ललितपुर।  इन्टरनेट सेवाप्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ‘वाई-फाई सिक्स’ प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्ने उद्देश्यले कम्पनीले नयाँ वाई-फाई प्रविधि भित्र्याएको हो ।

पुरानो प्रविधिको तुलनामा चार गुणा बढी कार्यक्षमता प्रदान गर्ने यो प्रविधिले लेटेन्सीलाई न्यूनतम स्तरमा झार्ने भायानेटको दाबी छ । ग्राहकका लागि २५० एमबीपीएसदेखि ६०० एमबीपीएससम्म स्पिड भएको ‘वाई-फाई सिक्स’ प्याकेज ल्याइएको छ ।

जसमध्ये २५० एमबीपीएस स्पिडको वार्षिक योजना भ्याटसहित १३ हजार ८०० रुपैयाँमा उपलब्ध हुनेछ । यसका साथै, वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले थप एक महिनाको इन्टरनेट सेवा निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

घरको कुना-कुनासम्म समान रूपमा इन्टरनेट सिग्नल पुर्‍याउन कम्पनीले भ्याटसहित तीन हजार पाँच सय रुपैयाँमा वाई-फाई सिक्स मेस राउटरको विकल्प पनि उपलब्ध गराएको छ । बाक्लो भित्ता वा ठुलो क्षेत्रफल भएका घरका सबै भागमा साधारण राउटरले सिग्नल पुर्‍याउन नसक्ने समस्यालाई यो मेस प्रणालीले समाधान गर्ने कम्पनीको भनाइ छ ।

यसैगरी पुराना ग्राहकलाई लक्षित गर्दै इन्टरनेट अपग्रेड प्रक्रिया किफायती बनाएको कम्पनीले जनाएको छ । हालका प्रयोगकर्ताले ५०० रुपैयाँ शुल्क तिरेर आफ्नो पुरानो राउटरलाई नयाँ ‘वाई-फाई ६ ओएनयू’मा परिवर्तन गर्न सक्नेछन् ।

फोरके भिडिओ स्ट्रिमिङदेखि बिना रोकावटको अनलाइन गेमसम्मका आधुनिक आवश्यकतालाई वाई-फाई सिक्स प्रविधिले सहजै पूरा गर्ने कम्पनीको दाबी छ ।