चितवन। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर अण्डाको माग बढेको छ । माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः वृद्धि हुँदै गएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको फार्म मूल्य बढाएको हो ।

नयाँ मूल्यसूचीअनुसार ठूलो अण्डाको एक क्रेट (३० वटा) को फार्म मूल्य ४९५ रुपैयाँ कायम गरिएको छ । यसअघि ४६५ रुपैयाँमा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य ३० रुपैयाँले बढेको हो । यस्तै, मझौला अण्डाको फार्म मूल्य ४७५ रुपैयाँ तोकिएको छ, जुन पहिले ४४५ रुपैयाँ थियो ।

गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यतिबेला ठूलो अण्डा फार्ममा प्रतिकरेट ५६५ रुपैयाँ र मझौला अण्डा ५५० रुपैयाँमा बिक्री भएको थियो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार निर्वाचनको माहोल, सीमा क्षेत्रमा भएको कडाइ तथा आपूर्ति घट्नुले अण्डाको मूल्य बढ्न पुगेको हो ।

उत्पादन गर्ने कुखुराको सङ्ख्या घट्नु, अण्डा उत्पादनमा कमी आउनु तथा बन्द रहेका विद्यालयहरू पुनः सञ्चालनमा आउनुले पनि माग बढाएको सङ्घको भनाइ छ । हाल अण्डा उत्पादनको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ। यस आधारमा किसानको लागत मूल्य प्रतिकरेट ५७४ रुपैयाँ ६ पैसा पुग्छ ।

लागत मूल्य नजिक पुगेको अवस्थामा अण्डाको मूल्य घटेपछि किसान निराश बनेका थिए । पछिल्लो मूल्य वृद्धिसँगै अब मूल्य अझै सुधार हुने आशामा किसान रहेका छन् । सङ्घले बजारको अवस्था हेरेर अण्डाको समर्थन मूल्य निर्धारण गर्दै आएको जनाएको छ ।