विराटनगर । मोरङको कटहरीस्थित अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार सञ्चालनमा ढिलाइ भएको छ ।

विराटनगरको तरकारी बजार व्यवस्थित बनाउने उद्देश्यले निर्माण गरिएको तरकारी बजार प्रदेश सरकारले नियमावली र कार्यविधि नबनाउँदा सञ्चालनमा ढिलाइ भएको हो ।

गत चैत महिनमा प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको मोरङको कटहरीस्थित सुविधासम्पन्न तरकारी तथा फलफूल बजार कार्यविधि र नियमावली नहुँदा सञ्चालनमा आउन सकेको छैन ।

तरकारी खरिदविक्रीलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले १७ करोड रुपैयाँको लागतमा फलफूल तथा तरकारी बजार निर्माण गरिएको थियो । लामो समय बिते पनि सञ्चालन हुन नसक्दा स्थानीय निराश बनेका छन् ।

विराटनगरको गुद्री तरकारी बजार साँघुरो र अव्यवस्थित भएकाले कटहरीमा स्थानान्तरण गर्ने उद्देश्यले उक्त तरकारी बजार निर्माण गरिएको थियो ।

प्रदेश सरकारले कम महत्व दिएका कारण समयमै तरकारी तथा फलफूल बजार सञ्चालन आउन नसके पनि गुद्री बजारलाई स्थानान्तरण व्यवस्थित गर्ने योजना पनि अलपत्र परेको छ ।

यता प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले भने संघीय सरकारले तयारी बिनै प्रदेशलाई तरकारी बजार हस्तान्तरण गरेकाले केही ढिलाइ भएको र अब छिट्टै सञ्चालनमा आउने दाबी गर्छन ।

प्रदेश १ कै नमूना योजनामा रुपमा रहेको तरकारी तथा फलफूल बजार करिब ६ बिघा क्षेत्रफलमा रहेको छ ।

५० बर्षको लागि जमिन लिजमा लिएर तरकारी बजार क्षेत्रभित्र छुटा छुटै होलसेल र खुद्रा तरकारी बिक्री निर्माण गरिएको छ ।

जहाँ दैनिक ४४ हजार नौ सय ६६ मेट्रिक टन तरकारी र आठ हजार सात सय तीन मेट्रिक टन फलफूल बिक्री गर्न सकिने छ ।