
बाँके। मनकामनापुरका किसान व्यावसायिक घाँस खेतीतर्फ आकर्षित बन्दै गएका छन् । पछिल्लो समय किसानले आफ्नै खेतबारीमा घाँस उत्पादन गरी व्यावसायिक गाईपालनसमेत गरिरहेका छन् ।
कृषि उत्पादन गरेरभन्दा व्यावसायिक पशुपालन गर्दा मनग्य आम्दानी हुने भएपछि किसानहरूले आफ्नो धेरै जस्तो जग्गामा वर्सिम, जै, डाले घाँसलगायतका घाँस उत्पादन गर्न थालेका छन् ।
आफ्नै खेतवारीमा उत्पादन गरेको घाँस बढी पोषिलो पनि हुने भएकाले आफूहरूको आकर्षण त्यसतर्फ बढेको किसानहरूको भनाइ छ । मनकामनापुरका व्यावसायिक गाईपालक कृषक नन्दकली सापकोटाले आफ्नो १ विगाहाभन्दा बढी जग्गामा घाँस खेती गरेको बताइन् । जिल्ला पशु कार्यालयले वार्षिक रूपमा बीउ दिएपछि आफू झनै आकर्षित भएको उनले बताइन् । उनले ५ वटा भैंसी र ६ वटा गाई पाल्दै आएकी छन् ।
सोही गाउँका अर्का पशुपालक मोतीलाल कँडेलले पनि व्यावसायिक घाँस खेती सुरु गरेका छन् । व्यावसायिक गाईपालन गर्ने उनले आफ्नो ५ कट्ठा जग्गामा घाँस खेती गरेका हुन् ।
पशु कार्यालयले १ किलो बीउ दिँदा आफू घाँस खेतीमा आकर्षित भएपछि पछिल्लो समय बीउ नदिएर कम्तीमा आधा हेक्टर क्षेत्रफलसम्ममा घाँस खेती गर्नेलाइ मात्रै ५ हजार, एक हेक्टरसम्म गर्नेलाई १० हजार, दुई हेक्टरसम्म व्यावसायिक घाँस खेती गर्नेलाई २० हजार रुपैयाँसम्म रकम अनुदान दिने योजनाले निरासा बनाएको उनको भनाइ छ ।
१० वटा जर्सी गाई पालेका उनलाई कहिले पनि पशुलाई खुवाउन हरियो घाँस टुट्दैन । घरमै रोपिएको घाँस पोषिलो हुने र दूध पनि राम्रै दिने हुँदा मनग्य आम्दानी गर्न सफल भएको उनको अनुभव छ ।
अर्का कृषक डिलमाया सापकोटाले पनि ४ कट्टामा व्यावसायिकरुपमै घाँस खेती गरेकी छन् । ५ वटा जर्सी गाई पालेकी उनले पराल मात्रै पोषिलो नहुने भएकाले घाँस खेती गर्न सुरु गरिएको बताइन् ।
पशु कार्यालयले समयमै बीउ नदिँदा आफूहरूलाई समस्या भएको उनको भनाइ छ । जग्गामा गरिएको खेतीको आधारमा रकम दिने भनिएको रकम पहिले नै दिएमा बीउ खरिद गरी खेती गर्न सहज हुने उनले बताइन् ।
पशु सेवा केन्द्रको खजुरास्थित कार्यालयले किसानलाई घाँसको बीउ अनुदानमा दिँदा कृषक आकर्षित भएको जनाएको छ । अबका वर्षमा बीउ नदिई नगद दिने योजना रहेको भन्दै कार्यालयले आधा हेक्टरभन्दा बढी जग्गामा खेती गर्न किसानलाई सुझाव दिएको छ ।