ललितपुर। कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनालले विषादी चेकजाँच अहिलेपनि जारी नै रहेको बताउनुभएको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले अहिलेपनि विषादी परीक्षण आफ्नै प्रक्रियामा भैरहेको बताउनुभएको हो ।

मन्त्री खनालले नेपालमा अहिले अस्तित्वमा रहेका विषादी परीक्षण ल्याबहरुको क्षमतामा प्रश्न रहेको भन्दै ती ल्याबलाई छिट्टै स्तरोन्नती गरिने बताउनुभयो । उहाँले २०७१ साल असारदेखि विषादी परीक्षणको सुरु गरेको भन्दै त्यतिवेला १ सय ८७ स्याम्पलमा चेकजाँच गरिएको र केहीमा जोखिमपूर्ण मात्रा रहेको दाबी गर्नुभयो । उहाँले काठमाडौं उपत्यकाबाहिर अहिलेपनि ६–७ वटा ल्याबहरु भएपनि सञ्चालन गर्न म्यानपावरको समस्या रहेको बताउनुभयो । त्यस्तै मन्त्री खनालले अन्तर्राष्ट्रिय प्रचलनअनुसार नाकामा चेकजाँच नहुने दाबी गर्नुभयो ।

मन्त्री खनालले भारतलगायत तेश्रो मुलुकबाट नेपाल आयात गरिने फलफुल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा ६ महिना लाग्ने स्पष्ट पार्नुभएको छ । उहाँले चेकजाँच गर्ने सरकारको निर्णय कार्यान्वयका लागि आफुले खाद्य, पशु र प्लान क्वारेन्टाईन अन्र्तगतका १४ वटा क्वारेन्टाईन थप निर्माण गर्नुको साथै ३ सय १२ जना कर्मचारी थपेर व्यवस्थित बनाउने काम गरेको दाबी गर्नुभयो । उहाँले नेपालमा मलको अपर्याप्तता रहेको भएपनि अहिले तत्काललाई अभाव नहुने समेत बताउनुभयो ।