ललितपुर। नेपालमा पहिलो राष्ट्रिय बाली प्रजनन, अनुवंश र बीउ विज्ञान सम्मेलन हुने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान र बाली प्रजनन तथा अनुवंश समाज नेपालको आयोजना एवम् जिन बैंक, लिबर्ड, अक्सफामलगायतका सङ्घ–संस्थाहरूको सहआयोजनामा सम्मेलन हुने भएको हो ।
आउँदो माघ ६ गतेदेखि ३ दिनसम्म ललितपुरमा हुने सम्मेलनमा विभिन्न बाली प्रजनन र अनुवंशिक अनुसन्धानको इतिहासदेखि वर्तमानसम्मको समिक्षासहित बाली प्रजनन र बीउको क्षेत्रमा देखा परेका समस्याको समाधान र भावी कार्यदिशाबारे निष्कर्ष निकाल्ने उदेश्य रहेको छ ।
सम्मेलन आयोजक कमिटीले कार्यतालिका तयार गरी कार्यपत्रहरूको आह्वानसमेत गरिसकेको छ । यो सम्मेलनमा देशभरबाट बाली प्रजनन, अनुवंश र बीउ विज्ञानका विविध क्षेत्रमा अनुसन्धान, शिक्षण र विस्तारमा संलग्न वैज्ञानिक, प्राविधिक, प्राध्यापक, विद्यार्थी र किसान गरी १ सय ५० जनाको सहभागिता रहने सम्मेलन आयोजक कमिटीका तर्फबाट राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा। कालिकाप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
सम्मेलनमा विभिन्न विषयका ६ वटा समूहमा ५० वटा कार्यपत्र प्रस्तुत हुने अपेक्षा छ ।









