बिर्तामोड। झापाको बिर्तामोडमा स्थापना गर्ने भनिएको चियाको अक्सन मार्केट ९लिलाम बिक्री केन्द्र० स्थापना नहुने भएको छ । भारतले चिया निर्यात झन्झटिलो बनाएपछि व्यापारीले नेपालमै अक्सन मार्केट बनाउन प्रस्ताव गरे पनि सरकारले यो वर्ष बजेटमा समेटेको छैन ।

सरकारले पाँच वर्षअघिको बजेटमा चियाको अक्सन मार्केट स्थापना गर्ने घोषणा गरेको थियो । तर, कार्यान्वयन हुन सकेन । ‘बजेटमा अक्सनको कुरा सम्बोधन नहुँदा साना उद्योगीहरू मारमा परेका छन्,’ केन्द्रीय चिया सहकारी संघका अध्यक्ष गोविन्द दाहालले भने, ‘साना व्यवसायीलाई प्रतिस्पर्धाका लागि भारतीय र अन्य मुलुकको बजारमा पुग्न निकै समस्या छ ।’

नेपालमा उत्पादन भएको चिया भारतको लिलाम बिक्री केन्द्रमार्फत बिक्री हुन्छ । तर, बिक्रीका लागि भारतीय अक्सनमा नेपाली पहिचान दिइँदैन । भारतीय व्यापारीले किनेर बेच्ने गर्छन् ।

नेपालमा अक्सन चलाउन बिक्री हुने चियाको ६० प्रतिशत भ्याट फिर्ता गर्नुपर्ने व्यवसायीको प्रस्ताव थियो । अक्सनमा राखिएको चियालाई धितो राखेर ऋण लिन पाउनुपर्ने माग पनि गरेका थिए । अक्सन चलाउन व्यवसायीहरूले सुलभ ऋणको व्यवस्था हुनुपर्ने माग राखेका थिए । तर, व्यवसायीको माग बजेटमा नसमेटिएपछि अक्सन सञ्चालन नहुने निश्चित भएको हो ।

पाँच वर्षअघि सरकारले अक्सन मार्केट स्थापना गर्ने घोषणा गरेपछि सञ्चालन कार्यविधि पनि तयार भएको छ । चिया तथा कफी विकास बोर्डको नेतृत्वमा बनेको कार्यविधि अहिलेसम्म मन्त्रिपरिषद्बाट पारित भएको छैन ।

अक्सनलाई नियमन गर्न चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमको संयोजकत्वमा नियामक समिति र चिया उद्यमी सुरेश अग्रवालको अध्यक्षतामा अक्सन सञ्चालन कमिटी भने बनेको छ । बिर्तामोडमा कार्यालय पनि खोलिएको थियो । सरकारले अक्सन स्थापना गर्न चासो नदेखाएपछि तयारीका लागि खोलिएको कार्यालय नै बन्द भएको छ ।

आउँदो वर्षको बजेटले अक्सन मार्केट स्थापनालाई सम्बोधन नगरेपछि अक्सन सञ्चालनको बाटो बन्द भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए । ‘अक्सन चलाउन निजी क्षेत्रले राखेको सामान्य प्रस्ताव स्वीकार नभएपछि अहिलेलाई अक्सन सञ्चालन गर्ने कार्यक्रम रोकिएको छ,’ उनले भने, ‘अक्सनको भौतिक पूर्वाधार बनाउन पनि बजेट विनियोजन भएन ।’ पाँच वर्षदेखि अक्सन स्थापनाको लागि काम गर्दै आएको बोर्डले अब आफ्ना कार्यक्रमसमेत बन्द गर्ने जनाएको छ ।

अक्सन मार्केटका लागि अहिलेसम्म करिब ३५ लाख रुपैयाँ खर्च भइसकेको छ । अब अक्सन कार्यालय, वायर हाउस, ल्याब बनाउनुपर्ने थियो । बजेटमा यी कुनै कामका लागि पनि रकम छुट्याइएको छैन । बरु, सरकारले चिया उद्योगीलाई आयकरमा ५० प्रतिशत छुट दिने कार्यक्रम ल्याएको छ ।

नेपालमा दुई करोड ४४ लाख ९ हजार किलो तयारी चिया उत्पादन हुन्छ । १० प्रतिशत चिया सीधै तेस्रो देश निर्यात हुन्छ भने ९० प्रतिशत भारतीय बजारमा बिक्री हुन्छ ।