
विराटनगर । सरकारले अस्थायी मुकाममा हतार-हतार प्रदेश प्रमुखको कार्यालय छनोट गर्दा त्यहाँ बस्दै आएका खास कार्यालय प्रमुख भने भर्याङमुनि बस्नुपर्ने अवस्था आएको छ । कुरा हो, प्रदेश १ को प्रदेश प्रमुखको कार्यालय राखिएको विराटनगरस्थित क्षेत्रीय पशुसेवा निर्देशनालयको ।
बिराटनगरस्थित पशु निर्देशनालयमा प्रदेश प्रमुख गोविन्द सुब्बाको कार्यालय राखिएपछि सोही कार्यालयका प्रमुख डा. तेजबहादुर रिजाल अहिले कार्यकक्षविहीन भएका छन् । उनको कार्यकक्ष रहेको कोठामा प्रदेश प्रमुख सुब्बाको कार्यकक्ष बनाइएको छ ।
डा.रिजाल कार्यकक्षविहीन भएपछि तीन दिनदेखि कार्यालयको भुइँ तल्लाको भर्याङको प्यासेजमा बस्दै आएका छन् ।
हतारमा आफ्नो कार्यकक्षलाई नै प्रदेश प्रमुखका लागि प्रयोगमा ल्याइँदा दराजमा रहेका कागजपत्रसमेत झिक्न नपाएको डा. रिजालले गुनासो गरे । कार्यालयका सबै कोठामा अरु कर्मचारीका कार्यकक्ष रहेकाले आफू भर्याङ नजिकैको प्यासेजमा कुर्सी राखेर बस्नुपरेको उनले बताए ।
पशु सेवा निर्देशनालयका निर्देशकको कार्यकक्षलाई प्रदेश प्रमुखको कार्यकक्ष बनाउनुबाहेक अरु काम केही भएको छैन । तीनतले भवनका अन्य कोठा पशु सेवा निर्देशनालका कर्मचारीले नै प्रयोग गर्दै आएका छन् ।