भोजपुर। जिल्लामा प्रधानमन्त्री अलैंची ‘जोन’ परियोजना कार्यक्रम प्रभावकारी बन्दै गएको छ । अलैंची खेतीमा कृषकको आकर्षण बढी रहेका बेला सो कार्यक्रमले अनुदानसँगै प्रविधिक सहयोग गरेपछि कार्यक्रम प्रभावकारी बनेको हो । सो कार्यक्रमअन्तर्गत जिल्लाका ९८ कृषक समूह तथा कृषि फार्म जोनमा आबद्ध छन् । साथै ३८ ले योजना माग गरेको परियोजनाको अलैंची जोन कार्यालयले जनाएको छ ।

अलैंची कृषकका समस्यालाई समाधानका लागि सहयोग गरेर कार्यक्रमलाई किसान लक्षित बनाइएको छ । अलैंची जोनका निमित्त प्रमुख खिरप्रसाद राईले विगतमा अलैंची खेतीमा लागेका कृषक समूहलाई जोनमा आबद्ध गराएर कार्यक्रम सञ्चालन गरिएको बताए ।

जिल्लाका नौ स्थानीय तहमध्ये छ स्थानीय तहका ३० वडामा अलैंची जोन परियोजाना सञ्चालनमा छ । परियोजनाअन्तर्गत अलैंचीको बिरुवासँगै प्राविधिक सहयोग पाएपछि कृषक उत्साहित बनेका हुन् । परियोजनाले कृषकको घरघरमै पुगेर उनीहरुका समस्या तथा माग गरिएका आयोजनाको अवलोकन गरिरहेको छ । सो कार्यक्रम सञ्चालन भएपछि अझै अलैंचीको उत्पादनमा वृद्धि हुने कृषकको भनाइ छ ।

टेम्केमैयुङ गाउँपालिका–८, गोगनेका कृषक सीताराम लुइँटेलले भने, ‘हामीले पहिलाबाट नै अलैंची खेती गर्दै आएका थियौं, तर यो कार्यक्रम सञ्चालनमा आएपछि हामीलाई धेरै सहयोग मिलेको छ, सिँचाइ र रोगकिराको समस्या ध्यान दिए राम्रो हुने थियो ।’ सोही गाउँपालिका–७, कोटका अर्का कृषक देवीप्रसाद खतिवडाले सो कार्यक्रम सञ्चालनमा आएपछि धेरै कृषकहरु अलैंची खेतीमा लागेका बताए ।

जिल्लाको ६५० हेक्टर क्षेत्रफलमा अलैंची उत्पादन भइरहेको र अझै १ हजार हेक्टर क्षत्रफलमा विस्तार गर्न सकिने अलैंची जोन कार्यालयले जनाएको छ । उक्त कार्यक्रमअन्तर्गत जिल्लामा रू.४९ लाख बराबरको कृषक लक्षित कार्यक्रम सञ्चालन हुने बताइएको छ ।