
दाङ। गरे के हुदैन भन्ने टुक्कालाई पुष्टि गरेका छन् दाङ जिल्ला घोराही उप महानगरपालिका १८ मसिनाका अम्बिकेश्वरी महिला कृषक समुहले । जसले पछिल्लो समय नेपालमा आत्मनिर्भर बन्न खोजीरहेको गोलभेंडा खेती लगाई आयआर्जनको राम्रो सोत बनाए ।
महिलाले घरायसी काम मात्रै गर्नु पर्छ भन्ने मानसिकता त्यागी अगाडी बडेको महिला समुह अहिले महानगरभित्रै उदाहरणीय बनेको छ । २०६९ शालमा २५ जना महिलाद्धारा १३ विघामा शुरु भएको गोलभेंडा खेती अहिले १७ विघामा फैलिएको छ ।जसवाट उनिहरुले अहिले वार्षिक हजार टनको हाराहारीमा गोलभेंडा उत्पादन गरि वार्षिक ३५ लाख आम्दानी गरिरहेका छन् ।
आवश्यक ज्ञान र प्रविधिको अभावमा शुरु भएको गोलभेंडा खेती अहिले आधुनिक प्रविधिबाट उत्पादन भैरहेको छ । शुरुका दिनमा एकल रुपमा खेती गर्दा वजार र विक्रिका लागि समस्या झेलेका महिला सामुहिक रुपमा खेती गर्दा वजारको कुनै समस्या नभएको बताउँछन् ।
स्थापना भएको ६ वर्षमा अहिले समुहमा ४४ जना महिला आवद्ध भएका छन् । जसले महिलाहरुको आर्थिक अवश्थामा कायापलट ल्याएको छ ।
घरायसी खर्च चलाउन समेत समस्या भोग्दै आएका महिलाहरुले हाल आफ्नो छोरा छोरी नीजि स्कुलमा पढाईरहेको अम्बिकेश्वरी महिला कृषक समुहकी अध्यक्ष वसन्ता अर्याल बताउनुहुन्छ ।
आफ्नै बजार स्थापना गरी उपभोक्तालाई शुलभ मूल्यमा गोलभेंडा विक्रि गर्ने सोच राखेको समुहले छिट्टै गाडी किन्ने सोच बनाएको छ ।
५ लाख रुपैंया बचत रहेको समुहबाट समस्या परेका समयमा सदस्यले १ प्रतिशत व्याजमा पैसा निश्चित अबधिको लागि चलाउन सक्ने व्यवस्था गरेको छ । जसले उनीहरुलाई ऋण खोजेर हिड्नु पर्ने अवश्थाको अन्त्य गराएको छ ।