कास्की। नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेशको आयोजनामा ‘दुग्ध क्षेत्रको वर्तमान अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम कास्कीको पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको प्यानल डिस्कसनमा दुग्ध क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे आ – आफ्ना धारणा राखेका छन् । उक्त कार्यक्रममा बोल्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले दुग्ध क्षेत्र देशको अर्थतन्त्र र ग्रामीण जीविकोपार्जनको महत्वपूर्ण आधार भए पनि पछिल्लो समय लागत वृद्धि, बजार अस्थिरता र नीतिगत अन्योलले उद्योग दबाबमा परेको बताए । ‘किसानदेखि उद्योगसम्म सबै प्रभावित छन्, दीर्घकालीन नीति र कार्यान्वयन बिना यो क्षेत्र टिकाउ हुन सक्दैन’, दाहालले भने । यस्तै, कास्कीको पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले स्थानीय सरकार दुग्ध क्षेत्रको विकासप्रति संवेदनशील रहेको उल्लेख गर्दै महानगरपालिकाले सहुलियत, प्रवर्द्धन कार्यक्रम र सहकार्यका माध्यमबाट सहयोग गर्न सक्ने बताए । ‘स्थानीय उत्पादनको बजारीकरण र मूल्य स्थिरताका लागि पालिकाले भूमिका खेल्नुपर्छ’, कडरियाले भने ।

त्यसैगरी, भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीका वरिष्ठ पशु विकास अधिकृत डा. गृष्म न्यौपानेले पशु स्वास्थ्य, गुणस्तरीय दूध उत्पादन र रोग नियन्त्रणमा चुनौती रहेको औंल्याए । न्यौपानेले वैज्ञानिक पशुपालन, खोप कार्यक्रम र किसानहरुलाई प्राविधिक ज्ञान आवश्यक रहेको बताउँदै भने,‘उत्पादन बढाउने मात्र होइन, गुणस्तर कायम गर्नु आजको मुख्य चुनौती हो ।’ त्यस्तै, नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेशका अध्यक्ष शिवहरी आचार्यले गण्डकी प्रदेशमा दुग्ध क्षेत्रको ठूलो सम्भावना भए पनि आयातित दूध र प्रशोधित दुग्धजन्य पदार्थका कारण स्थानीय उद्योग प्रभावित भएको बताए । ‘प्रदेशस्तरमै संरक्षणमुखी नीति र उद्योग – किसानबीचको सम्बन्ध मजबुत बनाउनु पर्छ’, आचार्यले भने । उक्त अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले दुग्ध क्षेत्रको दिगो विकासका लागि नीतिगत सुधार, बजार सुनिश्चितता, गुणस्तर नियन्त्रण र सबै तहको सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।