
ललितपुर। प्रदेश नम्बर ३ को सरकारले पशुपालन गर्ने किसानका लागि अनुदानै अनुदानको घोषणा गरेको छ ।
प्रदेश नम्बर ३ अन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत मंगलबार (२०७५ माघ २२ गते)सूचना प्रकाशित गरी किसानहरुलाई अनुदान उपलब्ध गराउने घोषणा गरेको हो ।
उक्त मन्त्रालयले गाई प्रवद्र्धन कार्यक्रम, बाख्रा प्रवद्र्धन कार्यक्रम, पाडापालन कार्यक्रम तथा उच्च प्रजनन् मानको बोयर बाख्रा श्रोत केन्द्र निर्माण तथा सञ्चालनका लागि अनुदान दिने घोषणा गरेको छ ।
स्वीकृत वार्षिक कार्यक्रमअनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रमार्फत यस्ता कार्यक्रमहरु सञ्चालन गर्न लागिएको हो । कार्यक्रममा सहभागी हुने साझेदार संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा आइपुग्ने गरी स्वीकृत कार्यविधिको शर्त पालना गर्ने गरी आवश्यक कागजातसहित निवेदन दिन सक्ने व्यवस्था गरिएको छ । यस्तो प्रस्ताव सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रमा दर्ता गर्नुपर्ने व्यवस्था छ ।
प्रस्ताव आवेदनसँग संलग्न गर्नुपर्ने कागजातहरु सम्बन्धित कार्यविधिमा उल्लेख भएअनुसार संलग्न गर्नुपर्ने शर्त राखिएको छ । थप जानकारीको लािग मन्त्रालयको वेवसाइट http://molmac.p3.gov.np/ बाट कार्यविधिहरु डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ । थप जानकारीका लागि ०५७/ ५२५६४२
गाई प्रवद्र्धन कार्यक्रम :
गाई प्रवद्र्धन कार्यक्रमअन्तर्गत साझेदार संस्थाको रुपमा किसान समूह तोकिएको छ । मकवानपुर, चितवन, दोलखा, काठमाडौं र रसुवामा लागु हुने यो कार्यक्रमका लागि बढीमा २५ लाख प्रति समूह (२ लाख ५० हजार प्रति सदस्य) अनुदान दिने व्यवस्था गरिएको छ । यो कार्यक्रमको लागि गाई प्रवद्र्धन कार्यक्रम संचालन कार्यविधि २०७५ तोकिएको छ ।
बाख्रा प्रवद्र्धन कार्यक्रम
बाख्रा प्रवद्र्धन कार्यक्रमअन्तर्गत साझेदार संस्थाको रुपमा किसान समूह तोकिएको छ । मकवानपुर, चितवन, काभ्रे, दोलखा, सिन्धुली, रामेछाप, धादिङ्ग र नुवाकोट जिल्लामा लागु हुने यो कार्यक्रमका लागि बढीमा २१ लख ५० हजार प्रति साझेदार संस्थाका लागि अनुदानको व्यवस्था गरिएको छ । यो कार्यक्रमको लागि बाख्रा प्रवद्र्धन कार्यक्रम संचालन कार्यविधि २०७५ तोकिएको छ ।
पाडापालन कार्यक्रम :
यो कार्यक्रमअन्तर्गत साझेदार संस्थाको रुपमा किसान समूह, समिति वा सहकारी संस्था तोकिएको छ । मकवानपुर, चितवन, ललितपुर, धादिङ्ग र काभ्रे जिल्लामा लागु भएको यो कार्यक्रमका लागि बढीमा ११ लाख प्रति साझेदार संस्थालाई अनुदान दिने व्यवस्था गरिएको छ । यसका लागि पाडापालन कार्यक्रम संचालन कार्यविधि २०७५ तोकिएको छ ।
उच्च प्रजनन् मानको बोयर बाख्रा श्रोत केन्द्र निर्माण तथा संचालन :
यो कार्यक्रमअन्तर्गत किसान समूह साझेदार संस्थाको रुपमा तोकिएको छ । काठमाडौं, नुवाकोट, मकवानपुर, काभ्रे, धादिङ्ग र चितवन जिल्लामा लागु भएको यो कार्यक्रमका लागि बढीमा ६ लाख ६५ हजार प्रति साझेदार संस्थाको लागि अनुदान तोकिएको छ । यो कार्यक्रमको लागि उच्च प्रजनन् मानको बोयर बाख्रा श्रोत केन्द्र निर्माण तथा संचालन कार्यविधि २०७५ तोकिएको छ ।