पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले उत्पादनका आधारमा मासुमा अनुदानको व्यवस्था ल्याएको छ । गाउँपालिकाले प्रतिकिलो मासुमा २० रुपैयाँ अनुदान प्रदान गर्ने कार्यक्रम ल्याएको हो ।

किसानले उत्पादन गरेको जिउँदा खसीबोकाको कारोबारमा अनुदानको व्यवस्था गरिएको हो ।गाउँपालिका क्षेत्रभित्रका किसानका उत्पादित दूध, तरकारी र मासुमा अनुदानको व्यवस्था ल्याएसँगै स्थानीय बासिन्दा खुशी छन् । स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउनका लागि अनुदानको व्यवस्था गरिएको हो । गाउँपालिका क्षेत्रमा दूध, तरकारी र मासुमा आत्मनिर्भर नभएपछि अनुदानका माध्यमबाट यूवालाई व्यावसायिक बनाउन थालिएको छ ।

युवालाई व्यावसायिक बनाउन सकेको अवस्थामा गाउँपालिका दूध, तरकारी र मासुमा आत्मनिर्भर हुने गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । दूधमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा, तरकारीमा प्रतिकिलो एक रुपैयाँ ५० पैसा र खसीबोकामा प्रतिकिलो २० रुपैयाँ अनुदानको व्यवस्था गरिएको गाउँपालिका प्रवक्ता विष्णु पोखरेलले बताउनुभयो ।

गाउँपालिका क्षेत्रभित्रको भुवन पोखरी, सोमादी, मुभुङ्ग र छहरामा गाईभैँसीपालन गरी दूधको कारोबार बढ्दो छ । जिल्लाका रिब्दिकोट तिनाउ र बगनासकाली गाउँपालिकामा दूध उत्पादनका आधारमा अनुदान वितरणलाई कार्यान्वयन गर्न थालेपछि रैनादेवी छहरा गाउँपालिकाले पनि अनुदानको कार्यक्रम ल्याएको छ ।

अनुदानका लागि सघं संस्था, समूह तथा सहकारीमार्फत कारोबार गर्नेलाई मात्र अनुदान प्रदान गरिनेछ । गाउँपालिकाले कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ ८० किसानलाई भकारो सुधार कार्यक्रममा प्रतिभकारो सुधारका लागि सात हजार अनुदान प्रदान गरिने भएको प्रवक्ता पोखरेलले बताउनुभयो । गाउँपालिकाले किसानलाई मिल्कएनलाइजर, मिनि टेलर, मिल्क क्यानलगायतका कृषि औजारमा अनुदानका कार्यक्रम ल्याएको हो ।