देशमा भएका विभिन्न राजनितिक परिवर्तन सँगै देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेकोे समस्त कृषि क्षेत्रको बिकास नै देश बिकासको मुख्य आधार हो, भन्ने कुरालाई मनन गर्दै कृषि क्षेत्रमा उत्साहजनक कार्यक्रमहरु नआएका होईनन् तर कृषि क्षेत्रले सोचेजस्तो छलाङ मार्न भने सकेन । नेपालमा खेती गरिने विभिन्न खाद्यबाली ,तरकारी ,नगदेबाली लागाएत सम्पुर्ण कृषि जन्य उपजको उत्पादन अन्य देशको तुलनामा र नेपालकै उत्पादन क्षमताको तुलनामा निकै कम भएको पाइन्छ । नेपालमा मुख्य खाद्यबाली को रुपमा खेती गरिने धान कुल उत्पादन क्षमता भन्दा आधा मात्रै उत्पादन गर्न सकिएको छ , चिनमा ६.५ टन प्रति हेक्टर,जापानमा ६.५४ टन प्रतिहेक्टर ,अमेरिकामा ६.९४ टन प्रतिहेक्टर र भियतनाममा ४.३ टन प्रतिहेक्टर धान उत्पादन भैरहदा नेपालमा ३.५ टन प्रतिहेक्टर मात्रै धान उत्पादन हुन्छ जबकि नेपालमा औसत ६.५ टन प्रतिहेक्टर धान उत्पादन गर्न सकिने कुरा विभिन्न अध्ययनले देखाएको छ ।

उत्पादन वृद्धिको तथ्यगत आधार : बर्तमान अवस्थामा नेपालका कृषकहरुले सरदर धानमा ३.५ टन प्रतिहेक्टर उत्पादन गर्दै आएकोमा त्यसबाट रु २२,००० भन्दा कम मुनाफा लिइरहेका छन ।सिसा परियोजना २०७४ अन्तर्गत तराइका विभिन्न १०५२ घरधुरीमा गरिएको सर्बेक्षण अनुसार धानमा ६.५ टन प्रतिहेक्टर भन्दा बढी उत्पादन र रु ६०,००० भन्दा बढी मुनाफा लिन सकिने देखिएको छ ।त्यसकारण पनि धानमा ३ टन प्रतिहेक्टर बढी उत्पादन र रु ४०,००० भन्दा बढी मुनाफा सजिलै बढाउन सिकिन्छ । हाल नेपालमा २७ अर्ब बराबरको चामल वार्षिक रुपमा भारतबाट आयत गरिन्छ त्यस्तै १५% धानको बीउ भारतबाट नै आयत हुन्छ । यस्तो अवस्थामा हामीले २५ के .जि प्रति कट्ठा मात्रै उत्पादनमा वृद्धि गर्ने हो भने धानमा आत्मनिर्भर बनेर धानको आयतलाई रोक्न सकिन्छ ।तराईमा गरिएका विभिन्न अनुसन्धानबाट बिउको उन्नत जात ,SRI र अन्य प्रविधिको प्रयोग गरेर नेपालमा १०० के जि प्रती कट्ठा धान उत्पादन सजिलै बढाउन सकिने देखिएको छ ।यसर्थ पनि आम किसानबर्ग माझ आधुनिक धान खेती प्रविधि पुर्याउने हो भने उत्पादकत्व वृद्धि गरि देशलाई आत्मनिर्भर बनाउने र गरिबी उन्मुलन गर्ने राम्रो अवसर बन्न सक्छ ।

नेपालमा धानको कम उत्पादकत्व किन ?

बिगत आधा सताब्दी भन्दा धेरै बर्ष पहिला देखि नेपालमा भैरहेका कृषि बिकासका प्रयासहरुमा पनि धानलाई मुख्य प्राथमिकतामा राखिएको छ ।धानबाली मा सबैभन्दा धेरै अनुसन्धान भएको र विभिन्न बर्षहरुमा सबैभन्दा धेरै धानका जातहरु उन्मोचन भएको पाइन्छ तर बिगत १५ बर्षलाई हेर्ने हो भने धानको उत्पादकत्व २.७६५ टन प्रतिहेक्टर बाट बढेर जम्मा ३.५ टन प्रतिहेक्टर मात्रै पुग्न सकेको छ । पछिल्लो १५ बर्षमा बढ्दो रासायनिक मलको प्रयोग ,सिंचाइ सुबिधामा वृद्धि ,बाली संरक्षणका लागि विविध प्रविधिको प्रयोग ,उन्नत जातको बीउ हुदाहुदै पनि उत्पादनमा चाहतित रुपमा वृद्धि हुन नसक्नुको एउटा कारण प्राबिधिक ज्ञानको कमि भएको कुरालाई नकार्न सकिँदैन ।

पेसागत रुपमा भन्ने हो भने कृषि मन्त्रालय आम किसान बर्गको अभिभावक हो ।नया उन्नत जातका बिउहरु र बैज्ञानिक खेती प्रबिधि खास किसान माझ पुर्याउने र उचित बजार ब्यबस्थापन गर्ने गराउने काम मन्त्रालय र यसका संरचनागत अङ्गहरुको हो । तर विभिन्न तथ्यहरुलाई गहिरिएर विश्लेषण गर्ने हो भने मन्त्रालय र यसका संरचनाले किसानलाई न्याय दिन नसकेको पाइन्छ।जब किसानलाई उन्नत बीउ ,मल र बजार चाहिन्छ मन्त्रालय हराउँछ त्यस्तै जब मन्त्रालयले किसान लक्षित विभिन्न प्राविधिमुलक र अनुदानका कार्यक्रमहरु लग्छ ती कार्यक्रम खास किसान सम्म पुग्न पनि पाउदैनन,बिचौलिया र किसानको खोल ओढेर राजनीति गर्ने नक्कली किसान सम्म पुगेर हराउछन् ।कति किसानलाई त त्यस्ता कार्यक्रम बारे सामान्य जानकारी समेत हुदैन । सरकार र किसान बिचको दुरि पनि नेपालमा धानको उत्पादन कम हुनुको अर्को कारण हो ।

त्यसकारण नेपालमा धानको उत्पादन बढाउन सरकारले नयाँ खेती पद्धति र प्रविधिहरुलाई परिस्कृत गर्दै आम किसान माझ पुर्याउनु
आवश्यक छ । नेपालमा धानको उत्पादन वृद्धि गर्न र यसबाट धेरै मुनाफा लिनको लागि थोरै लगानी र आफ्नै स्थानीय स्रोत र साधनको भरमा बढी उत्पादन लिन सकिने बैज्ञानिक धान खेती प्रविधि एस.आर.आई (system of Rice Intensification ) को प्रयोग गर्न सकिन्छ ।भारत ,चिन ,श्रीलंका ,थाइल्याण्ड,भियतनाम , बङ्गलादेश जस्ता मुलुकमा निकै प्रभावकारी एवम् लोकप्रिय भएको र यो प्रविधिबाट दोब्बर भन्दा धेरै उत्पादन भएको पाइएको छ ।

नेपालमा पनि यो पद्धति राम्रोसँग अवलम्बन गर्ने हो भने नेपालको कुल उत्पादन क्षेमता अनुसारको धान सजिलै उत्पादन गर्न सकिने राम्रो मुनाफा लिन सकिने कुरा अनुसन्धानहरुले देखाएको तथ्यलाई आधार मान्दै नेपाली किसानबर्ग लगाएत सम्पुर्ण सरोकारवालामा (SRI )धान खेती प्रविधिबारे जानकारी पुगोस् भन्ने हेतुले यहाँ चर्चा गरिएको छ।

SRI को परिचय र खेती गर्ने तरिका :
८-१२ दिनको कलिलो बेर्ना दुबैतर्फ( बोट देखि बोट तथा लाईन देखि लाईन ) २५-३० से .मि फरकमा एउटा एउटा बेर्ना रोपेर, गोबर मल वा कम्पोस्ट मलको प्रयोग तथा कम पानी लगाएर धान खेती गरिने प्रविधि SRI प्रविधि हो। यसरी खेती गर्दा थोरै बीउ र कम लागानी बाट बढी उत्पादन लिन सकिन्छ । SRI खेती को तरिका बारे तल चर्चा गरिएको छ :

१.कलिलो बेर्ना रोप्ने: यो तरिकाबाट खेती गर्दा सामान्यतया ८-१२ दिनको अथवा दुई पात एक सुइरो हुदा धानको बेर्ना सारिन्छ।धानको बेर्नाले गाज हाल्ने क्षेमता ४ दिनदेखि बिस्तारै बढदै गएर ८-१० दिनमा सबैभन्दा बढी हुने र २१ दिनको हुदा निकै कम भैसकेको हुन्छ । त्यसकारण SRI तरिकामा धानको बेर्ना कलिलै अवस्थामा सारिन्छ र रोपेको ठाउमा १००-१३० सम्म सरा आएको पाइन्छ । कलिलो बेर्ना सार्दा आधा घन्टा भित्र बेर्ना सुक्न नापाई सार्नु उचित हुन्छ ।

२.एक ठाउमा एउटा मात्र बेर्ना रोप्ने: एक ठाउँमा एउटा मात्र बेर्ना रोप्नाले जरा चारैतिर फैलन पाउने हुँदा बिरुवा राम्रोसँग जमिनमा अडिन्छ प्रतिकुल परिस्थितिमा पनि ढलेर नष्ट हुनबाट बच्छ र राम्रोसँग गाँज हाल्न पाउँछ , रोग र किराको प्रकोप पनि कम हुन्छ।यसरी खेती गर्दा ५० देखि ७० केजी बीउ लाग्ने ठाउँमा ५ -७ केजी बिऊ मात्रै भए पुग्छ ।

३. टाढा-टाढा बेर्ना रोप्ने: सामान्यतया हामीले धान रोप्दा ७-१० वटा बेर्ना एकै ठाउँ वा नजिक नजिक रोप्छौ तर यो तरिकबाट धान रोप्दा एउटा एउटा बेर्ना टाढा टाढा रोप्ने गरिन्छ ।यो तरिकाबाट धान रोप्दा २५ सेन्टिमिटर को दुरिमा एक एक वटा बेर्ना रोपिन्छ तर जात , ठाउँ ,माटोको उर्वर शक्तिको आधारमा दुरि घाटाउन बढाउन सकिन्छ ।छोटो अबधिमा (९०-११०) दिनमा पाक्ने धानको जातलाई २० से.मि मध्यम अबधिमा (१२०-१४०) दिनमा पाक्नेलाई २५से.मि र लामो अबधिमा (१४० भन्दा बढी ) दिनमा पाक्ने  मन्सुली तथा राधा-१२ जस्ता जातलाई ३० से.मि को दुरिमा लगाउन सकिन्छ ।

४.कम पानी लगाउने : परम्परागत रुपमा धान खेती गर्दा रोपे देखि पाक्ने बेला सम्म लगातार रुपमा धानमा पानी लगाइन्छ तर यो तरिकाले खेती गर्दा धान खेतमा चिस्यान रहने तर पानी नजम्ने तरिकाले पानीको व्यवस्थापन गरिन्छ ,यसो गर्दा विभिन्न किरा तथा रोगको प्रकोप कम हुने पाइएको छ । तर धान पसाउने बेलामा प्रशस्त पानी लगाउनुपर्छ ।त्यस्तै सुरुमा २-३ पटक सम्म माटो फुट्ने गरि पानी सुकाउन सिफारिस गरिन्छ जसकारण जराको राम्रोसँग बिकास हुने र फैलन पाउने हुदा खाद्यतत्व सोसेर लिन पाउछ र धानको वृद्धि राम्रो हुन्छ ।

५.मल व्यवस्थापन : यो तरिकाबाट खेती गर्दा गोबर र कम्पोस्ट मलको प्रयोगमा जोड दिइन्छ ।रासायनिक मलको प्रयोग गर्दा किसानले नाइट्रोजन र फस्फोरस को बढी प्रयोग गर्ने हुदा बिरुवाले सन्तुलित खाद्यतत्व पाउदैन र रोग र किराले बढी सताउने पनि पाइएको छ , तर गोबर मल र कम्पोस्ट मल बाट बिरुवाले सबै तत्व पाउने हुदा प्राङ्गारिक मलको प्रयोग मा जोद दिइन्छ । र रोप्ने जमिन तयार गर्दा झारपात लाई राम्रोसँग हिलोमा मिसाएर २-३ दिन सम्म कुहिन दिने हो भने पछि झारको प्रकोप कम हुने र त्यसले माटो मा कुहिएर मलको काम गर्छ। अन्य देशमा धानखेती बाट धानमात्र लिने र धानको पराल त्यही खेतमै छोड्ने गरिन्छ यसो गर्दा माटो बाट लिएको तत्व माटो मै फर्कन्छ र माटो खुकुलो र मलिलो हुन्छ ,पराल अन्य प्रयोजनको लागि प्रयोग गरेपनि वनस्पतिको पात तथा सोत्तर को प्रयोग गर्नुपर्छ ।गोबर मल प्रसस्त नहुने ठाउँमा रासायनिक मल र गोबर तथा कम्पोस्ट मलको सन्तुलित प्रयोग गर्न सकिन्छ ।

६. झारपात व्यवस्थापन :  SRI तरिकाबाट धानरोप्दा फराक दुरिमा रोपिने हुदा र कम पानी लागाइने हुदा सुरुमा खेतमा झार आउन सक्छ,त्यसकारण रोपेको सुरुको महिनामा झार गोडमेल तथा व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ ।एक महिना पछी एउटा बेर्ना बाट २५-३० सरा आउने हुन्छ , धानले गाज हालिसकेपछी त्यति झारको प्रकोप हुदैन ।यो तरिका बाट खेती गर्दा २-३ पटक गरेको गोडमेलबाट राम्रो उत्पादन लिन सकिन्छ ।

७.रोगकिरा व्यवस्थापन : यो तरिकाबाट खेती गर्दा रोग किराको समस्या त्यति देखिएको छैन । तथापि धानको बिउबाट धेरै रोग सर्ने
हुदा उपचारको लागि एक के जि प्रति बिउमा २-३ ग्राम बेभिस्टिन नामक विषादी संग उपचार गरेमा पछि आउने रोग तथा किराबाट वचन सकिन्छ । यदि रोग र किराको प्रकोप देखिएमा पहिचान गरि विभिन्न तरिकाले उचित उपचार गर्नुपर्छ । यसरी एस.आर.आई पद्धति बाट धान खेती गर्ने हो भने हाल उत्पादन भैरहेको भन्दा दोब्बर बढीले उत्पादनमा वृद्धि गर्न सकिन्छ। SRI तरिकाबाट धान खेती गर्ने भारतका किसानहरुले १० टन प्रती हेक्टर उत्पादन गरेका छन र चीन र मेडागासकर मा भएका परिक्षणमा २० टन प्रति हेक्टर सम्म उत्पादन गर्न सकिने देखिएको छ।नेपाली किसानले कहिले रासायनिक मलको अभाव, कहिले सिंचाइको अभाव त कहिले रोग र किराको प्रकोपले कम उत्पादन र कम मुनाफा तथा उत्पादन घाटा बेहोर्नु परेको अवस्थामा रोग र किराको बढी प्रकोप नहुने ,कम पानी र प्राङ्गारिक मलको प्रयोगबाट पनि धेरै उत्पादन लिन सकिने बैज्ञानिक धान खेती पद्धति एस.आर.आई. (system of Rice intensification) लाई नेपालमा पनि परिस्कृत गरि अवलम्बन गर्ने कि ?