सिताके च्याउ (Lentinula edodes) बर्खा मौसममा मध्यपहाडी जिल्लाहरुमा जङगलमा पाईने च्याउ हो।नेपालिमा यसलाई कतै कतै मृगे च्याउ पनि भनिन्छ। सिताके च्याउको खेती नेपालमा सर्वप्रथम 1981 मा नेपाल कृषि अनुसन्धान परिषद (NARC) मा भएको थियो।

विश्वमा सर्वप्रथम सिताके च्याउको खेती चिनमा भएको थियो। उत्पादनका हिसाबले चीन सिताके खेती गर्ने देशहरुमध्ये पहिलो नम्बरमा पर्दछ भने जापान, कोरिया, मलेसिया, ताईवान पनि सिताके च्याउ खेतिका लागि प्रशिद्द देशहरु हुन। विश्वमा गोब्रे च्याउ पछि सबैभन्दा बढी खेती गरिने च्याउमा सिताके च्याउ पर्दछ।  यसमा प्रशस्त मात्रामा औसधिय गुणहरु पाईने भएकोले पनि यो च्याउ स्वास्थको दृष्टिकोणलले महत्त्वपूर्ण मानिन्छ। रोगप्रतिरोध क्षमता बढाउने र क्यान्सर, एड्स जस्ता रोगिहरुका लागि पनि यो च्याउको सेवन महत्वपुर्ण रहेको अनुसन्धानले बताएका छन।

सिताके च्याउ खेती गर्ने तरिका :

सिताके च्याउ दुई तरिका बाट गर्न सकिन्छ :

क) प्लास्टिक ब्यागको प्रयोग गरेर (Bag cultivation) :

यो तरिकाबाट खेती गर्न काठको धुलोलाई १८ घन्टासम्म पानीमा भिजाउनु पर्दछ त्यसपछि धान अथवा गहुँको ढुटोसङ मिसाएर ६५% सम्म चिस्यान कायम राख्नुपर्दछ। यति गरिसकेपछी काठको धुलोलाई उच्च घनत्वको प्लास्टिक (High density plastic) मा भरेर निर्मलिकरणको लागि autoclave मा राख्नुपर्दछ। निर्मलिकरण गरिसकेपछी बीउ राखेर अर्को छुट्टै सफा अध्यारो कोठामा लगेर राख्नुपर्दछ। राखेको ३-४ महिना पछाडी हलुका सेतो ढुसी उम्रन सुरु गरेपछी प्लास्टिक खोलिदिनु पर्द्छ। प्लास्टिक खोलेको एक हप्तापछी ससना टुसाहरु उम्रन सुरु गर्दछ्न र त्यसको एक हप्तापछी च्याउ टिप्न तयारी हुन्छ।

ख) मुढामा खेती (Log cultivation ) :

१.) मुढाको छनौट र तयारी (Selection of log and it’s preparation) :

सिताके च्याउको खेती उत्तिस, लाकुरे, ओखर, कटुसजस्ता रुखका मुढाहरुमा गरिन्छ। मुढाहरु कटान गर्दा ५-१० बर्षका मुढाहरु उपयुक्त मानिन्छ। १५-२० से.मि. ब्यास भएका मुढाहरु मङ्सिर – पुष महिनामा कटान गरिन्छ। जाडो महिनामा बिरुवाले कार्बोहाईड्रेट सन्चय गरेर राख्ने भएकाले यो महिनामा मुढाहरु संकलन गर्नु उपयुक्त मानिन्छ। संकलन गरेका मुढाहरुलाई ३-४ हप्ता छायामा परालले छोपेर सुकाउनु पर्दछ। सुकाएको काठमा ४०-५०% चिस्यान कायम भएको हुनुपर्दछ। चिस्यान बढी भएमा काठ चाडै सड्ने र कम भएमा च्याउ राम्रोसँग नउ िम्रने समस्या देखा पर्दछ।

२.) काठको मुढामा प्वाल पार्ने तरिका (Methods of drilling hole in log) :

काठको मुढामा प्वाल पार्दा प्वालको गोलाई १ से.मि. र गहिराई २ से.मि हुनु जरुरी छ। काठको मुढामा प्वाल पार्दा एक प्वालबाट अर्को प्वालबिचको दुरि १० से.मि र काटेको भागबाट ५ से.मि भाग छोड्नुपर्दछ। यदि गोलाई ठूलो भएको मुढा भएमा प्वालको संख्या आवस्यकता अनुसार बढाउन पनि सकिन्छ। एउटा लाईनमा प्वाल पारी सकेपछि ३ से.मि छोडेर अर्को लाइनमा प्वालहरु पार्नु पर्दछ।

३.) काठको मुढामा बीउ रोप्ने तरिका (Methods of Spawing) :

सामन्यतया सिताकेको लागि काठको धुलोमा तयार पारिएको बीउ (Sawdust spawn) र काठ्को टुक्रामा तयार पारिएको बीउ (Plug spawn) गरि दुई प्रकारका बिउहरु प्रयोग गरेको पाईन्छ। काठको धुलोमा तयार पारिएको बिउलाई बुढी औलाजत्रो एक टुक्रा बीउ लिएर मुढाको प्वालमा राखेर बिस्तारै भित्र पठाउनु पर्दछ र सबै प्वाल भरिसकेपछी मैनको झोलले प्वाल टाल्नु पर्दछ। काठको टुक्रामा तयार पारिएको बीउ छ भने मुढामा भएको प्वालमा काठको टुक्रा सिधै राखेर वरिपरिबाट मैन लगाउन पनि सकिन्छ ।

४.) मुढाको हेरचाह (Caring of Log) :

बीउ रोपिसकेपछिको काठको मुढाहरु एउटा सफा ठाउँमा राख्न जरुरी छ जुन ठाउँलाई  “Laying yard” पनि भनिन्छ। मुढालाई घाम नलाग्ने छहारिमा १ महिनासम्म तेर्सो पारेर चाङ लगाएर राख्नु पर्दछ। एक महिनापछी एकपछी अर्को तह बनाएर मुढाले भुइँ नछुने गरि सबैभन्दा तल काठ अथवा ढुङ्गा मिलाएर राख्नु पर्दछ। मुढाको चिस्यान ३५-४०% राख्नको लागि प्रत्येक दिन आवस्यकता अनुसार पानी हाली राख्नु पर्दछ। यसरी राखिएको मुढालाई प्रत्येक महिना माथिको तल र तलको माथी गरि ८-१० महिनासम्म राख्नु पर्दछ।

मुढाहरुमा राम्ररी ढुसी पलाउन थालेपछी मुढाहरुलाई च्याउ पलाउने छाप्रो (Raising room) मा लगेर राख्नुपर्दछ तर यसबेला भने मुढाहरुलाई तेर्सो नपारी ठाडो बनाएर राख्नुपर्दछ। ढुसी पलाएको मुढालाई चिसो पानी छर्किने अथवा १२-१४ घन्टासम्म पानीमा भिजाएर raising room मा लगेर राखिन्छ जसलाई “Forcing in shitake cultivation” पनि भनिन्छ। फोर्सिङ गरेको केही दिनपछी मुढाहरुमा सानो सानो च्याउका टुसाहरु उम्रन थाल्दछन जसलाई Primordia भनिन्छ।यसको एक हप्तापछी च्याउ टिप्न तयार हुन्छ। एउटा मुढामा एक बर्षमा ३-४ पटकसम्म च्याउ फल्दछ। एक पटक च्याउ टिपि सकेपछी आवश्यकता अनुसार मुढामा पानी दिनुपर्दछ।

ओखर, उत्तिस, कटुसजस्ता रुखहरु स्थानिय स्तरमा नै सजिलै पाउन सकिने रुखहरु हुन। काठको छनौट, काठको तयारी, उपयुक्त रोपाई र मुढाको हेरचाह मिलाएर गरेमा सिताके खेती सहजै गर्न सकिन्छ। केही जङ्गलहरुमा बर्षायाममा सिताके पाइए पनि ब्यवसायिक रुपमा नै  यसको खेती गर्न सके आर्थिक जिवनस्तर  सहजै उकास्न सकिन्छ।

लेखक : धर्मराज कटुवाल