ताप्लेजुुङ। ताप्लेजुङको मुख्य नगदेबालीको रुपमा रहेको अलैंची बजारमा निस्कन थालेसँगै मूल्य निरन्तर ओरालो लाग्न थालेको छ । खोल्सीको ‘कालो सुन’ उपमाले समेत चिनिएको नगदेबाली अलैंचीको मूल्य हाल अस्वाभाविक रुपमा घट्दै गएकाले अलैंची उत्पादक तथा किसान चिन्तित बनेका छन् । बजारमा नयाँ अलैंची निस्किन थालेको करिव डेढ महिना पुग्न लाग्दा मूल्य प्रति मन १७ हजार रुपियाँले घटेको छ ।
भदौको सुरु देखि बजारमा नयाँ अलैंचीको फसल निस्कन थालेको हो । शुरुमा अलैंची प्रतिमन (४० किलोग्राम) को ७३ हजार रुपियाँसम्ममा कारोबार भएको भएपनि हाल १७ हजारले मूल्य घटेर प्रतिमन ५५÷५६ हजार रुपियाँमा कारोबार भइरहेको छ । सदरमुकाम फुङ्लिङ बजारका स्थानीय अलैंची व्यवसायी भद्रबीर रेग्मीले शुक्रबार प्रतिमन ५६ हजार रुपियाँले अलैंचीको कारोबार भइरहेको बताउनुभयो । व्यवसायी रेग्मीले नयाँ अलैंची निस्कन थालेसँगै मूल्य निरन्तर घटिरहेको जानकारी दिनुभयो ।यसरी अलैंची मूल्य निरन्तर घट्दै जाँदा आपूmहरुलाई घाटा भएको किसान बताउँछन् । जिल्लाको तल्लो क्षेत्रमा निस्कन थालेको अलैंचीले भनेजस्तो मूल्य नपाएको किसानको गुनासो छ । दशैं तिहारजस्तो चाडपर्व नजिकिसँगै खर्चको जोहो गर्नुपर्ने भएकाले सस्तो मूल्यमा भएपनि अलैंची बिक्री गर्नुपरेको किसान बताउँछन् ।
फुरुम्बुका किसान जीवन लिम्बू हिजोआज बजारमा अलैंची पु¥याएर आपूmलाई आवश्यकता पर्ने थोरै रकम मात्र दिन र भाउ पछि काटौभन्दा व्यवसायी नमान्ने गरेको बताउनुहुन्छ । लिम्बूका अनुसार पछि मूल्य आउने नआउने कुनै निश्चित नहुने भन्दै व्यवसायीले तत्कालको बजार मूल्य जति छ, त्यही मूल्य काटी हाल्ने गरेका छन् । अस्थितर अलैंचीको मूल्यका कारण धेरै घाटा बेहोर्नुपर्ने हुँदा तत्कालको बजार भाउ अनुसार किसानलाई मूल्य तिरिहाल्ने गरेको व्यवसायी बताउँछन् । शुरुमा भाउ नकाटी धेरै मूल्य पर्खने चलनले व्यवसायी र किसान दुवैलाई घाटा भएको फुङ्लिङका व्यवसायी दिनेश अधिकारीले बताउनुभयो ।
गतवर्ष यो सिजनमा अलैंचीको मूल्य प्रतिमन ९० हजार रुपियाँ रहेको थियो । गतवर्षको तुलनामा यो वर्ष सुरुमै झण्डै प्रतिमन २० हजार रुपियाँले मूल्य घटेको र सो मूल्य पनि निरन्तर घट्दो क्रमले अलैंची किसान तथा व्यवसायी दुवैलाई चिन्तित बनाएको व्यवसायी रेग्मी बताउनुहुन्छ । उहाँले पूरानो अलैंची करिव २५ प्रतिशत मौज्जाद रहेका कारण यो वर्ष मूल्यमा गिरावट आएको हुनसक्ने बताउनुभयो । गएको वर्ष कम्तिमा प्रतिमन एक लाख रुपियाँ मूल्य पुग्दा मात्र अलैंची विक्री गर्ने भनी उत्पादक तथा व्यवसायी दुवैले भाउ पर्खेर बस्नाले धेरै घाटा भएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार बढी मूल्यको पर्खाइमा स्थानीय व्यापारीले बिर्तामोड पु¥याएको अलैंची पनि विक्री नगरी त्यतिकै गोदाम गरेर राखेका छन् । प्रायः अलैंची मूल्य विदेशी बजारले निर्धारण गर्ने हुँदा हालसम्म विदेशी बजारमा माग नबढेको स्थानीय व्यवसायी बताउँछन् । अलैंचीको माग बढ्न थालेपछि मूल्य पनि बढ्ने व्यवसायीको भनाइ छ ।
यता यो वर्ष अघिल्लो वर्षको तुलनामा जिल्लाको औल क्षेत्रमा अलैंची उत्पादन पनि घटेको र मूल्य पनि घटनाले बढी घाटा हुने भएको किसान बताउँछन् । उता जिल्लाको मध्य तथा लेकाली क्षेत्रका अलैंची बगानमा भने यो वर्ष राम्रै फल लागेकाले उत्पादन बढ्नसक्ने जिल्ला कृषि विकास कार्यालयको अनुमान छ । तल्लो क्षेत्रमा उत्पादन घटेपनि माथिल्लो क्षेत्रमा राम्रै फल लागेको र खेती समेत विस्तार भएकाले यो वर्ष समग्र जिल्लामा गत वर्षभन्दा अलैंची उत्पादन नघट्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।