बाजुरा । बाजुरा सामान आयात हुने तर यहाँको उत्पादन निर्यात भने न्यून हुने जिल्लामा पर्छ । जिल्लाका उत्पादन कुनै बजारसँग नजोडिएको र अरुको उत्पादन मात्र उपयोग गर्ने परिचय बाजुराको हो । तर विगत एक वर्षयता त्यो परिचय फेरिएको छ । बाजुराले पनि उत्पादन गर्न सक्छ र उत्पादित वस्तु निर्यात पनि गर्छ भन्ने देखिएको छ ।
७०० क्विन्टल स्याउ जिल्ला बाहिर विक्री गरेको बाजुराले १ हजार क्विन्टल आलु पनि जिल्ला बाहिर नै पठाएर आफ्नो बजार क्षेत्रलाई विस्तार गरिसकेको छ । जिल्लामै उत्पादन भएको कागती काठमाडौंका बजारमा विक्री गर्न थालिएको छ ।

किसानले आफैं बजारसँग जोडिन नसक्ने र शुरुमा जानकारी नहुने भएपछि कृषि ज्ञान केन्द्रले त्यसको सहजीकरण गरिरहेको छ ।अनुदान ढुवानीसहित बजार पहिचान र व्यापारीसँगको सम्पर्क विस्तारमा ज्ञान केन्द्रले सहजीकरण गरिरहेको केन्द्रका सूचना अधिकारी मीनप्रसाद जैशीले बताए ।

ज्ञान केन्द्रले यो पटक सिमी जिल्ला बाहिर पठाउने तयारी थालेको छ । विशुद्ध बाजुराकै रैथाने सिमीलाई राजधानी काठमाडौंदेखि धनगढीसहितका शहरमा पठाउने तयारी थालिएको केन्द्रका कार्यालय प्रमुख गोविन्द्र सिजापतीले बताए ।

स्थानीय तहसँगको समन्वय र किसानसँगको प्रत्यक्ष सहकार्यमा सिमी जिल्ला बाहिर लगिएको कार्यालय प्रमुख सिजापतीको भनाइ छ । खानमा पनि स्वादिलो र हिमाली भेगमा उत्पादन भएकाले स्वास्थ्यका लागि फाइदा हुने कृषि प्राविधिकको भनाइ थियो ।

यो वर्ष मात्र जिल्लाका रैथाने उत्पादन बाह्य बजारसँग जोडिएका छन् । स्याउबाट शुरु गरिएको अभियान सिमीसम्म पुगेको छ ।

कृषि उपजको बजारीकरण गर्ने अभियानअन्तर्गत ज्ञान केन्द्र बाजुराले ७५ क्विन्टल सिमीमा ढुवानी अनुदान सहयोग गरेको छ । गौमुल गाउँपालिका कृषि विकास शाखाको प्याकेजिङ सहयोग र सहकार्यमा गौमुलबाट मात्र ६५ क्विन्टल सिमी जिल्ला बाहिर पठाउन लागिएको हो । यस्तै कोल्टी क्षेत्रबाट पनि १० क्विन्टल सिमी संकलन गरिएको छ ।

दहकोट क्षेत्रलाई सिमी उत्पादनकै लागि पकेट क्षेत्र घोषणा गरी त्यसैअनुसार उत्पादनका गतिविधि अघि बढाएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।

‘हामी अरुको उत्पादन मात्र प्रयोग गर्ने भयौं, थोरै भए पनि हामीले पनि उत्पादन गर्नुपर्छ भन्ने मान्यताका साथ शुरुआत गरिएको र आगामी दिनमा यसलाई बढाउँदै लैजाने छौं’, रोकायाको भनाइ थियो ।

विशुद्ध विषादीबिना उत्पादन गरिएको र कृषि विज्ञद्वारा नै परीक्षण गरिएको अर्गानिक रैथाने सिमी भएकाले बजारमा माग बढ्दो हुने विश्वास गरिएको छ । सदरमुकाम मार्तडीसम्म ढुवानी अनुदानमा आइपुग्ने सिमीको थप बजारीकरण र विक्री वितरणमा बाजुरा कोशेली घरले जिम्मा लिने सञ्चालक अमर खड्काले बताएका छन् ।

बजारमा पाइने सिमीभन्दा रू. २० देखि ५० सस्तो मूल्यमा बिक्री गर्ने तयारी गरिएको छ । मार्तडी बजारमा रू. १८० देखि २०० प्रतिकेजी विक्री हुने गरेको छ । तर ढुवानी अनुदानमा आइपुगेका सिमी भने प्रतिकेजी रू. १५० देखि १५५ मा विक्री गर्न सकिने भएको छ ।

बाजुरा पनि उत्पादनको जिल्ला हो भन्ने पहिचानका लागि शुरुआत गरिए पनि रैथाने अर्गानिक वस्तु उत्पादनको पहिचान बनाउने गरी ज्ञान केन्द्रले काम गरिरहेको कार्यालय प्रमुख गोविन्द सिजापतीको भनाइ थियो । बाजुराको उत्पादनले यो वर्ष राम्रो बजार र पहिचान पाएकामा सांसद लालबहादुर थापाले ज्ञान केन्द्रको कामको प्रशंसासमेत गरेका छन् ।

बाजुरामा कोदो, मकै, चिनो, कागुनो, फापर, जौसहितका बाली पर्याप्त मात्रामा पाइने गरेका छन् । त्यसको उत्पादन बढाएर जिल्ला बाहिर बजार विस्तारको अभियान नै सञ्चालन गरिने बाजुरा कोशेली घरका सञ्चालक अमर खड्काले बताए । कोशेली घरमार्फत नै जिल्ला बाहिर बजारीकरण गर्न लागिएको केन्द्रका सूचना अधिकारी मीनप्रसाद जैशीले जानकारी दिए ।

जिल्लामा ३० हजार मेट्रिक टन बढी खाद्यान्न आवश्यक पर्नेमा १५ हजार बढी मेट्रिक टन जिल्ला बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । तर, यो वर्षबाट त्यसमा उल्लेख्य सुधार भएको ज्ञान केन्द्रले बताएको छ ।

अबको केही वर्षमा चामलबाहेक अन्य सबै खाद्यान्न बाजुरा आफैं आत्मनिर्भर हुने र रैथाने बाली बाह्य जिल्ला पठाउने गरी उत्पादनका गतिविधि बढाइएको छ । यसै साता मात्र १ लाख बढी कलमी गरेर नासपती फलाउने कामको ज्ञान केन्द्रले शुरुआत गरेको छ ।