विराटनगर। मोरङको सुन्दरहरैंचा नगरपालिका-४ मा रहेको एक लेयर्स कुखुरा फार्ममा बर्ड फ्लु रोग पुष्टि भएको छ । उक्त फार्म आसपासका कुखुराहरूमा पनि सोही प्रकारका लक्षण देखिएको र कुखुराको मृत्यु समेत भएको जनाइएको छ ।
संक्रमण थप फैलिन नदिन सम्बन्धित निकायले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा कृषकलाई अनुरोध गरेको छ । प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा, मासु, दाना तथा उपकरणहरूको ओसारपसार अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा बन्द गरिएको छ ।
त्यसैगरी, कुखुरामा असामान्य बिरामी वा अचानक मृत्यु भएमा तुरुन्त वडा कार्यालय वा पशुपन्छी विकास शाखामा जानकारी गराउन भनिएको छ । कुखुरा पालक किसानलाई फार्ममा अनावश्यक व्यक्तिको प्रवेश रोक्न र प्रवेश–निकास स्थानमा नियमित रूपमा डिसइन्फेक्टेन्ट प्रयोग गर्न निर्देशन दिइएको छ ।
सर्वसाधारणलाई मृत वा बिरामी कुखुरासँग सम्पर्क नगर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ । संक्रमित तथा मृत कुखुराको व्यवस्थापन पनि तोकिएको मापदण्ड अनुसार सुरक्षित रूपमा गर्नुपर्ने जनाइएको छ ।
स्थानीय बजार तथा कुखुरा पसलहरूले सम्बन्धित निकायबाट जारी निर्देशनहरूको पूर्ण पालना गर्नुपर्नेछ । संक्रमण नियन्त्रण र रोकथामका लागि सबै नगरवासीको सहयोग आवश्यक रहेको जनाइएको छ ।









