयमा बीउ नपाउने हो । किसानहरुले समयमा बीउ नपाएको कारण नै खेतमा उत्पादन कम हुँदै आएको छ ।
यो समस्याहरुलाई न्युनीकरण गर्न नेपाल सरकारले किसानको आवश्यकता अनुसार उन्नत बीउको उत्पादन बढाउन विभिन्न कार्यक्रमहरु सन्चालन गर्नु पर्ने हुन्छ । उत्पादनलाई मात्र नभएर येस्को वितरणमा नि विशेष रुपमा ध्यान दिनु पर्छ । सरकारले अनुदानको रूपमा उन्नत बीउको वितरण समयमा गर्नुपर्छ । नाकामा आउने सबै बीउहरुको गुणस्तरहरुको चेकजाँचको लागि क्वारेन्टाइनको व्यवस्था हुनु पर्दछ ।