
सर्लाही। सरकारसँग भएको सहमति अनुसार उखुको बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले फेरि काठमाडौं गएर आन्दोलन गर्ने तयारी गरेका छन् ।
जिल्लामा पटक–पटक आन्दोलन गर्दा पनि विगतका वर्षहरुमा चिनी मिललाई विक्री गरेको उखुको पैसा नपाएपछि सर्लाहीका उखु किसान अघिल्लो महिना काठमाडौंस्थित माइतीघर मण्डला पुगेर धर्नामा बसेका थिए ।
उखु किसान पुसको चिसोमा कठ्याङग्रिएर उखुको भुक्तानी माग्न धर्नामा बसेपछि सरकारले पुस १८ गते पाँच बुँदे सहमति गर्दै माघ ७ गतेभित्र चिनी उद्योगीबाट सबै पुरानो बक्यौता भुक्तानी गराउने प्रतिवद्धता जनाएको थियो ।
उद्योगमन्त्री लेखराज भट्ट आँफैले सहमति गरी आन्दोलन स्थगित गराई किसानलाई घर फर्काउनु भएको थियो । सरकारको दिएको मितिमा भुक्तानी पाउने आशमा उखु किसान घर फर्किएका थिए । तर मध्य माघ भइसक्दा समेत किसानले जिल्लाको अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिम र महालक्ष्मी चिनी उद्योग बगदहबाट पूरा भुक्तानी पाएका छैनन् ।
आन्दोलन गर्न काठमाडौं गएका केही किसानको खातामा उद्योगीले पैसा हाल्दिए पनि अन्य किसानले पैसा पाउन सकेका छैनन् । किसानको आन्दोलनपछि अन्नपूर्णले ४२ करोड बक्यौतामध्ये तीन करोड ९० लाख रुपियाँ र महालक्ष्मीले २१ करोड ४० लाखमध्ये ११ करोड ५० लाख रुपियाँ मात्रै भुक्तानी गरेको छ ।
अन्नपूर्णले अझै ३८ करोड र महालक्ष्मीले १० करोड बक्यौता भुक्तानी गर्न बाँकी छ । चिनी उद्योगीसँगै सरकारले समेत किसानलाई गत वर्षको अनुदान रकम दिएको छैन । उद्योगी र सरकार दुवैबाट पाउन बाँकी रकम उपलब्ध गराउन काठमाडौं गएर फेरि एक पटक सरकारको ध्यानाकर्षण गराउने तयारी भइरहेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो ।
नगदे बाली उखु बेचेको पैसा लिन यसरी पटक–पटक आन्दोलन गर्नुपर्ने वाध्यताले उखु किसानमा नैराश्यता बढ्दै गएको बताइएको छ । जिल्लाको उत्तरी भेगको इन्दुशङ्कर चिनी उद्योगले गत वर्षको भुक्तानी गरिसकेकाले उत्तरी भेगका किसानलाई खासै समस्या छैन । तर दक्षिणी भेगका किसानलाई अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगले भुक्तानि नदिंदा घरव्यवहार धान्नै मुस्किल परिरहेको छ ।