ललितपुर। यूनचापीय रेखा (वर्षा गराउने वायु) नेपाल प्रवेश गरेकाले देशभर वर्षा भइरहेको छ।

न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले देशभर वर्षा भइरहेको जल तथा मौसम अनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताइन्। उनले भनिन्, ‘आगामी तीन दिन देशभर मनसुन अति सक्रिय हुनेछ, जसले गर्दा बाढी, पहिरोको उच्च जोखिम रहेकाले सतर्कता उपनाउनुपर्ने हुन्छ।’

विशेषगरी शुक्रबार र शनिबारलाई देशभर नै जोखिम रहेकाले नदी तथा तटिय क्षेत्रमा हुनेहरु सुरक्षित स्थानमा सर्न मौसमविद्को आग्रह छ। खासगरी २५ जिल्लामा कहिले मध्यम कहिले भारी वर्षा भइरहने बताइएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार वाग्मती नदीको तराई क्षेत्रमा बहाब खतराभन्दा माथि बढ्दो क्रममा रहेको छ। खास गरी प्रदेश नं १, २ र ३ का सबै चुरे खोलामा बहाब सतर्कता माथि र उच्च खतरा शनिबारसम्म कायम रहने भएकाले सर्तक रहन आग्रह गरिएको छ।

काठमाडौंमा पर्‍यो ११५ मिलिमिटर पानी :

काठमाडौंमा एक सय १५ मिलिलिटर वर्षा परेको छ। विभागका अनुसार काठमाडौंमा एक सय १५.२ मिलिमिटर वर्षा भएको छ। सिमरामा तीन सय ११ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

ओखलढुंगामा पनि भारी वर्षा भएको छ। धनकुटामा ७५.५ मिलिमिटर वर्षा भएको छ भने भैरहवामा ४३ मिलिमिटर वर्षा भएको छ। पोखरामा कम वर्षा भएको छ। यहाँ ४.७ मिलिमिटर वर्षा भयो। दीपायल, डडेलधुरा, धनगढीमा भने निकै कम वर्षा भएको विभागले जनाएको छ।

१७ को मृत्यु, सात बेपत्ता :

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोबाट यो समाचार तयार पार्दासम्म १७ जनाको मृत्यु भएको छ ।

सात बेपत्ता भएका छन् भने चार जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।

बाढी, पहिरोमा परेर काठमाडौँ र खोटाङमा तीन–तीन जना, ओखलढुङ्गा, पर्सा, रामेछाप, सिन्धुली, मकवानपुर, ललितपुर र धादिङमा एक–एक जना तथा भोजपुरमा र काभ्रेमा दुई–दुई जना गरी १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोटाङ, काभ्रे, रामेछाप, मकवानपुर, धादिङ, दोलखामा गरी सात जना घाइते भएका छन् । बेपत्ता हुनेमा पाँचथर, इलाम, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, काठमाडौँका गरी सात जना छन् ।

सुनसरी, सिराहा र भक्तपुरमा गरी चार जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीमा घरको पर्खाल भत्किएर स्थानीय निलु यादव, शर्मिला यादव र कुन्दन यादवको ज्यान गएको छ । खोटाङमा भएको घटनामा परी रेखा राई, रोमन राई र रोहन राईको ज्यान गएको छ ।

काभ्रेको बनेपाका गोमा दङ्गाल र सोहनी दङ्गाल, रामेछापकी पदमकुमारी सुनुवार, भोजपुरका जगतबहादुर राई र जनक विक, ललितपुका सुरज जिम्बा, पर्साका निखिल पटेल, धादिङ गजुरीका अस्मिता तामाङ, सिन्धुली फिक्कल गाउँपालिकाकी हेमकुमारी सुनुवारको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

बाढी, पहिरोमा परेका सिराहाका दुई, सुनसरीका एक र भक्तपुरका एक गरी चार जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बाढीबाट काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, रौतहट, पर्सा धनुषा, चितवन, उदयपुर, पाँचथर, मकवानपुर, खोटाङ, दोलखा, धनकुटा, धादिङ, ओखलढुङ्गा, सङखुवासभा, भोजपुरलगायत देशका विभिन्न स्थान प्रभावित भएका छन् ।

पूर्वी पहाडी क्षेत्रमा पहिलो र तराईका क्षेत्रमा डुबानबाट बढी प्रभावित भएको प्रहरीले जनाएको छ ।

वर्षाका कारण प्रभावित भएकाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको छ । गृह मन्त्रालयले सबै संयन्त्र प्रयोग गरेर उद्धार कार्य तीव्र पारिएको जनाएको छ ।