चितवन। चितवनमा चारजना किसानले एकसाथ तरकारीखेतीमा ट्याक्टर लगाएका छन् । आफूले उत्पादन गरेको तरकारी उत्पादनले बजारभाउ नपाएपछि सोमबार चितवन खैरहनी नगपालिका–१ ज्यामिरेका नवराज भुसाल, इन्दिरा भुसाल, सूर्यप्रसाद भुसाल र कृष्ण सापकोटाले बन्दाकोभी र मुलाखेती नष्ट गरेका हुन् । दुई साताअघि खैरहनी नगरपालिका–६ तुलसीपुरका किसान पुरन महतोले १५ कट्ठा क्षेत्रफलमा लगाएको लाखौँ मूल्यबराबरको बन्दा र मुला नष्ट गरेका थिए ।

सित्तैमा लैजानु भन्दा पनि बिचौलियाले मानेनन् :
ज्यामिरेका नवराज भुसालले चारजना किसानले २४ कट्ठाभन्दा बढी क्षेत्रफलमा लगाएको बन्दा नष्ट गरेको जानकारी दिए । आफूहरूले लगाएको बन्दा एक रुपैयाँमा उठाउन आग्रह गर्दासमेत नलगेको उनको गुनासो छ । भुसालले १० कट्ठामा लगाएको बन्दामध्ये सात कट्ठाको जेनतेन बिक्री भए पनि तीन कट्ठामा लगाएको बन्दा व्यापारीलाई सित्तैमा लैजान आग्रह गर्दासमेत लैजान नमानेको बताए । ‘ढुवानी भाडासमेत नउठ्ने भन्दै व्यापारीले बारीको बन्दा सित्तैमा पनि उठाउन मानेनन् । हामी सीधै बजारसँग कारोबार गर्न सक्दैनौँ, बिचौलियको भर पर्दा मिहिनेतका साथ लगाइएको बन्दामा आफैले ट्र्याक्टर लगायौँ,’ उनले भने ।

ज्यामिरेकी इन्दिरा भुसालले ६ कट्ठा क्षेत्रफलमा लगाएको बन्दा नष्ट गरिन् । व्यापारीले भोलि लैजाउँला, पर्सि लैजाउँला भनेर झुलाएको उनले गुनासो गरिन् । ‘व्यापारी नआएपछि बारीको बन्दा कुहिन थाले, बाध्य भएर ट्र्याक्टर लगाउनुप¥यो,’ भुसालले भनिन् । गत वर्ष १५ कट्ठामा लगाएको बन्दाबाट उनले एक लाख ६० हजार रुपैयाँ नाफा कमाएकी थिइन् । अर्का किसान सूर्यप्रसाद भुसालको चार कट्ठा र कृष्ण सापकोटाको ११ कट्ठामा लगाएको बन्दाकोभी ट्र्याक्टर लगाएर नष्ट गरियो ।

चितवनमा उत्पादित तरकारी काठमाडौं, पोखरा, बुटवल, वीरगन्जलगायतका सहरमा बिक्री हुँदै आएका थिए । तर, पछिल्लो समय भारतबाट तरकारी आयात हुन थालेपछि आफ्नो तरकारी नबिकेको किसानको गुनासो छ ।

बिचौलियालाई फाइदा :
अहिले बजारमा बन्दाकोभीको मूल्य प्रतिकेजी २० देखि २५ रुपैयाँसम्म छ । तर, व्यापारीहरूलाई सित्तैमा तरकारी उठाउन भन्दा पनि नमानेको स्थानीय इन्दिरा भुुसालको गुनासो छ । ‘सीधै तरकारी बजारसँग सम्पर्क गर्न नसक्दा बिचौलियाको काम गर्ने ब्यापारीले आफूलाई हुने नाफा हेरेर तरकारी उठाउन मानेनन्,’ उनले भनिन्, ‘बजारमा २५ रुपैयाँमा बिक्री हुने बन्दा व्यापारीले एक रुपैयाँमा पनि खरिद गर्न मानेनन्न् । बिचौलियाका कारण हामी सधैँ मारमा छौँ ।’