ललितपुर। वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउन आग्रह गरेका छन् ।
बिहीवार नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री चौलागाईंले यस्तो बताउनुभएको हो । मन्त्री चौलागाईंले वन मन्त्रालयमै विदेशी पैदावारबाट बनाइएका सामग्रीको प्रयोग हुनु लज्जास्पद भएको बताउनु भयो । उहाँले नीतिमा सुधार गर्नुका साथै व्यवहारिक कुरामा पनि सुधार गर्नको लागि हरेक दिनलाई अन्तिम दिन मानेर काम गरिरहेको बताउनु भयो । उहाँले स्वदेशी कच्चा पदार्थको प्रयोग, नीतिगत सहजीकरण र बजार विस्तारको विषय सरकारको प्राथमिकतामा रहेको समेत बताउनु भयो ।
सम्दोदनका क्रममा मन्त्री चौलागाईंले वन पैदावार उद्योगी व्यवसायीहरुलाई ३० दिनमा परिणाम दिनेगरी अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
४६ प्रतिशत वन जंगलले ढाकेको नेपालमा वाह्य देशबाट काठ लगाएतका वन पैदावार आयात गर्नु नेपालीको वाध्यता रहेको बताउँदैं नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष दिनेश राज रेग्मीले वन मन्त्रालयले विशेष भूमिका निर्वाह नगरे आयात प्रत्येक वर्ष बढ्दै जाने बताउनुभयो ।
नेपालमा विशेष गरी वनको प्रयोग कसरी गर्ने भन्ने खालको अस्पस्ट कानुनले नेपालमा उत्पादित काठ कुहिने र आयात गर्नु पर्ने अवश्था रहेको व्यवसायीको गुनासो छ ।









