
काठमाडौं। धानको बाला लाग्ने बेला किसानले युरिया मलको चरम अभाव झेले। ढिला गरी सरकारले ल्याइदिएको छ तर जोख्दा सबजसो बोरामा ताल कम पाइएको छ। सरकारी स्वामित्व रहेको कृषि सामग्री कम्पनीले बिशाखापट्टनमबाट वीरगञ्ज सुख्खा वन्दरगाहमा भित्र्याएको मलका हरेक बोरामा निक कम पाइएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले १० किलोसम्म कम पाएको आफूले सुनेको र गहन अध्ययन गरिरहेको बताए। भारतको इण्डियन पोटास लिमिटेड ९आईपीएल० बाट खरिद भएको युरिया मलको प्रत्येक ५० केजीका बोरामा पूरा तौल कुनैमा पनि छैन।
पछिल्लो समय युरिया मलको चर्को हाहाकार भइरहँदा कम्पनीले आईपीएलमार्फत ३० हजार मेट्रिक टन किनेको थियो। त्यसमध्ये १० हजार मेट्रिक टन भैरहवा आएर बिक्री भइसकेको छ। बाँकी २० हजार मेट्रिक टन ९आठ र्याक० मध्ये तीन दिनअघि साढे सात हजार मेट्रिक टन वीरगञ्ज सुख्खा वन्दरगाह आइपुगेको थियो।
चितवन भरतपुरका किसान दामोदर पौडेलले किनेका तीनवटै बोरामा कम तौल भेटिएको बताए। मलको चर्को अभाव भइरहेको अवस्थामा दुई दिनअघि स्थानीय कृषि सामग्री कम्पनीको शाखाले उपलब्ध गराएको थियो। ‘मल आएको सुन्नेबित्तिकै म बिहानैदेखि लाइन बसेर तीन बोरा किनें।
त्यसलाई तौल गर्दा प्रत्येकमा डेढ किलोदेखि अढाइ किलो कम पाइयो,’ उनले भने, ‘यस बिषयमा शाखा कार्यालयलाई जानकारी गराइसकेको छु।’ गोरखाको गण्डकी गाउँपालिकाको लोक कल्याण कृषि सहकारीले बिहिबार गजुरीको सहकारीबाट ३० बोरा मल किन्यो।
तीमध्ये नमूना रुपमा सात बोरा डिजिटल मेसिनमा जोख्दा डेढदेखि अढाई किलो कम भेटिएको उक्त सहकारीका प्रमुख रमेश नेपालले जानकारी दिए। उनले अन्य पसलका डिजिटल मेसिनमा समेत जोख्दा परिणाम उही हायो। उनले पनि त्यसबारे सहकारीमा जानकारी गराएको बताए।
कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय वीरगञ्जका प्रमुख अजय श्रीबास्तवले भने कम तौल नभएको दाबी गरे। उनले भने, ‘मैले पनि परीक्षण गर्दा बोरामा कम परिमाण भेटिएको फेला पार्न सकेको छैन। पूर्ण तौलकै बोरा हामीले पठाएका छौं,’ उनले भने।
वीरगञ्ज आइपुगेको साढे सात हजार मेट्रिक टन मलमध्ये दुई हजार पाँच सय मेट्रिक टन बिराटनगर, विर्तामोड, इटहरी, लाहान र राजविराज पठाइएको थियो। बाँकी पाँच हजार मेट्रिक टन बीरगञ्जको क्षेत्रीय कार्यालयमै सञ्चित गरी राखिएको छ।
मलको चर्को अभाव भएको समयमा नियमित रुपमा बिशाखापट्टनमबाट वीरगञ्ज सुख्खा वन्दरगाहमा मल आउनुपर्नेमा १० दिनको फरकमा आइरहेको छ। यसले गर्दा मलको अभाव सिर्जना भएको हो। अभावमा परेका किसानले नजोखेरै निर्धारितभन्दा बढी मूल्यमा लगिरहेका छन्।
स्रोत :अन्नपूर्ण पोस्टबाट