चितवन। नेपालको कृषि क्षेत्रमा रासायनिक विषादीको अनियन्त्रित प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर संकट निम्त्याइरहेका बेला चितवनको भरतपुरकी एक युवा कीट वैज्ञानिक निशा सुवेदी जैविक विकल्पसहितको कीरा व्यवस्थापन अभियानमा सक्रिय छिन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट कीट – विज्ञानमा स्नातकोत्तर तह पूरा गरेकी सुवेदीले आफ्नो अध्ययन र अनुसन्धानको ज्ञानलाई केवल प्रमाण – पत्रमा सीमित नराखी किसानहरुको खेतबारी र विद्यार्थीहरुको कक्षाकोठासम्म पुर्याउन शुरु गरेकी हुन् । सुवेदीको अनुसार किसानहरूमा बालीनालीमा कीरा लाग्नुअघि नै आउला किु भनेर पूर्वसावधानीका नाममा रासायनिक विषादी छर्ने र खेतमा १/२ वटा कीरा देख्ने बित्तिकै कडा रासायनिक विष प्रयोग गर्ने घातक अभ्यास बढ्दो छ । कुन कीराका लागि कुन औषधि उपयुक्त हुन्छ भन्ने प्राविधिक ज्ञानको अभावमा गरिने यस्तो अन्धाधुन्ध प्रयोगले कीराहरूमा बिस्तारै विषादी प्रतिरोध क्षमताु विकास हुने र मित्र कीराहरू नष्ट भई शत्रु कीराको झन् तीव्र पुनरागमनु हुने जोखिम रहन्छ । यस्ता रसायनहरू माटो र जलस्रोतमा वर्षौंसम्म रहँदा वातावरणीय सन्तुलन बिग्रनुका साथै खाद्यान्नमार्फत मानव शरीरमा प्रवेश गरी गम्भीर स्वास्थ्य क्षति पुर्याइरहेका छन् ।
यस जनचेतना अभियानमा होमिनका लागि आफूले स्नातकोत्तर तहमा २ वर्षसम्म गरेको अनुसन्धान नै मुख्य प्रेरणाको स्रोत रहेको सुवेदी बताउँछिन् । सुवेदीले हानिकारक रासायनिक विषादीको सुरक्षित विकल्पका रूपमा जैविक ढुसीको प्रयोग गरी फौजीकीरा व्यवस्थापनमा त्यसको प्रभावकारिताको अध्ययन गरेकी थिइन् । अनुसन्धानका क्रममा सुवेदीले मेटा्रिजियम राइलीु नामक ढुसी फौजीकीरा नियन्त्रणमा प्रभावकारी छ भनेर नेपालकै सन्दर्भमा पहिलो पटक वैज्ञानिक रूपमा प्रमाणित गरिन् ।
अनुसन्धानबाट प्राप्त यो ब्रेकथ्रु ज्ञानलाई निशाले अहिले भरतपुरका किसानहरु र विद्यार्थीहरूमाझ निःशुल्क जनचेतना अभियान भनेर कार्यक्रम संचालन गरेकी छिन् । प्रयोगशालाको अनुसन्धान र प्राविधिक सीपलाई किसानहरुको खेतबारीमा पुर्याएर सेवा दिने सुवेदीको यो प्रशंसनीय कार्यले सुरक्षित र विषादीमुक्त कृषिका लागि थप आशा मिलेको छ ।









