काठमाडौं । एक हप्ताअघि प्रतिकेजी प्याजको औसत मूल्य एक सय २० रुपैयाँ थियो । मंगलबार प्याजको मूल्यमा २७ प्रतिशतले गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार थोक बजारमा प्याजको मूल्य प्रतिकेजी ८९ रुपैयाँ रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अध्यक्ष तथा कृषि विकास मन्त्रालयका सह–सचिव काशीराज दाहालले भारतमा प्याजको मूल्य वृद्धि भएकोले नेपालमा प्रत्यक्ष असर परेको बताए ।

नेपालमा अन्य तरकारीको तुलनामा प्याज कमै उत्पादन हुने गरेको दाहालको भनाइ छ । भारतको नयाँ दिल्लीमा खुद्रा बजारमा प्याज ७० देखि ८० भारतीय रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ । भारतका अन्य प्रमुख सहरमा पनि उत्तिकै मात्रामा प्याजको भाउ बढिरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा अहिले दैनिक चार सय ५० मेट्रिक टन तरकारी आपूर्ति हुन थालेको छ । तरकारी आयात ५० बाट ६५ प्रतिशत पुगेको छ ।