चितवन। पर्यटकीय नगरी चितवनको सौराहामा पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हुँदै आएको ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’ यस वर्ष पुस ११ गतेदेखि १३ गतेसम्म हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सह -आयोजनामा महोत्सव गर्न लागिएको हो । वि.सं. २०५५ सालदेखि शुरु भएको ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’ मा यस वर्ष हात्तीको शृंगार प्रतियोगिता, हात्तीको वनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्याबारे जानकारी दिनेलगायत कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

महोत्सव संयोजक गुणराज थपलियाका अनुसार पालिकास्तरीय डुङ्गा दौड प्रतियोगिता, हात्ती मैत्री प्रतियोगिताहरू, सफारी टुरिजम प्रवर्द्धनका लागि पाहुनालाई हात्ती, जिप तथा डुङ्गा सफारी गराइने छ । उक्त महोत्सवमा ८० वटा हात्तीलाई सहभागी गराइने थपलियाले जानकारी दिए । थपलियाका अनुसार चित्रकला प्रतियोगिता, मानव वन्यजन्तु सहअस्तित्व, पर्यापर्यटन र संरक्षणमा हात्तीको महत्वसम्बन्धी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, हात्तीको महत्वबारे संरक्षकर्मी, वातावरणविद्, पूर्वसंरक्षण अधिकृतहरूको सन्देशमूलक सामग्री प्रदर्शन गरिने छ । उक्त महोत्सवले २५ देखि ३० प्रतिशत पर्यटकको आगमनमा वृद्धि हुने अनुमान आयोजकले गरेको छ ।