भक्तपुर। भक्तपुरमा आजदेखि ३ दिने ‘१३ औँ घरेलु उत्पादन प्रवर्द्धन मेला -२०८२’ शुरु भएको छ । भक्तपुर घरेलु तथा साना उद्योग संघ र उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा स्थानीय नःपुखुः परिसरमा आयोजित मेलामा ४७ वटा प्रदर्शनी कक्ष रहेका छन् । पुस ५ गतेसम्म सञ्चालन हुने मेलामा भक्तपुरको पहिचान बोकेको कालो भादगाउँले टोपी, हाकु पटासी, ताइचिन चिउरा, सेरामिक्सका सामग्री, ख्वापा (मुकुन्दो), तितौरा, च्याउका परिकार, विभिन्न हस्तकलाका सामग्री, नर्सरी, ढाका कपडाका उत्पादन, पश्मिना र ऊनका सामग्री, नेवारी खाजा, आदिका स्टल रहेका छन् । मेलामा सुपथ मूल्यका साथै छुटको व्यवस्था गरिएको मेला आयोजक श्यामसुन्दर श्रेष्ठले जानकारी दिए ।
उक्त मेलाको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई परम्परागत कला संस्कृति, सम्पदा र शिक्षाको केन्द्र बनाउनुका साथै स्थानीय र घरेलु उत्पादनको केन्द्रको रुपमा पनि विकास गर्ने लक्ष्य रहेको बताए । प्रजापतिले स्थानीय उत्पादनलाई बाह्य र आन्तरिक पर्यटन उद्योगसँग जोडेर आयआर्जन वृद्धिका लागि नगरपालिकाले यस्तो मेला र महोत्सवका कार्यक्रम आयोजना गर्दै आइरहेको जानकारी गराए । यस्तै, भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मेला र महोत्सवका नाममा आयातित वस्तुको व्यापार गर्ने, स्थानीय उत्पादनलाई स्थान नदिने, गीत र संगीतका मनोरञ्जनात्मक कार्यक्रममा पनि विदेशी संगीतलाई प्राथमिकता दिने प्रवृत्ति रहेको बेला घरेलु उत्पादन प्रवर्द्धन मेला पृथक पाएको बताए ।
त्यसैगरी, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठले वि.सं. २०४६ सालको राजनैतिक परिवर्तनपछि घरेलु उद्योगी व्यवसायी एकजुट भएर संघ स्थापन गरी नेपालमा रहेका घरेलु उद्योगको प्रवर्द्धनका साथै बजारीकरणको कार्य गर्दै आइरहेको बताए । श्रेष्ठले नेपालमा ४ लाख घरेलु उद्योग व्यवसायी रहेको पनि जानकारी दिए । कार्यक्रममा भक्तपुर उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका प्रमुख रामप्रसाद कुस्माले भक्तपुरका उद्योग खोल्ने भन्दा पनि बन्द गर्ने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरे । कुस्माले भक्तपुरमा वार्षिक उद्योग दर्ताको तुलनामा खारेज गर्ने अनुपात बढेको बताए । उन्ले घरेलु उद्योग समयानुसार प्रविधि मैत्री हुन नसक्नु, उत्पादनको लागत घटाउन नसक्नु, उचित बजारको अभाव जस्ता कारणले घरेलु उद्योग बन्द हुने क्रम बढेको बताए ।









