गाईघाट। उदयपुरका ६ वटा स्थानीय तहमा अदुवा÷बेसार जोन कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ। सुन्तला जोन कार्यक्रम सफल हुँदै गएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत जिल्लाको त्रियुगा, चौदण्डीगढी, बेलका नगरपालिका र रौतामाई, उदयपुरगढी र लिम्चुङबुङ गाउँपालिकामा यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

परियोजनाअन्र्तगत अदुवा बेसार क्षेत्र हुने ६ वटा स्थानीय तहका २७ वटा वडामा लागु हुने बरिष्ठ कृषि अधिकृत उदयनारायण शर्माले बताए। उनले पकेट क्षेत्रका सबै सम्भाव्यता अध्ययन गरी यसै वर्षदेखि कार्यक्रम सञ्चालन गरिने बताए। परियोजनाले चालु आर्थिक वर्षमा कर्मचारी तलब, कार्यालय व्यवस्थापन, भ्रमण, गोष्ठी कृषक अनुदान गरी एक करोड १८ लाख बजेट प्राप्त भएकोमा कार्यक्रमतर्फ भने ७० लाख खर्च हुने उनले जानकारी दिए।

परियोजना सञ्चालनसम्बन्धी आइतबार जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रमको आयोजना गरी जानकारी दिइएको हो। सम्भाव्यता अध्ययनका क्रममा बेलका नगरपालिका वडा नम्बर ५,६,७,८, चौदण्डी १, ८, त्रियुगा १४,१५,१६, रौतामाई गाउँपालिका २,३,४,५,६,८, उदयपुरगढीको २ देखि ८ सम्म र लिम्चुङबुङको १ देखि ५ वटा वडा पकेट क्षेत्रको रूपमा विकास गर्न सकिने देखिएपछि कार्यक्रम सुरु गरिएको अधिकृत शर्माले जानकारी दिए।

परियोजनाका लागि केन्द्रीय सरकारले एक खर्ब ३० अर्ब ७४ करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ। उत्पादित कृषि उपज उचित बजार व्यवस्थापन नहुनु, आर्थिक रूपले सक्रिय जनशक्ति बिदेसिने क्रम बढ्नु, बढ्दो जग्गाको खण्डीकरण र घडेरीकरण भएपछि सरकारले कृषि क्षेत्रलाई बलियो बनाई आत्मनिर्भर बनाउने उद्देश्यकासाथ जोन परियोजना सञ्चालन गरेको हो।

परियोजनामा कृषि व्यवसाय प्रवद्र्धन, स्रोत केन्द्र सहयोग, पोस्ट हार्भेस्ट सेन्टर, प्रविधि तथा प्राविधिक सहयोग, कृषि यान्त्रीकरण र साना सिँचाइ सहयोगजस्ता क्रियाकलाप सञ्चालन गरिने बताइएको छ। यसअन्तर्गत बजारीकरण, प्रशोधन केन्द्र, पूर्वाधार निर्माण, सुधार, कृषि औजार सहुलियत, माटो परीक्षण, सिँचाइ सुविधा ५० देखि विधागतरूपमा शतप्रतिशत सहुलियत दिइने जनाइएको छ।