बुटवल। प्रदेश ५ सरकारले स्मार्ट कृषि गाउँ कार्यक्रमको कार्यविधि स्वीकृत गरेको छ । कार्यक्रम सञ्चालनका लागि विभिन्न मापदण्ड निर्धारण गरी तयार पारेको कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै प्रदेश ५ का १२ जिल्लाका ५२ गाउँमा स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि बाटो तय भएको हो ।
सरकारले १२ जिल्लामा ५२ वटा गाउँ छनोटको काम अन्तिम चरणमा पु(याएको छ । छनोट हुने गाउँमा आधुनिक तरिकाले कृषि गरी ती गाउँलाई स्मार्ट कृषि गाउँमा परिणत गर्ने कार्यक्रम छ ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटाका अनुसार चार वर्षे यस कार्यक्रमका लागि आगामी वर्षमा बजेट कम गर्दै लगिनेछ । मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले प्रदेश सांसदहरूले सिफारिस गरेका गाउँहरू मापदण्डभित्र परे-नपरेको अध्ययन गरेर छनोट प्रक्रिया अन्तिम चरणमा पु(याएको बताए ।
यस्तो छ मापदण्ड :
प्रदेश सरकारले बनाएको मापदण्डमा एउटा गाउँमा कम्तीमा ५० घर हुनुपर्ने व्यवस्था छ । तीमध्ये ५० प्रतिशत घरधुरी कृषिमा लागेको हुनुपर्ने छ । वरिष्ठ कृषि विकास अधिकृत घिमिरेले छनोट भएका गाउँमा बढीमा दुईवटा बाली तथा वस्तु (पशुपालन)लाई प्रथामिकतामा राख्नुपर्ने व्यवस्था छ ।
पशुपालन गरे पनि दुई थरी र खेती गर्ने हो भने पनि दुईवटा बालीलाई उच्च प्रथामिकता दिएर काम गर्नुपर्ने मापदण्ड रहेको छ । अन्य खेती तथा पशुपालन गर्न पनि पाइने तर दुईवटालाई उच्च प्रथामिकता दिनुपर्ने सचिव देवकोटाले बताए ।
बजेट २६ करोड, एउटा गाउँलाई ५० लाख :
एउटा गाउँलाई ५० लाख बजेट उपलब्ध गराउने गरी २६ वटा गाउँका लागि प्रदेश सरकारले यस वर्ष २६ करोड बजेट विनियोजन गरेको छ । छनोट भएका गाउँका किसानलाई प्रदेश सरकारले ५० लाख उपलब्ध गराउने र सो बजेटमा किसानहरूले थप १० लाख लगानी गरेर कृषि गर्न सक्ने व्यवस्था छ । यो कार्यक्रमलाई आगामी चार वर्षसम्म निरन्तरता दिने बताइएको छ । आगामी वर्षमा भने बजेट २५ प्रतिशतका दरले घटाइनेछ ।
छनोट भएका कृषि गाउँलाई साँच्चैकै स्मार्ट बनाउन त्यहाँ सूचनायुक्त तथा प्रविधियुक्त बनाउने तयारी प्रदेश सरकारको छ । छनोट भएका गाउँमा जलवायु परिवर्तनसम्बन्धी सूचना उपलब्ध हुने गरी सूचना केन्द्र स्थापना हुनेछ । त्यसैगरी, प्रविधि तथा सिँचाइ सुविधा पुगेको हुनेछ । त्यस्तै, माटोको गुणस्तरदेखि बजारसम्मको व्यवस्थामा समेत ध्यान दिइनेछ । बजारीकरण गर्नका लागि संकलन केन्द्रहरू रहने गरी कार्यक्रम अगाडि बढाउने तयारी छ ।









