पर्वत । पर्वतका किसानहरुले व्यवसायिक रुपमा घाँसखेती गर्दै आएका छन् । व्यवसायिक पशुपालनमा वृद्धि भएसँगै पर्वतमा उन्नत घाँस खेती फस्टाएको छ ।
जिल्ला पशुसेवा कार्यालयले पशुपालनमा वृद्धि गर्न तथा कृषकहरुलाई प्रोत्साहन गर्नको लागि विभिन्न प्रजातीका उन्नत घाँसका वीउ सहुलियत मूल्यमा उपलब्ध गराएको छ । हाल कृषकहरुले जै, वरसिम, भेज लगायतका प्रजातीको व्यवसायिक खेती गरेका छन् । जै घाँसको व्यवसायिक उत्पादनमा कृषकहरुले बढी रुचि देखाएका छन् । जिल्लामा व्यवसायिक पशुपालन गर्दै आएका दर्जनांै कृषकहरुले जै घाँसको बीउ बिक्री गर्ने गरेका छन् । प्रति केजी ४५ रूपैयाँसम्ममा जै घाँसको बीउ बिक्री हुने गरेको छ ।
जिल्लाको पाङ, खुर्कोट, कटुवाचौपारी, देउपुर, खानीगाउँ, देवीस्थान, कुर्घा लगायतका स्थानहरु जै घाँसको पकेट क्षेत्र मानिन्छन् । जै घाँस खासगरी सिंचाईको सुविधा भएको खेतीयोग्य जमिनमा बढी फस्टाउने गर्दछ । जिल्ला पशुसेवा कार्यालयले यस वर्ष जै घाँसको एकहजार पाँचसय केजी बीउ कृषकहरुलाई अनुदानमा वितरण गरेको बताएको छ । जै घाँसको वीउ प्रति हेक्टर एकसय देखि एकसय बीस केजीसम्म लगाउन सकिन्छ ।
यस वर्ष मात्र जै घाँसको वीउ उत्पादन २० टन भएको जिल्ला पशु सेवा कार्यालयले बताएको छ । गत वर्ष ३० टन वीउ उत्पादन भएकोमा यस वर्ष केही सुख्खा परेकोले बीउको उत्पादन घटेको हो । जै घाँसबाट हरियो घाँसका साथै बीउ पनि उत्पादन हुन्छ । जै घाँसमा पर्वत आत्मनिर्भर समेत बनेको छ । उत्पादित जै घाँसको वीउमध्ये करीव ८ टन पर्वतमै खपत हुन्छ भने बाँकी विभिन्न जिल्लामा बिक्री हुने गरेको छ । बाह्रै महीना हरियो भै रहने हुँदा पनि यो घाँसमा कृषकको रुचि बढेको हो । सुख्खायाममा पशुहरुलाई सुकेको पराल खुवाउने झण्झटबाट जै घाँसले कृषकहरुलाई राहत दिएको कृषकहरु बताउँछन् । जै घाँस खुवाएपछि दुध उत्पादन पनि वृद्धि हुने र पशुको स्वास्थ्य बलियो हुने जिल्ला पशु विकास अधिकृत विष्णु बहादुर पाण्डे बताउँछन् ।
जै घाँसको व्यवसायिक खेती गरेकी कृषक शोभा कुमारी क्षेत्रीले यस वर्ष १२ क्वीण्टल बीउ उत्पादन गरेकी छन् । कुर्घा ६ चिर्दीखोला घर भएकी क्षेत्रीले १० रोपनी जग्गामा घाँस लगाएकी हुन् । कृषक क्षेत्रीले भनिन्, ‘हिउँदमा हरियो घाँस खुवाउन पाइने र वर्षमै दुई पटक घाँसको उत्पादन गरेर पुन बीउ उत्पादन गर्न सकिने हुँदा जै घाँसको खेती राम्रो लागेको छ ।’ विकासे घाँसको खेतीका कारण पशुपालक कृषकहरुको व्यवसायमा समेत टेवा पुगेको पाइएको छ भने जिल्लामा दूग्ध उत्पादन समेत वृद्धि भएको स्थानीय दूग्ध सहकारी व्यवसायी राजु शर्मा बताउँछन् । यो वर्षदेखि मोलाटो, सिटेरिया, सिओफोर नेपियर लगायत घाँसका बेर्ना उत्पादनमा लाग्ने जिल्ला पशु कार्यालयका पशु विकास अधिकृत पाण्डेले बताए ।