• बिल बहादुर अधिकारी
चितवन । रत्ननगर देबौलीका भिमलाल सापकोटाको को फर्ममा २० वटा गाई छन् । विगत सात वर्षदेखि व्यवसायिकरूपमा गाईपालन गर्दैै आएका उनको पशुपालन व्यवसाय रत्ननगरकै नमुना मध्यमा पर्ने फार्म हो । उनले सोचेजस्तो आम्दानी लिन भने सकेका छैनन् । पशु आहारको मूल्य आकासिएपछि उनको आम्दानी घटेको छ ।‘पहिला जस्तो आम्दानी हुँदैन’, उनले भने, ‘दानाचोकरको मूल्य छोईनसक्नु छ, त्यही भएर पनि आम्दानी घट्दैछ ।’“कामदार पाउनै मुस्किल छ, जति पैसा तिर्छु भन्दा पनि पाइन्न”, उनले भने,“घरकै सदस्यबाटै सबै काम गर्न पनि अप्ठ्यारो हुँदोरहेछ ।” जिल्ला प्रशासन कार्यालय चितवनमा कार्यरत हरिबाबु ढकाल सहितका सात जनाको लगानीमा भरतपुर १३ मा सञ्चालनमा आएको मिलन पशुपालन तथा दुग्ध उत्पादन केन्द्र बन्द गर्ने अवस्थामा पुगेका छन् । “लगानी अनुसारको आम्दानी गर्न नसकेपछि फर्मनै बन्द गर्न अवस्थामा पुगेका छौं”, ढकालले भने,“राज्यले किसानलाई प्रोत्साहन गर्ने नीति ल्याउनु जरुरी छ ।”कोरियाबाट फर्किएर ब्यबसायिक गाईपालन गरेका भरतपुर -२१ गोपालगन्जका कृष्ण भट्टराईको फार्म बन्द भैसकेको छ।
सापकोटा , ढकाल र भट्टराईको जस्तो समस्या चितवनमा व्यवसायिकरूपमा गाईपालन गर्ने सबै किसानले झेल्दै आएका छन् ।आहारको मूल्यवृद्धिको चर्को मार खेपिरहेका किसानहरुले पशु सेवा विभागका महानिर्देशक डा.विमलकुमार निर्मलसँग समस्या पोखेका छन् । व्यवसायिक पशुपालन तथा दुध उत्पादक कृषक समाज जिल्ला समिति चितवन ले भरतपुरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा किसानहरुले दाना, चोकर र परालमा भएको मूल्य वृद्धिका कारण गाई पाल्नै मुस्किल भएको गुनासो गरे । पशु आहारमा भएको अत्यधिक मूल्य वृद्धिले उत्पादन लागत र बिक्री मूल्य करिब करिब उस्तै पर्न जाने किसानहरुको भनाइ छ ।
कृषक हरि प्रसाद अधिकारीले दुखेसो पोख्दै भने ‘४० किलो चोकरलाई एक हजार ३०० रूपैयाँ पर्छ, त्यो चोकर एउटा गाईलाई चार दिन मात्र पुग्छ’, उनले भने, ‘यस्तो अवस्थामा किसानले कसरी गाई पाल्न सक्छ ।’ प्रत्येक वर्ष परालको मूल्य वृद्धिले गर्दा किसानहरुले अपेक्षाकृत फाइदा लिन नसकेको उनको भनाइ छ ।
‘एक कठ्ठाको पराललाई एक हजार ५०० पर्छ’ उनले भने, ‘एउटा गाईलाई एक वर्षमा ३० हजारको परालले पुग्दैन ।’ उनले लागत मूल्य दिनप्रतिदिन बढदै जाँदा पशुपालन गर्ने किसान विस्तापित हुने खतरा बढेको बताए । महानिर्देशक डा. विमलकुमार निर्मलसँग किसानहरुले दानाचोकर र घाँसमा आधारित पशुपालनलाई प्रोत्साहन गर्न आग्रह गरे । व्यवसायिक पशुपालन तथा दुध उत्पादक कृषक समाज चितवनका उपाध्यक्ष खेमराज तिमिल्सेनाले दूधमा मुलुकलाई आत्मर्निभर बनाउन सरकारले किसानलाई अनुदान भन्दापनि किसानमैत्री नीतिराज्यले बनाउनुपर्ने बताए ।सरकारले किसानलाई दिँदै आएको अनुदान रकम किसानको पहुँचसम्म पुग्न नसेको भन्दै उनले अनुदान वितरण कार्यलाई प्रभावकारी बनाउन आग्रह गरे ।
पशुपालन व्यवसायलाई राज्यले सम्मान गर्न सकेमात्र पाँच वर्षभित्र मुलुक दूधमा आत्मनिर्भर हुने समाजका केन्द्रियअध्यक्ष आनन्द निउरेले बताए । कार्यक्रममा केन्द्रीय दुध उत्पादक सहकारी संघका केन्द्रिय सदस्य भगिरथ तिमिल्सेनाले सरकारले किसानलाई दिने अनुदान एकद्वार प्रणालीबाट वितरण गर्न सरकारलाई सुझाव दिए । किसानका गुनासो सुनिसकेपछि महानिर्देशक डा. विमलकुमार निर्मलले अनुदान वितरण प्रभावकारी नभएको स्वीकार गरे । पशु आहारमा भएको मूल्य वृद्धि पशुपालनको प्रमुख चुनौतीको रुपमा अगाडि आएको भन्दै उनले मूल्य निर्धारणको लागि सरकारी पहल थाल्ने बताए । पशुपालनमा प्रविधिको प्रयोग बढ्दै गए पनि प्रभावकारी हुन नसेकको उनले बताए । उनले पशुपालनलाई यान्त्रिकीरण गरेर जनशक्ति कम लाग्ने अवस्थाको सृजना गर्न राज्य तयार रहेको बताए ।कार्यक्रम समाजका जिल्ला अध्यक्ष कृष्णराज भण्डारीको अध्यक्षता र  सचिब इन्द्रमणि गैरे को संचालनमा भएको थियो।
अन्तरक्रिया कार्यक्रम अघि ब्यबसायिक दुग्ध उत्पादक कृषक समाज,चितवनको आयोजनामा किसानहरुका गाईगोठहरुको स्थलगत निरीक्षण भएको थियो । पशु सेवा विभागका महानिर्देशक डा. विमल कुमार निर्मल,पशु उत्पादन निर्देशानलयका डा. तेज बहादुर रिजाल, गाई भैंसी प्रबर्धन केन्द्रका डा. रेशम राज ज्ञवाली ,रास्ट्रिय चरण तथा पशु आहारा केन्द्रका प्रमुख डा. शंकर शाह , जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा. डिल्लीराम सेढाई, रास्ट्रिय ब्यबसायिक पशुपालन तथा दुध उत्पादक कृषक समाज, नेपालका केन्द्रिय अध्यक्ष आनन्द निउरे ,दुध उत्पादक सहकारी संघका केन्द्रिय सदस्य भगिरथ तिमिल्सेना सहित पत्रकारहरुको टोलीले पूर्वि तथा पश्चिम चितवनका ८ वटा गाई तथा भैसी फार्महरु र पुर्बी चितवनको ज्यामिरेमा रहेको जानकी दाना उधोग र पश्चिम चितवन को कल्याणपुर मा रहेको लोकप्रिय दाना उद्योगको निरीक्षण गरेको थियो । दाना उधोगको निरिक्षण पछि ती उधोगबाट परिक्षण को लागि दाना समेत संकलन गरिएको थियो ।
महानिर्देशकलाई किसानको मागपत्र
ब्यबसायिक दुग्ध उत्पादक कृषक समाजले पशु सेवा विभागका महानिर्देशकलाई ९ बुँदे मागपत्र बुझाएको छ । भरतपुरमा आयोजित “ब्यबसायिक पशुपालक कृषकका समस्या र समाधान बिषयक अन्तरक्रियात्मक छलफल “ कार्यक्रममा समाजका अध्यक्ष कृष्णराज भण्डारीले महानिर्देशक डा. विमल कुमार निर्मललाई सो मागपत्र बुझाएका हुन् ।
मागपत्रमा किसानहरुले चाहेमा गुणस्तरीय सिमेनहरु आयात गर्ने वातावरण बनाउनुपर्ने, उन्नत नश्लको लागि आवश्यक गुणस्तरीय पौष्टिक दाना उत्पादन गर्न किसानलाई सहयोग गर्नुपर्ने, किसानलाई घाँस उत्पादन तथा बिक्रि गर्ने वातावरण तयार गर्नुपर्ने, पशु सेवा कार्यालय र उपकेन्द्रहरुको सुदृढिकरण गरिनुपर्ने, भेटेरेनरी औषधिहरुको मूल्य तथा बजार अनुगमन गर्नुपर्ने, अनुत्पादक गाईहरु निर्यात गर्नपाउनुपर्ने, व्यवसाय विमाको नीति बनाउनुपर्ने, दुध तथा दुग्धजन्य पदार्थ विविधिकरण गर्न व्यवसायीलाई प्रतिस्पर्धि बनाउन भुमिका खेल्नुपर्ने लगायतका मागहरु राखेका छन् । “मागपत्र बुझाएका छौं”, कृषक समाजका अध्यक्ष कृष्णराज भण्डारीले भने,“किसानहरुको लागत कम गराउन राज्यले चाँडै विशेष कार्यक्रम ल्याउने विश्वास लिएका छौं ।”