
स्याङ्जा। स्याङ्जा चापाकोटका किसानहरु केराखेतीमा आकर्षित भएका छन् । केराको माग धेरै भएको र आम्दानी पनि राम्रो हुने भएकाले किसानहरु केराखेतीमा लागेका हुन् । उपभोक्ताको माग अनुसार अहिले केरा बाहिरबाट आयात भैरहेको अबस्थालाई मध्येनजर गरेर किसानहरुले केराखेतीको थालनी गरेका हुन् । स्थानीय गोपालप्रसाद घिमिरे, मोहनीलाल घर्ती, गङ्गाधर ज्ञवाली र भूपराज जिटी गरी चारजनाको साझेदारीमा केराखेती गरिएको हो ।
उनिहरुले १५ रोपनी जग्गा भाडामा लिएर १ हजार ५ सय ११ बोट केरा लगाएका छन् । सामाजिक सञ्जालको सहायतामा केराखेतीको थालनी गरेका किसानहरुले कुनै औपचारिक तालिम लिएका छैनन् । अहिले केरा लगाइएको १५ रोपनी जग्गा वार्षिक ५० हजार भाडामा लिएका हुन् । वर्षमा एकखेति मात्रै गरिँदै आएको र केहि यसै खाली रहेको जग्गालाई उपयोग गरी केराखेती गरिएको हो । सामान्यतया १४ देखि १८ महिनामा फलदिन थाल्ने केरा ६ सात महिनामै पसाउन थालेपछि किसानहरुलाई थप उत्साही बनाएको छ । आगामी वर्ष अरु चालिस रोपनी जग्गा लिएर बिस्तार गर्ने उनिहरुको योजना छ ।
गोडमेलका लागि हाते ट्रेक्टरको प्रयोग गरेका यी किसानहरुले थोपा सिंचाइको माध्यमबाट पानीको व्यवस्थापन गरेका छन् ।
अहिले ६ लाख पचास हजार नगद र काम गरेको समेत गर्दा दशलाख जति लगानी भएको उनिहरुले बताएका छन् । पहिलो वर्षको उत्पादनले लगानी उठाउन सकिन्छ र अर्को वर्षदेखि मुनाफामा जाने उनिहरुको विश्वास छ । यहाँ लगाईएको टिस्यु कल्चरबाट उत्पादित ग्रेड नाइन केराका बिरुवा भारतबाट ल्याइएको हो ।
परम्परागत खेति प्रणालीबाट माथि उठेर कृषिलाई नगदमा परिणत गर्ने उद्देश्यले २०७५ देखि मौरीपालन गर्दै आएका यी किसानहरुले २०७७ वैशाखदेखि केराखेतीको थालनी गरेका हुन् भने भविष्यमा पशुपालनलाई पनि जोड्ने सोंचमा छन् ।
कृषि व्यवसायी बनेर आम्दानी लिन सकिन्छ भन्ने चेतना नभएकाले युवाहरुमा कृषिमा आकर्षण नदेखिएको हो । सरकारले सहुलियतका लागि अनुदान, कर्जा र तालिमको व्यवस्था गरिदिने हो भने युवाहरुमा चेतना आउने उनिहरुको भनाई छ ।
कृषिबाट उत्पादन भएका चीज दैनिक उपभोगमा पर्छ, त्यसकारण पनि कृषि गर्न जरुरी छ र यसको भविष्य पनि राम्रो छ । किनकी दैनिक उपभोगका लागि आवस्यक सामान बाहिरबाट ल्याउन परिरहेको अवस्था छ, यस कारण पनि यहीँ उत्पादनमा लाग्नसक्यो भने धेरै राम्रो हुने उनिहरुको धारणा छ ।
बिना तालिम सुरु गर्दा केहि अप्ठ्यारोको महसुस भएकाले आफूले गर्न चाहेको व्यवसाय सम्बन्धी तालिम लिएर गर्न उनिहरुको सुझाव छ ।
अहिले चारजना आफैं खटेर काम गरिएको छ । यहाँ सुरु गरेपछि छिमेकिहरुमा पनि केराखेति गर्नुपर्दोरहेछ भन्ने राम्रो प्रभाव परेको छ र धेरैले केरा लगाउने तयारीमा छन् ।