कञ्चनपुर। नेपालमा उत्पादित माछा भारतमा समेत निर्यात हुने गरेको छ । जसको उदाहरण हो कञ्चनपुरको बेलौरी नगरपालिका । त्यँहाको बन्दातालबाट हरेक वर्ष ६० लाख रुपैँया भन्दा बढीका माछा भारत र नेपालका बजारमा बिक्री हुने गरेको पाइएको छ ।

माछा पालक सोवरन रानाले उत्पादन गरेका माछा सीमावर्ती भारतीय बजारमा सहजै बिक्री हुदै आएको बताए । बार्षिक रुपमा नेपाली र भारतीय बजारमा गरी उनले ६० लाख भन्दा बढी मूल्य बरावरका माछा बिक्री गर्दै आएका छन । भारतमा मात्रै यस बर्ष उनले ५० क्वीन्टल माछा बिक्री गरेको बताए ।

भारतको किसनानगर, सम्पुर्णानगर, रानीनगर, पटिहनलगायत क्षेत्रका व्यापारी पोखरीमै पुगेर माछा खरिद गरी लैजाने गरेका छन । राना जिल्लामै सफल माछापालकका रुपमा परिचित भएका छन । बिक्री भएका माछा बाट उनले बार्षिक २५ लाख बढी आम्दानी गर्दै आउको बताएका छन ।

उलने १३ वटा पोखरीमा माछापालन गरेका छन । पोखरीमा नैनी, भाकुर, रोहु, कमन, ग्रास कार्प, पंगासियस, सहर, रुपचन्द्र गरी एक दर्जन प्रजातीका माछापालन गरिएका छन । पंगासियस र रुपचन्द्र माछा भारतमा मात्रै उत्पादन गरिने भएपनि उनले दुई बर्षदेखि भुरा ल्याएर पोखरीमा हुर्काई बेच्न शुरु गरेका छन । नेपाली बजारमा दुवै जातका माछाको बढी माग रहेको छ ।

माछापालन गरी सोचे भन्दा बढी आम्दानी हुन थालेपछि रानाले यस बर्ष बैङ्कबाट एक करोड ऋण लिएर थप सात वटा पोखरी निर्माण गरेका छन । माछापालनका लागि पोखरीमा एक करोड विभिन्न जातका भुरा राखिएका छन । माछाको आहाराका लागि मात्रै ४० लाख खर्च गरिएको उनले बताए ।

रानाले माछाका भुरा चार सय ५० रुपैंया प्रति किलो र खानका लागि प्रयोग हुने माछा दुई सय देखि तीन सय प्रति किलो थोकमा बिक्री गर्दै आएका छन । उनले जिल्लामा भारतीय माछा विस्थापन गर्न अरु किसानलाई माछापालनमा लाग्नसमेत आग्रह गर्दै आएका छन । उनले पोखरीमा पानी भर्नका लागि सौर्य उर्जा पम्पको समेत व्यवस्था समेत गरेका छन ।

पोखरीमा डुङ्गा सञ्चालन गरेर आन्तरिक पर्यटकको आकर्षण बढाउने उनकोे योजना छ । पोखरीकै माछा बेचेर रानाले बेलौरी बजारमा घरघरेडी जोड्नुका साथै तीन विघा जग्गा समेत खरिद गर्नुभएको छ । उनले ३० जनालाई रोजगारी समेत दिनुभएको छ ।